0
संघर्ष र आन्दोलनका नाममा वर्षाैदेखि राजनीतिक अस्थिरताको मार खेप्दै आइरहेको नेपाली अर्थतन्त्र माथि उठ्न सकिरहेको छैन । मुलुकमा विभिन्न बहानामा हुने बन्द, हड्तालका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । पछिल्लो समय विभिन्न समूहले अनेक खालका माग राखेर बन्द, हड्तालजस्ता विरोधका कार्यक्रम गर्दै आएका छन् । देशका विभिन्न ठाउँमा भएका बन्द, हड्तालबाट जनता वाक्कदिक्क भएका छन् । पोखरामा पनि नेकपा माओवादीको विप्लव समूहले नेपाल बन्दको आह्वान् गरेर जनजीवन अस्तव्यस्त बनाएको छ । केही दिनअघि विप्लव समूहकै आह्वानमा नेपालका केही जिल्ला बन्द गरेको थियो । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका मुलुकले खर्बाैंको नोक्सानी व्यहोर्नुपरेको तीतो यथार्थ जगजाहेर हुँदाहुँदै पनि विभिन्न बहानामा बन्दका कार्यक्रम हुँदै आएका छन् । बन्द, हड्तालका कार्यक्रम जुन समूह वा दलले आयोजना गरे पनि त्यसको प्रत्यक्ष असर भने सर्वसाधारणलाई नै पर्ने गर्दछ । विगतमा बन्द, हड्तालजस्ता कार्यक्रमबाट आजित भएका जनताले फेरि बन्दको सास्ती भोग्न विवश भएका छन् । बन्द, हड्तालले गर्दा यातायातका साधन ठप्प हुँदा यात्रुहरुको बिजोग हुने गरेको छ । बिरामी, मजदुर, सर्वसाधारण तथा गन्तव्यमा पुग्नुपर्ने यात्रुहरुलाई बन्दले निकै दुःख दिने गरेको छ । एक दिनको बन्द, हड्तालबाट राज्यलाई दुई अर्ब रुपैयाँबराबर नोक्सान हुने नेपाल उद्योग वाणिज्य महासंघको अध्ययनले देखाएको छ । मुलुकको कूल ग्राहस्थ उत्पादनसँग हिसाब गर्दा एक दिनको बन्दले यति धेरै नोक्सानी हुने देखिएको हो । उद्योग, कलकारखाना, दैनिक उपभोग्य सामग्री, दूध, फलफूल, तरकारी, पोल्ट्रीलगायतमा ठूलो नोक्सानी हुन्छ । बन्दबाट स्वयं बन्दकर्ताहरुसमेत प्रभावित भएका हुन्छन् । शैक्षिक संस्था बन्द हुँदा धेरै विद्यार्थीको पठनपाठनमा प्रभाव पर्दछ । वित्त, व्यापार गर्नेहरुलाई एक दिनको बन्दले पनि ठूलो असर पु¥याउँछ । यस्ता यावत् समस्या उत्पन्न गर्ने बन्द, हड्ताल कसैको पनि हितमा नभएको तथ्य बन्दकर्ताहरुलाई पनि राम्रैसँग ज्ञान छ । सर्वसाधारणमा विगतका द्वन्द्व, विभिन्न आन्दोलन र बन्द, हड्तालले आक्रान्त भई बिस्तारै आशाको सञ्चार हुन लागिरहेको अवस्थामा फेरि यस्ता कार्यक्रमहरु आह्वान् हुनु दुःखद् हो । बन्द कुन समूहले के प्रयोजनका लागि ग¥यो भन्ने कुरा प्रमुख होइन । तर बन्दले चौतर्फी क्षेत्रमा पारेको प्रभावचाहिँ मुख्य कुरा हो । बन्द, हड्तालको संस्कृतिले मुलुकको आर्थिक विकासलाई पछाडि धकेल्ने काममात्र गर्दैन, नेपाललाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोणमा समेत प्रत्यक्ष असर पु¥याउने गर्दछ । महाभूकम्पले तहसनहस बनाएको नेपालको पर्यटन क्षेत्रमा अलिकति आशाको मुना पलाउन लागेका बेला फेरि नेपाल बन्दको त्रासदीले ‘असुरक्षित’ बनाएको छ । मुलुकले भूकम्प, बाढीपहिरोजस्ता दैवी विपत्तिबाट अपूरणीय क्षति बेहोर्नु परिरहेको अवस्थामा नेपाल भ्रमणबारे अनेकन त्रासको वातावरण सिर्जना गर्ने काम कुनै पनि जिम्मेवार दल÷समूहले गर्नुहुँदैन । बन्द, हड्तालको निरन्तरताले विदेशी पर्यटकलाई निर्धक्कसाथ नेपालको भ्रमण गर्नसक्ने अवस्था हुँदैन । यसै पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल सुरक्षित नभएको प्रचार हुँदै आएको छ । विरोध र संघर्षका प्रशस्त विकल्प र विधिहरु छन् । शान्तिपूर्ण रुपमा जनतालाई सास्ती नदिइकनै गरिएका आन्दोलनहरु सफल भएका दृष्टान्त पनि थुप्रै छन् । बन्द, हड्ताल राज्यको ध्यानाकर्षण गराउने एउटा माध्यम हो । त्यसका लागि अन्य विकल्प पनि रोज्न सकिन्छ । बन्द संस्कृति फेरि पनि मौलाउँदै जान थाल्यो भने त्यसले भयानक क्षति पु¥याउँछ भन्ने कुरा मनन गर्नुपर्छ । विगतका बन्द, हड्तालबाट पाठ सिकेर आन्दोलनकर्ताहरुले बन्दको विकल्प रोज्नैपर्छ । जनतालाई वितृष्णा हुने बन्द आयोजना गरेर कुनै समूह÷दल लक्ष्यमा पुग्न सक्दैन । सर्वसाधारणलाई सास्ती दिएर गरिएको बन्दबाट जनआक्रोश र आलोचनामात्र खेप्नुपर्छ । बन्द हड्ताल विरुद्ध पोखरामा उद्योगी व्यवसायी र युवाहरु सडकमा उत्रिएका छन् । उनीहरुको यो कार्यलाई सबैले प्रशंसा गरेका छन् । यही तथ्य मनन गरी बन्द, हड्ताललाई सधैँका लागि बन्द गर्नु जरुरी छ ।


Post a Comment

 
Top