0
गोल्डेन न्यूज संवाददाता
उपन्यासकार जीवन बराल ‘संघर्ष’ द्वारा लिखित सामाजिक उपन्यास ‘टुहुरोको छोरो टुहुरो’ शनिबार लोकार्पण एवं परिचर्चा गरियो । उनको यो कृति दोस्रो संस्कररण हो । उनले गत वर्षको भदौमा पहिलो संस्करण लिएर बजारमा आएका थिए । साहित्यकार डा. रुपक श्रेष्ठ, प्राध्यापक एवं कवि डा. जगन्नाथ रेग्मी र साहित्यकार एवं गीतकार दुर्गा शाह ‘बाबा’ले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए । संघर्षमा कलम साहित्य समाज पोखराद्वारा आयोजित कार्यक्रममा कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत विद्यार्थी एवं साहित्यकार दीपक पराजुलीले संघर्षको उपन्यासले गाउँले सामाजिक परिवेशलाई राम्रोसंग उजागर गरेको बताए । उनले उपन्यास समग्र रुपमा राम्रो भएको टिप्पणी गरे । उनले भने–‘कृतिमा समावेश भएका विषयवस्तु र उठान गरिएका कुराहरुले लेखक संघर्ष एक सशक्त साहित्यकार भएको पुष्टि गर्दछ । कार्यक्रममा बोल्दै साहित्यका एवं कवि डा. रुपक श्रेष्ठले नेपाली साहित्य क्षेत्रमा युवा साहित्यकार संघर्ष सक्षम र उर्जाशिल व्यक्तित्व भएको बताए । उनले भने–‘संघर्षमा कति क्षमता छ भन्ने कुरा उनको उपन्यासले बताउछ ।’ लेखक संघर्षलाई अझै सशक्त भएर साहित्यमा लाग्न उनले सुझाव दिए । उक्त अवसरमा साहित्यकार श्रेष्ठले आफ्ना रचना कविता र मुक्तक प्रस्तुत गरेका थिए । प्राध्यापक एवं कवि डा. जगन्नाथ रेग्मीले संघर्षको उपन्यासले जो कोहीको मनलाई सजिलै छून सक्ने र रुवाउन पनि सक्ने दावी गरे । उनले लेखक संघर्षले आफ्नो जीवनमा गरेका संघर्ष कति रहेछन् भन्ने कुरा पनि कृतिले बोल्ने स्पष्ट पारे । १ वर्षको अन्तरालमा दोस्रो संस्करण प्रकाशित हुनु सामान्य कुरा नभएको भन्दै उनले छिट्टै तेस्रो संस्करण वा अर्को कृति लिएर आउन लेखक संघर्षलाई सुझाव दिए । साहित्यकार एवं गायककार दुर्गा शाह बाबाले २ पटकसम्म एउटै कृतिको विमोचन आफूले गर्न पाउँदा खुशी लागेको भन्दै लेखक संघर्ष साहित्य क्षेत्रको चम्किलो तारा भएको बताए । उनले भने–‘उपन्यास टुहुरोको छोरो टुहुरोले  विगतका नेपाली समाजको परिवेशलाई राम्ररी उजागर गरेको छ । उपन्यास समग्र रुपमा राम्रो हुन्छ र सफल पनि हुन्छ । लेखक संघर्षको परिचर्चा गर्दै गोर्खा मिलन समाजका अध्यक्ष सूर्य क्षेत्रीले आफ्नै जिल्लावासीले उपन्यास लेखन र प्रकाशन गर्दा अत्यन्तै खुशी लागेको बताए । उनले संघर्षको उपन्यास सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उक्त अवसरमा बोल्दै उपन्यासका लेखक जीवन बराल संघर्षले निकै मेहनतका साथ उपन्यास तयार गरेको बताए । उनले मानिसको जीवन संघर्षपूर्ण हुने र आफ्नो पनि जीवन संघर्षपूर्ण रुपमै बितेको बताए । संघर्षमाम कलम साहित्य समाज पोखराका अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सारथी, साहित्यकार भीम रानाभाट, सुमन श्रापित, नारायण पण्डित, ओमकार लामिछाने, प्रेमबहादुर कार्की, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए भने गजलकार गुरु बुलबुलले गजल र साहित्यकार अम्विका भण्डारीले कविता प्रस्तुत गरेकी थिइन । गोरखा जिल्लाको गाइखुर गाविस वडा नं. ३ मा जन्मेका जीवन बराल पोखरामा व्यवसायी हुन् । अभिनय तथा योग अभ्यासमा रूचि राख्ने उनको उपन्यास टुहुरोको छोरो टुहुरो एक सामाजिक उपन्यास हो । उपन्यास २० खण्डमा विभाजन गरिएको छ । अस्मिता बराल र रीता बराल उक्त कृतिको प्रकाशक रहेका छन् । कृतिको साजसज्जा, आवरण, कागजको गुणस्तर सबै हिसाबले समयानुकुल देखिन्छ ।








Post a Comment

 
Top