0
गोल्डेन न्यूज संवाददाता
जेसीआई पोखराले नियमित वार्षिक कार्यक्रम अनुसार तीन दिनसम्म विभिन्न सामाजिक तथा वातावरणीय कार्यक्रम गर्दै जेसीज वीकइण्ड २०१६ सम्पन्न गरेको छ । समुदाय लक्षित कार्यक्रम अन्तर्गत पहिलो दिन शुक्रबार ‘अचिभ योर गोल’ शिर्षकमा परामर्श तथा उत्प्रेरणामुलक कार्यक्रम गर्यो । एसएलसी दिएर बसेका विद्यार्थीलाई लक्षित उक्त कार्यक्रमको श्रोत व्यक्तिद्वय गोल्डेन गेट इन्टरनेश्नल कलेजका कार्यकारी अधिकृत रमेश कुमार सिलवाल तथा मोटिभेटर इन्द्र गुरुङ्ग थिए । उनीहरुले विद्यार्थीहरुको रुची र क्षमता अनुसार विषयगत विकल्पहरुको जानकारी सहित सम्बन्धित विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न इन्स्टिच्युटहरुमा ब्रिज कोर्ष गरिरहेका करिब तीन सय विद्यार्थीको सहभागिता थियो । यसअघि, कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि क्षेत्रिय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले युवाहरुको संस्था पोखरा जेसीजले निकै समयसान्दर्भिक कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै सन्देश दाहाल र सफली सेन्चुरीले तालिम अत्यन्त फलदायी भएको बताए । कार्यक्रम संयोजकहरु प्रकाश घिमिरे र देवराज शर्मा रहेका थिए । दोश्रो दिन शनिवार भलाममा निःशुल्क दन्त शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम गरेको संयोजक सुवास सुवेदीले जानकारी दिए । प्रमुख अतिथि पोखरा उप–महानगरपालिका का बरिष्ठ अधिकृत ओमराज पौडेलले जेसीजले युवाको व्यक्तित्व तथा नेतृत्वशिप विकासका लागि खेलेको भूमिका तथा सामुदायिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे .डा. नवराज लम्डारी मार्फत प्रमुख अतिथिको दन्त परीक्षण गरी सुरुवात गरिएको शिविरबाट झण्डै एक सय पचास जना स्थानीय लाभान्वित भए । सृजनशीलयुवा क्लब, शिव मन्दिर आमा समुह र ह्याप्पी डेण्टल केयर को सहयोगमा शिविर भएको थियो । अन्तिम दिन वातावरण दिवसको सन्दर्भमा आईतबार भरतपोखरी स्थित अन्नपूर्ण स्वास्थ्यचौकी परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको थियो । जिल्ला बन कार्यालय र कारितास नेपालको सहयोगमा कार्यक्रम भएको संयोजक यज्ञपुरुष रिजालले जानकारी दिए । लेखनाथ उपमहानगरपालिका कार्यालयका वरिष्ठ ईञ्जिनियर जगन्नाथ कोईरालाले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरे । कपुर, गुलमोहर, तेजपत्ता, लप्सी गरी डेढ सय विरुवा रोपिएको अर्का संयोजक भाइराज रानाले जनाए । सो अवसरमा सरस्वती टीका उच्च मावि व्यवस्थापन समिति अध्यक्ष टुकराज भण्डारी, अन्नपुर्ण सामुदायिक स्वास्थ्य सेवा केन्द्रका संरक्षक धनेश्वर अधिकारी लगायतले वातावरण दिवस र यसको संरक्षणमा ध्यान दिनुपर्ने कुरामा बोलेका थिए । जेसीज वीकइण्ड समापन समारोहका प्रमुख अतिथि पोखरा उपमहानगरपालिका कार्यालयका नवनियुक्त कार्यकारी अधिकृत भीमबहादुर कुँवरले युवाहरु सामाजिक संस्थामार्फत यसरी समुदायको हितमा अघि बढेकोमा खुशी प्रकट गरे । उनले पोखरामा आएपछिको आफ्नो पहिलो सार्वजनिक कार्यक्रम भएको भन्दै जेसीजसँग मिलेर जाने प्रतिबद्धता व्यक्त गरे । जिल्ला बन कार्यालयका प्रमुख प्रभात सापकोटा, पुर्व अध्यक्षहरुका तर्फबाट बसन्त उदास, पोखरा लेडी जेसीजकी अध्यक्ष प्रमिला सुवेदी, जेसीआई लेखनाथका अध्यक्ष अर्जुन ओझा लगायतले पोखरा जेसीजले गरेका कार्यहरुको प्रशंसा गरे । जेसीज वीकइण्डका मुल संयोजक समेत रहेका पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी शिव सुवेदीले सबै सहयोगी हातहरुकै कारण कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको भन्दै धन्यवाद दिए । कार्यक्रम सञ्चालन का लागि दुई लाख ४८ हजार खर्च लाग्ने अनुमान गरिएकोमा सो रकम विभिन्न संघसंस्था तथा जेसीज सदस्यहरुबाट संकलन गरिएको थियो । कार्यक्रमको अध्यक्षता समेत गरेका जेसीआइ पोखरा वर्ष २०१६ का अध्यक्ष जेसी गोविन्द प्रसाद देवकोटाले सामाजिक क्रियाकलापमा युवाहरुको संलग्नता बढाउँदै सामाजिक संस्थाको जिम्मेवारी र उत्तरदायित्व पुरा गर्ने हेतुले वार्षिक रुपमा समाज लक्षित कार्यक्रम राखिएको बताए । उनले वीकइण्ड पछि मिस पोखरा लगायतका कार्यक्रममा अब जुट्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक विकास क्षेत्रका उपाध्यक्ष महेन्द्र सापकोटा तथा सञ्चालन महासचिव सन्तोष शाहीले गरेका थिए । पोखरामा ४२ वर्ष अघि स्थापित युवाहरुको सामाजिक संस्था जेसिआई पोखराले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

Post a Comment

 
Top