0
समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित नेपालमा नयाँ शक्तिको उदय भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा स्थापित नयाँ शक्तिले आइतबार राजधानीको दशरथ रंगशालामा भव्य समारोहबीच पार्टी स्थापना घोषणा गरिसकेको छ । नेपालको वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदय भएको नवस्थापित नयाँ शक्ति नेपाल आर्थिक विकास र समृद्धिमा केन्द्रित हुने भएको छ । राजनीतिप्रति नै वितृष्णा हुन थालेका बेला डा. भट्टराईले सबै क्षेत्रको अपनत्व हुने गरी नयाँ शक्तिको निर्माण गरेका छन् । नेपालमा च्याउसरी स्थापना भएका पार्टीहरुको भीडमा फरक अनुभूति हुने गरी नयाँ शक्तिको उदय भएको छ । नयाँ शक्ति नेपालप्रति आशा, भरोसा र विश्वास जाग्नुको पछाडि त्यसमा संलग्न व्यक्तित्वको लगाव नै प्रमुख विषय हो । बौद्धिक जमात र केही गरौँ भन्ने भावना र संभावना बोकेका विज्ञहरुको उपस्थितिले नयाँ शक्तिप्रति जनताको नयाँ आशा जागृत भएको हुनुपर्छ । ‘अबको निकास, आर्थिक विकास’ भन्ने मूल मन्त्र बोकेर २५ वर्ष्भित्र समृद्ध नेपाल निर्माण गर्ने घोषणा गरेर नयाँ शक्तिले आफ्नो लक्ष्य निर्धारण गरिसकेको छ । यस पार्टीमा धेरैको आकर्षण बढ्नुको कारण अन्य दलप्रति वितृष्णा बढ्नु नै हो । मुलुकमा यस्ता व्यक्ति पनि छन्, जो स्वतन्त्र छन् । विभिन्न पेशाकर्मी छन्, जो राजनीतिबाट विमुख छन् । सर्वसाधारण जससँग वैकल्पिक आशा नरहेर राजनीतिक वितृष्णा भएको छ । देशमा शान्ति, विकास र समृद्धिको कुरा गर्ने विकल्पको खोजी भइरहेकै बेला नयाँ शक्ति उदाएको छ । यस शक्तिलाई विकल्पको पार्टी पनि भन्न सकिन्छ । किनभने यो नयाँ पार्टीको राजनीतिक विचारधारा पनि प्रष्ट भइसकेको छैन । अर्थात् यो वामपन्थी र लोकतन्त्रवादी दुवै अटाउने मिश्रित पार्टी बनेको छ । अहिले कुनै वाद र विचारभन्दा पनि आर्थिक विकास र समृद्धि ठूलो कुरा हो । नयाँ शक्तिले पाँच ‘स’ को प्रतिबद्धतासहित आफ्नो खाका प्रस्तुत गरिसकेको छ । समतामूलक समृद्धि हासिल गरी उर्जाशील दिमाग र कर्मशील हात भएका युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता नयाँ शक्तिले गरेको छ । यस्तै समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने दिशामा अघि बढेको छ । सुशासन र सदाचार मुलुकको समृद्धिका लागि नभइ नहुने तत्व हुन् । विधिको शासन पालनामात्र गर्न सकिए भ्रष्टाचार आफैँ न्यूनीकरण हुन सक्छ । यस तथ्यलाई नयाँ शक्तिले समेटेको छ । दुई शक्तिशाली मुलुकको बीचमा रहेको नेपाललाई गतिशील पुलका रुपमा स्थापित गर्दै ‘स्वाधीनता र सार्वभौमिकता’ कायम राख्ने प्रतिबद्धता आफैँमा वैज्ञानिक छ । बाम–लोकतान्त्रिक शक्तिका रुपमा समुन्नत समाजवादको दिशामा अघि बढ्ने मान्यता नयाँ शक्तिले लिएको छ । खासगरी युवा पुस्तालाई यसले आकर्षण गरिरहेको छ । नयाँ शक्तिले आगामी चुनावमा पहिलो शक्ति बनेर देशको नेतृत्व गर्ने चुनौती दिएको छ । आफ्नो लक्ष्यअनुरुप देशको नेतृत्व गर्ने सामथ्र्य उसले देखाउनुपर्छ । ऊ नयाँ दल होइन, ‘नयाँ शक्ति’ कै रुपमा स्थापित हुनु जरुरी छ ।







Post a Comment

 
Top