0
गोल्डेन न्यूज संवाददाता
धर्तीको संरक्षण गरौँ, सुन्दर पोखरालाई सफा र स्वच्छ राखौँ भन्ने सन्देश प्रवाह गर्दै रेडियो जननी र खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले ‘हाम्रो रहर, शान्त शुन्दर सहर’ नामक जनचेतनात्मक भावनाटिका कला प्रदर्शनी गरेको छ । सरसफाई सप्ताहको अवसरमा बिहिबार सृजनाचोकमा आयोजित भावनाटिका कला प्रदर्शनीमा कलाकार तथा सञ्चारकर्मी ज्योति हमालले कला प्रदर्शन गरेकी हुन् । प्रदर्शनीको सुरुवातमा सुन्दर रुपमा सजिएर पृथ्वीको प्रतिमूर्तिको रुपमा बसेकी कलाकार हमाललाई पृथ्वी कसरी फोहोर हुँदैछ भन्ने देखाउन कार्यक्रमका अतिथि लगायत अन्य सहभागीहरुले कागज, प्लाष्टिकका झोला, बोतल लगायत फोहोर लगाइदिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै  पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुँवरले हामी मानवले नै सुन्दर पृथ्वीलाई फोहोर, कुरुप र आक्रान्त बनाइरहेको बताए । उनले भने–‘पृथ्वी हाम्रो हो र यसको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो भन्ने नाराका साथ पोखरालाई सफा र स्वच्छ बनाउन उपमहानगर पालिकाले सरसफाई अभियान सञ्चालन आवश्यक छ । पोखरालाई सफा, स्वच्छ र हराभरा बनाउन विश्व वातावरण दिवसको अवसरमा सुरुवात गरिएको सरसफाई अभियानलाई निरन्तरता दिइने भन्दै उनले अभियानमा सहयोग पु¥याउन सबै पोखरेलीलाई आग्रह गरे । खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजन इन्जिनियर नन्दलाल बन्जाडेले कलाकार ज्योति हमालको कला प्रदर्शनीले पोखरा र फेवाताल कसरी प्रदुषित बन्दै गएको छ भन्ने ज्वलन्त उहाहरण प्रस्तुत गरेको बताए । उनले आम नागरिकमा जनचेतना जगाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने भएकाले सञ्चारमाध्यमलाई सरसफाई सम्बन्धी सन्देश प्रसारण गर्न समेत आग्रह गरे। अग्रज पत्रकार बद्रीबिनोद प्रतिकले घरभित्र कुचो लगाउने तर आँगन र सडकमा फाल्ने प्रवृत्तिलाई सुधार गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेलले घर मात्रै होइन टोल, नदीनाला र ताललाई सफा राख्नुपर्ने र सार्वजनिक जग्गाको सरंक्षण गर्नुपर्नेमा जोड दिइन । फिर्के बुलौँदी खोली सरसफाई अभियानका संयोजक राम बहादुर पोडेलले मानवीय रुपबाट हामीले पृथ्वीलाई कसरी प्रदुषित बनाइरहेको सन्देश भावनाटिका कला प्रदर्शनीले दिएको बताए । उनले हामीले उत्पादन गरेका फोहोर व्यवस्थापन गर्न नसके यसको असर र हामी आफैँलाई नै पर्ने बताए । रेडियो जननीकी अध्यक्ष हिरा भट्टराईले रेडियोले समाज सँग प्रत्यक्ष जोडिएका अन्य विषयमा पनि विभिन्न कार्यक्रम गर्दै आएको बताइन । उनले सरसफाई सम्बन्धी सचेतनाका लागि यो कार्यक्रम गरिएको जानकारी दिइन। रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले परिवर्तनको पहल आफैँबाट सुरुवात गर्नुपर्ने बताउदै घर, समाज, टोल र वरपरका वातावरणलाई सफा राख्न आग्रह गरिन् । मावन मिलन नारी जागरण केन्द्रका अध्यक्ष पार्वती पौडेल, वडा नं ८ टोल विकास संस्था समन्वय समितिका अध्यक्ष शारदा गिरिले आफ्नो वडालाई सफा र स्वच्छ बनाउन लाग्ने प्रतिबद्धता जनाइन ।  प्रदर्शनीमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियो जननीका प्रस्तोता रुपा अधिकारीले गरेकी थिइन ।



Post a Comment

 
Top