0
गोल्डेन न्यूज संवाददाता
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले शुक्रवारबाट काम सुरु गरेको छ । निर्माण कार्य सुरुवातको लागि कम्पनीका इन्जिनियरहरुले पूर्व तयारीको काम थालेका हुन् ।चाईना सीएएमसी इञ्जिनियरिङका १४ जना प्राविधिक टोली शुक्रवार बाट विमानस्थल विमानस्थल निर्माण क्षेत्रमा खटिएका छन् । उनीहरुले निर्माण कार्य सुरु भएपछि आवश्यक सामाग्री भण्डारण गर्ने स्थान, निर्माण कार्यमा खटिने मजदुर, कर्मचारी बस्ने स्थान लगायतका संरचना तयार गर्नेछन् । त्यस्तै निर्माण स्थलको सर्भे पनि गर्नेछन्। निर्माण कम्पनी सीएएमसीका प्रोजेक्ट म्यानेजर जेरीले निर्माण कार्य सुरु गर्नको लागि आवश्यक पूर्वाधार तयार गरिने जानकारी दिए । विमानस्थल निर्माण कार्यको गत बैंशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा गत बर्षको चैत्र ८ गते विमानस्थल सम्बन्धी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएपनि सहायक ऋण सम्झौता भने हुन सकेको छैन । निर्माण कार्य सुरु हुन केहि समय बाँकी नै रहेको भएपनि त्यसको लागि आवश्यक पूर्वाधार तयार गर्नको लागि निर्माण कम्पनीका इन्जिनियरहरुको टोली आएको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिए । पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ । ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् । पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Post a Comment

 
Top