0
हामीले दार्जिलिङमा झण्डै सन् १९५३ तिर होला आर्ट एकेडेमी भन्ने सांगीतिक संस्था खोलेका थियौं। यसमा केही साथीहरु संलग्न थिए। त्यतिबेलाको दार्जिलिङ संगीतमय भएपनि त्यस्ता गतिविधिलाई अघि बढाउने संस्थाहरु थिएनन्। न स्कुलमा सिकाइन्थ्यो न संगीत सिकाउने केन्द्रहरु नै थिए। त्यसैको अभाव पूर्ति गर्न हामी सबै मिलेर खोलेको सांगीतिक संस्था नै आर्ट एकेडेमी थियो। त्यसैमा गोपाल योन्जन पनि आए। त्यो नै उनीसँगको मेरो पहिलो भेट थियो। त्योबेला मबाहेक अरुणा (लामा), शरण (प्रधान), रणजीत (गजमेर), गोपाल र कर्म योन्जन, जितेन्द्र बर्देवा, शेखर दीक्षितलगायत थियौं। गोपाल त्यतिबेला बाँसुरी बजाउँथें। त्यो ताका हामी सांगीतिक कार्यक्रमहरु गथ्र्यौं।  यी सबै कलाकारहरुको उत्पादन त्यो एकेडेमीले नै गरेको हो । त्यसपछि पश्चिम बंगाल सरकारले ‘लोक मनोरन्जन शाखा’ भनेर एउटा साँगीतिक कार्यालय नै खोल्यो। त्यसमा मलाई संगीत प्रमुख राखिएको थियो। गोपाल बाँसुरी बजाउँथे। रञ्जित तबला। शरण मेन्डोलिन।
हामीले विभिन्न प्रतियोगिताहरुमा भाग लियौं। त्यो प्रतियोगितामा नेपाली भाषामै गाउनु पथ्र्यो। बंगालीहरुले पनि भाग लिन्थे। बजाउने त अघि नै उल्लेख गरिहालेँ अरुणा, गगन गुरुङ, जितेन्द्र बर्देवा गायनमा थिए। यो यति उत्कृष्ट टोली थियो, सँधै प्रथम हुने।
 सुरुमा त ‘नौ लाख तारा उदाए’ नै रेकर्ड भएको हो। त्यो बेला रवि दासले गाएको अर्को एउटा गीत पनि उत्तिकै चर्चित थियो,‘फूल फुल्यो पहेँली’ भन्ने।  एकदिन गोपाल र मेरा मितज्यू इन्द्र थपलिया पेदुंगको मेलाबाट जाँड खाएर आइरहेका रहेछन्। कुन चाहिँले बाटोमा त्यो ‘फूल फुल्यो पहेँली’ गाइरहेको रहेछ। गोपालले झम्टेर झण्डै मारेनछ। ‘गीत गाउने हो भने अम्बरको नौलाख तारा गा, नत्र चुपो लाग्’ पो भनेछ। मेरा मितज्यूले पछि आएर सुनाइरहेका थिए। यस्तो महशुर थिए त्यो बेलाका गोपाल योन्जन। त्यो ताकै हामी ‘लोक मनोरन्जन शाखा’मा आएका थियौं।
त्यसको केहीपछि गोपाल र कर्म दाजुभाइ हिमालयन कला मन्दिरतर्फ लागे। जितेन्द्र बर्देवा, शरण, अरुणा र रन्जितहरु मिलेर फेरि उता अर्को संगम नामको साँगीतिक टोलीमा आवद्ध भए।
गोपाल त्यो ताकै बिए पढ्दै थियो। त्यसपछि एमए गर्न काठमाडौं आएको हो जस्तो लाग्छ। त्यसपछि हाम्रो उति सम्पर्क भएन। ‘लोक मनोरञ्जन शाखा’ छाडेपछि नै गोपाल र नारायण गोपालले मित पनि लगाए। त्योबेला हामी नेपाली भाषाको निम्ति, नेपालीत्वको निम्ति, त्यहाँ बस्ने हामीहरुको अस्तित्वका निम्ति काम गरिरहेका थियौं। त्यसैले बंगालीहरुले षडयन्त्र पनि उत्तिकै गरिरहेका थिए। उनीहरु यो सब मनपराउँदैन थिए। बोलीमा चाहिँ ‘हिल कल्चरलाई बढाउन चाहन्छौं’ भन्थे।
जबकि यो सबै ट्र्यापजस्तो बनाएका रहेछन्। ‘नौलाख तारा’, ‘सुगौली सन्धि’, ‘प्रिति लाउन आएँ’ जस्ता गीतहरु जन्मेको, चर्चित बन्न लागेको र जनमानसमा प्रभाव पार्न लागेको अवस्थामा यस्ता गतिविधिहरु नियन्त्रण गर्ने उनीहरुको योजना रहेछ।
‘लोक मनोरञ्जन शाखा’ मा हामीलाई राखेपछि बाहिर कार्यक्रम गर्न नपाउने अवस्था सिर्जना गरियो। रेकर्ड आदि गर्दा पनि पहिला अनुमति लिनुपर्ने पो भयो। यस्तो अवस्थामा झण्डै तीन वर्षजस्तो काम गरेर मैले पनि त्यो ठाउँ छोडे। त्यो तीन वर्ष नै अनुत्पादक जस्तै भयो। कुनै महत्वपूर्ण काम भएको मलाई सम्झना छैन।
यता गोपाल र नारायणगोपालले मित लगाएपछि बेग्लै हिसाबले एउटा अर्को राम्रो भयो। उनीहरु एक्लै पनि गजब थिए। अब झन् आ–आफ्ना प्रतिभा बोकेर दुईजना सँगसँगै भए। कम्पोजिसनमा नारायण गोपाललाई पनि ज्ञान थियो। तर, उभन्दा धेरै राम्रो गोपाल थियो। त्यसैगरी गोपाल पनि गाउँथ्यो। तर, नारायणको स्वरका अघिल्तिर गोपालको तुलनै हुँदैन थियो। भयंकर राम्रो थियो नारायणगोपालको स्वर। अझ म त के भन्छु भने गोपालका कम्पोजिसनहरुमा नारायणको स्वर राम्रोसँग ‘जस्टिफाइ’ हुनसक्यो। यि दुवै एकअर्काका परिपूरक बने। यि दुईको चर्चा गर्दा अझ एकजना छुटाउन मिल्दैन, नागेन्द्र थापा। यिनीहरु त्रिमूर्ति जस्ता थिए। नेपाली संगीतले त्यो बेला गजब गजब गीतहरु पायो।
उता दार्जिलिङमा ‘लोक मनोरन्जन शाखा’ छाडेपछि मलाई गाह्रो पर्न थाल्यो। विहे गरिसकेको थिएँ। घर चलाउनु पथ्र्यो। त्यसैले म कालिम्पोङतर्फ लागेँ। मेरो बुवाआमा उतै हुनुहुन्थ्यो। जग्गाजमिन पनि त्यता थियो। त्यहीँ गएर बसेँ। त्यो समयमै मैले कालिम्पोङस्थित ‘ग्राहम्स होम्स स्कुल’मा पढाउन पनि सुरु गरेँ। यसरी हामी दार्जि्लिङबाट बाहिरियौं। गोपाल काठमाडौं आए। म कालिम्पोङ पुगेँ। ‘लोक मनोरन्जन शाखा’ छाडेपछि गोपाल त्यति मसँग नजिक थिएन। बरु नारायणगोपाल आइरहन्थ्यो भेट्नको निम्ति। काठमाडौं आउने काम मभन्दा अगाडि गोपालले गरेको हो। उ पढ्न आएको थियो। म त राजा महेन्द्रको जन्मोत्सवको उपलक्ष्यमा यता आएको थिएँ। त्यतिबेला जागिर दिए। जागिर खाएर यतै बसेँ।
 यता आएपछि भने दार्जि्लिङका साथीहरुसँग उति भेटघाट भएन। उता सानो ठाउँ थियो, भेट भइरहन्थ्यो। यता ठाउँ पनि ठूलो साथीभाइको घेरा पनि अर्कै बन्दै गयो। म नेपाल आएपछि केही गर्छु भन्ने भावना पलायो। नेपाली संगीतमा एकाग्र भएर लागें। संगीतकारका निम्ति अध्ययनशीलता असाध्यै जरुरी हुन्छ। सुरुमा मैले अर्केष्ट्राको कुरा गर्दा कसैले पनि बुझ्दैन थिए। हिजोआज बुझ्न थाले। यहाँसम्म ल्याउन पनि धेरै गर्नुपरेको छ। मैले जेजस्तो अवस्था र साधन उपलब्ध छ त्यसैबाट क्वायर र क्यान्टेटाहरु पनि गरेर देखाएँ।
 विश्व संगीतको मूलप्रवाहमा हामी पनि जानु पर्छ भन्ने कुरामा मलाई गोपाल योन्जनभन्दा नारायणगोपालमा बढी चेत थियो भन्ने लाग्छ। नारायणगोपालको निधनपछि पनि उनको नामको संस्थाले भायोलिनमा काम गरिरहेकै छ। गोपालको कुरा गर्दा उनका कतिपय चर्चित सिर्जनाहरुमा भारतीय संगीतको प्रभाव रहेको पाउँछु। हाम्रो निम्ति यो निकै ठूलो चुनौती छ। अस्ति चीन गएको बेला मलाई ‘तिम्रो संगीत त मनपर्यो। तर, यो भारतीय नै होइन र?’ भनेर सोधे । यस्तो कुराबाट बच्नु असाध्यै जरुरी छ। ‘मेरो पाउमा आज कोही पाउजु बाँध’ लाई नेपाली गीत भनेर हामीले क्लेम गर्न सक्दैनौं। गर्न थाल्यौं भने फेरि त्यहीँबाट हाम्रो पहिचानको संकट सुरु हुन्छ। यसो भनिरहँदा फेरि गोपाल योन्जनको प्रतिभालाई मैले अस्वीकार गरेको चाहिँ पक्कै होइन।
चीन गएको बेलामा मैले ‘तिमी भूलमा पर्याै ’ सुनाएँ। त्यसले त कमसेकम हामीलाई एउटा चिनियाँको हेराइमा भारतीय भन्ने पहिचानमा मिसाउँदैन नि। हाम्रो आफ्नै पाराबाट उठेर अन्तर्रा्ष्ट्रिय संगीतको धारामा मिसिनु बरु उचित छ। ‘कहिले लहर कहिले तरंग’ अल्बम निकाल्ने बेलामा मैले बहुतै कोशिश गरेको छु। थुप्रै गीतबाट छानेर त्यति गीत निकालेको हुँ। ‘कहिले लहर कहिले तरंग’मा नारायणगोपाललाई गाउन दिएको भए अझै राम्रो हुन्थ्यो भनेर धेरैले चर्चा गरे। नारायणगोपाल एकदमै राम्रो गायक हो भनेर त म आफै पनि भन्छु। तर, पश्चिममा कुनै गीत एकदमै राम्रो भयो भने त्यसैलाई चार पाँच जनासम्मले पनि गाउँछन्। सबैको आफ्नै विशेषता त्यसमा झल्किन्छ।
नारायणगोपालसँग मेरो एकसमय खटपट चल्यो। उ साँस्कृतिक संस्थानको जिएम भएको बेला त त्यो नराम्रै भइसकेको थियो। मालती मंगलेको रेकर्डिङ पनि त्यत्तिकै मुश्किलले सम्पन्न भएको हो।  उता एकपटक अमेरिकी गायिका जेन अस्टिन आएको बेलामा गोपाल योञ्जनसँग पनि मेरो धेरै नराम्रो भयो। त्यो पछिसम्मै चल्यो।  यो सबै हुँदाहुँदै पनि उनीहरुको प्रतिभालाई मैले कहिल्यै अस्विकार गरिनँ। हामी सबै आ–आफ्नै किसिमको अडानमा बाचेरै बस्यौं। तर, उनीहरु दुवैजनाको मृत्यु हुँदा म मेरै परिवारको सदस्य गुमाएजस्तो पीडाबाट गुज्रिएँ। संगतले पनि धेरै कुरा हुँदोरहेछ। मेरो पहिलेदेखि पढ्नुमा रुची थियो। त्यसले गर्दा मेरो साथीहरु साहित्यका क्षेत्रमा धेरै भए। भूपि, शंकर, अगमसिंह, इन्द्रबहादुर राई, बैरागी काइँला, इश्वरबल्लभ। यिनीहरुले मलाई पढ्ने बानी बसाले। 
गीत गाउनु, कम्पोज गर्नु र गीत लेख्नु मात्रै सबैथोक होइन। हाम्रो समयमा गीत गाउनु भनेको पैसा वा नाम कमाउनु भन्ने थिएन। त्यो सोचाइ नै आउँदैन थियो। माइकको अगाडि गएर गीत गाउन पाउनु मात्रै पनि उपलब्धि लाग्थ्यो। श्रोता चाहिन्थ्यो। त्यस्ता श्रोता पनि थिए त्यो बेलामा। हिजो आज त ख्वै के पो भयो...
 त्यसैले गर्दा मलाइ फिल हुन्छ। कुरा गरौं जस्तो लाग्छ, तर को सँग गर्ने ? कुरा सुनौं जस्तो हुन्छ, तर कसको कुरा सुन्ने? मान्छे नै पाउँदिन। केही पहिले चाइना गएको बेला ममा यस्तै लालसा थियो। म सुन्न चाहन्थेँ। यता त नेपाली गीत कसको सुन्ने? यो हाम्रो संगीत कुन दिशातिर गइरहेको छ भन्ने दिशाबोध पनि भइरहेको छैन। 
(स्वर्गीय गुरुङ संगीत नाट्य एकेडेमीमा कुलपति रहेको बेला उनीसँग एकेडेमीमै गरिएको लामो रेकर्डेड कुराकानीमा आधारित रहेर तयार पारिएको आलेख । स्रोत ः सेतोपाटी)





Post a Comment

 
Top