0
पोखराको बीच भाग भएर बग्ने फिर्के बुलौदी खोलाको सफाई अभियानको दोस्रो श्रृङ्खलामा सयौं नागरिक तथा सरोकारवालाहरुले प्रत्यक्ष रुपमा सहभागी भएका छन् । पोखराको अर्चलबोटदेखि सुरु भएको शनिबारको सफाई अभियान फिर्के पुल नजिकै आईपुगेको अभियानमा सक्रिय सहभागीता जनाएका टोल विकास संस्था नगर समन्वय समिति पोखरा अध्यक्ष उज्जवल खत्रीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । प्लाष्टिक जन्य फोहोर ह्याङ्गिङ् भएर रहेकाले संकलन तथा सरसफाईमा कठिनाई भैरहेको उनले बताए । ठूलोमात्रामा फोहोरको संकलन गरिएको र खोलासम्म बाटोको सुविधा नहुँदा सयौं मिटर लामो मानव साङ्लोमार्फत गाडीसम्म फोहोर पु¥याउने काम भइरहेको खत्रीले जानकारी दिए । अघिल्लो श्रृङ्खलामा भन्दा यसपटक फोहोरको मात्रा बढेकाले व्यवस्थापनमा व्यवहारिक कठिनाई भइरहेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए । पोखराको गहनाको रुपमा रहेको फिर्के र बुलौदीलाई पूर्ण रुपमा स्वच्छ बनाएरै छोड्ने अभियान्ताहरुले प्रतिवद्धता व्यक्त जनाएका छन् । अभियानकर्मीका अनुसार सफाई पश्चात मापदण्डका विषयमा पनि खोजतलास गरिने छ । पोखरेली सम्पदाको रुपमा रहेको फिर्के बुलौंदी खोलाको सफाईमा निरन्तर लागिरहने, स्वच्छ र सफा राख्नका लागि स्वयं स्थानीयहरु नै सक्रिय हुनुपर्नेमा उनीहरुले जोड छ । घरमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन गरि सभ्य नागरिकको परिचय दिनुपर्नेमा अभियान्ताहरुले बताएका छन् । तर स्थानीय निकायको पहिलो जिम्मेवारी फोहोरमैला कै व्यवस्थापन गर्नु ऐन तथा कानूनमा स्पष्ट व्यवस्था गरिएको भएपनि पूर्ण कार्यान्वयन हुन नसकेकाप्रति उच्च सरकारी अधिकारीले समेत चिन्ता व्यक्त गरेका छन् । सम्पदाको संरक्षण हरेक नागरिकको दायित्व भएको ती अधिकारीहरुले बताएका छन् । फेवातालमा मिसिने फिर्के र बुलौदी खोला प्रदुषित भएपछि तालको अस्तित्व जोगाउन खोला सरसफाई अभियान सञ्चालन गरिएको अभियान्ताले उल्लेख गरेका छन् । बृहत् सरसफाई अभियानलाई प्रत्येक शनिवार संचालन गरिने संयोजक पौडेलले बताए । पोखरा आफैमा सुन्दर शहर भनिए पनि बेला बखतमा यसरी नै अतिक्रमण र प्रदुर्षणको चपेटामा पर्ने गरेको छ । फिर्के बुलौदी खोलाबाट बगाएर लगेको प्लाष्टिकजन्य फोहोरमैलाका कारण फेवातालको ड्यामसाइड स्थित गाईघाटमा करिब १० रोपनी पानीको भूभाग टापुमा परिणत भएको जानकारहरु बताउँछन् । अघिल्लो साता फिर्के खोलाको मुहान अँधेरीकुनाबाट करिब एक किलोमिटर सरसफाइ गरिएको थियो । फिर्केखोला झण्डै ८ किलोमिटर लम्वाईको छ भने  बुलौदीखोलाको लम्वाई झण्डै तीन किलोमिटर छ ।

Post a Comment

 
Top