नेपाल लगायत विश्वका सबैजसो देशमा हालैमात्र बालश्रमविरूद्ध अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरी मनाइयो । तर, यसको प्रभावकारी कार्यान्वयन भने पटक्कै हुन सकेको छैन । स्थिति यतिसम्म जटिल बनिसकेको छ कि आफ्नो घरमा बालश्रमिक राख्नेहरु नै यस्ता समारोहहरुमा अतिथि बनाएर निम्त्याइने गरिन्छ । उनीहरु मञ्चमा मीठा–मीठा भाषण गर्छन्, तर व्यवहारमा भने बालश्रम लगाउनेहरुमा समाजका प्रतिष्ठित र अगुवा भनाउँदाहरु नै बढी मात्रामा भेटिएका ज्वलन्त उदाहरणहरु सहरबजार र गाउँघरमा समेत भेटिने गरिएको छ । यो समस्या प्रत्यक्ष रुपमा देशको गरिबीसँग जोडिएका कारण गरिबी उन्मूलन विनाबालश्रमिकको उन्मूलन हुन सक्तैन । आफ्नो घरमा पेटभरि खान नपाउने, घरमा मायालु व्यवहार नपाउने र विद्यालय जान अभिभावकहरुले उत्प्रेरित नगर्ने समूहका बालबालिकाहरु बालश्रमिक बन्न पुग्छन् । अर्कोतिर स्वयम् अभिभावकले नै लगेर धनीको घरमा आफ्ना सन्तानलाई बालश्रमिकका रुपमा राख्ने पनि गरिएको छ । समाजमा जो गरिब हुन्छ, उसैको धेरै सन्तान हुने गरेका प्रशस्त उदाहरणहरु पाइन्छन् । गरिबी, अशिक्षा र जनचेतनाको कमी नै यसको मुख्य जडका रुपमा रहेको छ । सबैलाई निःशुल्क विद्यालय शिक्षा र अन्य केही थप आकर्षणहरु राज्यले व्यवस्था गरेको भएता पनि भोको पेटका अगाडि अरु कुनै कुराले काम गर्न सक्तैन भन्ने तथ्यलाई सर्वप्रथम सरोकारवाला निकायहरुले बुझ्नु अति जरूरी देखिन्छ । यो कुप्रथा होटलहरुमा देशैभरि झांगिएर रहेको छ भने मध्यपश्चिम नेपाल र सुदूरपश्चिमका अधिकांश थारुहरु आफ्ना सन्तानलाई धनीका घरमा काम लगाएर महिना–महिनामा तलब बुझ्न जाने गर्दछन् । कमलरी नामले पनि चिनिने यो असामाजिक कुप्रथाको ठूलाबडाबाटै संरक्षण भैरहेको देख्न सकिन्छ । तसर्थ, सबै विपन्न परिवारलाई राज्यले एक माना खान पुग्ने व्यवस्था नगरेसम्म गरिबीको यो चक्रव्यूहले बालश्रमलाई उन्मुक्ति दिन सक्तैन । सर्वप्रथम प्रत्येक मानिसले निर्भिकतापूर्वक कम्तिमा पनि दुई छाक पेटभरि खाएर आफ्नो रूचि, सीप र क्षमताअनुसारको काम गर्ने अवसर राज्यबाट पाउनु पर्दछ । अन्यथा, बिहानदेखि साँझसम्म काम गर्ने बालश्रमिकहरु सर्वप्रथम आफ्नो भोको पेट भर्न चाहन्छन्, अनिमात्र बालश्रम उन्मुक्तिको वातावरण सिर्जना हुन सक्तछ । दूषित राजनीतिले छियाछिया पारेको हाम्रोजस्तो सामन्ती समाजमा बालश्रमको उन्मूलन केवल एक दिनको नाराले मात्र समाप्त पार्छ भनिठान्नु हाम्रो भूलमात्र हुनेछ । कुनै पनि असल कामको सुरूवात गर्दा भन्न जति सजिलो हुन्छ, व्यवहारमा त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न त्यत्तिकै गाह्रो हुन्छ । हाम्रो देशमा दिवस र नाराहरु धेरै छन्, तर त्यसले सार्थकता पाएको उदाहरण हामी निकै कममात्र भेट्न सक्तछौँ । सामाजिक अभिशापका रुपमा लामो समयदेखि चल्दै आएको बालश्रम उन्मूलन गर्न सर्वप्रथम प्रत्येक राजनीतिक दलहरु प्रतिबद्ध हुनु जरूरी देखिएको छ । अन्यथा, बालश्रमिकहरुलाई उन्मुक्ति दिन गरिने विभिन्न प्रयासहरु गरिबी निवारण नभएसम्म बालुवामा पानी हालेसरह सावित हुनेछ भन्नुमा अत्युक्ति नहोला ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment