0
दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्रतर्फ सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ गण्डकी आवासीय उच्च माविले ह्याण्डवल प्रतियोगिताको उपाधि जितेका छन । सशस्त्र प्रहरी बल कालिका गणको खेल मैदानमा विहिबार भएको छात्रतर्फको फाईनल खेलमा सैनिकले सोसल पब्लिक स्कुललाई ३ को बिरुद्ध फराकिलो १४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्दा छात्रा तर्फ भने गण्डकीले ३ को बिरुद्ध ७ गोल गरी लिटिल स्टेप उच्च माविलाई पराजित गरी उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । छात्रातर्फ ज्ञानज्योति निकुन्जले माउण्ट अन्नपूर्ण उच्च माविलाई १२–८ को गोल अन्तरले पराजित गरी तेश्रो भयो भने छात्रतर्फ लिटिल स्टेपले माउण्ट अन्नपुर्ण उच्च माविलाई १७–७ को गोल अन्तरले पराजित गरी तेश्रो भएको हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रातर्फ गण्डकीकी आकृती गुरुङ घोषित हुदा छात्रतर्फ उत्कृष्ट खेलाडी सैनिक आवासीयका विवेक अधिकारी घोषित भए । प्रतियोगितामा छात्रा तर्फ हाईस्कोरको उपाधि गण्डकीकी आकृती गुरुङको हात पार्दा छात्रतर्फ भने सैनिकका सिजन कार्कीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । प्रतियोगितामा छात्रतर्फ १७ र छात्रा तर्फ १६ टिमको सहभागिता रहेको प्रतियोगितामा छात्रातर्फ जनप्रिय उच्च मावि र छात्रतर्फ चिल्ड्रेन उकेडेमी अनुसाशित टिम घोषित भएका छन् । विजयी खेलाडीहरुको टिमलाई प्रतियोगिताका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र कुमार सिंह, नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङ, भारत पटियालाका एनएस एनआइस प्रमुख रेफ्री प्रशिक्षक हरिन्दर पाल सिंह लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा विजेता टिमले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए । यसै बिच, नेपाल ह्याण्डबल संघद्वारा आयोजना गरिएको एक हप्ते राष्ट्रिय रेफ्री ह्याण्डबल प्रशिक्षण समेत विहिबार समापन गरिएको छ ।


Post a Comment

 
Top