0
राजाराम पौडेल
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्र, अञ्चल र जिल्लामा नयाँ नेतृत्वका लागि सरगर्मी बढ्दै गएको छ । कतिपय जिल्लाको अधिवेशन सम्पन्न भैसकेको छ भने केहि जिल्लाको हुने क्रममा छ । जिल्ला र अञ्चलको अधिवेशनमार्फत आउने नयाँ नेतृत्वले केन्द्रको अधिवेशनमा समेत प्रभाव पार्ने भएकोले यसलाई केन्द्रदेखि अञ्चल हँुदै जिल्ला तहसम्म महत्वका साथ हेरिएको छ । यता नेतृत्व लिने व्यक्ति आफ्नो पक्षको भएमा कार्यकाल अवधिभर मेला महोत्सव मात्रै नभएर अन्य विभिन्न कार्यक्रममा आफ्नो हालिमुहाली कायम रहन सक्ने भएकोले नयाँ तथा पुराना सबै कलाकारले आफ्नो पक्षको व्यक्तिलाई नेतृत्वमा ल्याउन भित्रभित्रै तयारी थालेका छन् । नेतृत्वमा पुग्ने इच्छा देखाएकाहरु पनि आफू नेतृत्वमा पुग्न सके यो क्षेत्रबाट विस्थापित हुन नपर्ने र प्रतिष्ठा बढ्ने भन्दै आफ्नो पक्षमा सर्मथन जुटाउने तयारीमा व्यस्त छन् ।  यसैबीच राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान कास्कीको अधिवेशन आगामी आइतबार हँुदैछ । अधिवेशनमार्फत नेतृत्व लिने दौडमा वर्तमान अध्यक्ष शिवहरि ढुङ्गाना र प्रथम उपाध्यक्ष प्रेमराज अधिकारी छन् । सबैको सर्मथन मिलेको खण्डमा वर्तमान अध्यक्ष ढुगांनाले पुनः नेतृत्व लिन खोजेको बताएका थिए । तर उनको पक्षमा सर्मथन जुट्ने सम्भावना नभएको स्रोत बताउँछ । आफ्नो पक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसक्ने देखिएपछि उनले प्रतिष्ठान गण्डकीको पदाधिकारीमा जाने इच्छा देखाइसकेका छन् । यसले जिल्लाको नेतृत्व लिने दौडमा रहेका वर्तमान प्रथम उपाध्यक्ष प्रेमराज अधिकारीको बाटो सहज बनेको छ । त्यसैले कास्कीको नेतृत्व अधिकारीको पक्षमा जाने लगभग पक्का देखिएको स्रोत दावी गर्छ । आफूले नेतृत्व पाएमा नयाँ कलाकारको उत्पादन घटेकोले विद्यालय स्तरबाटनै दोहोरी संरक्षण गर्ने, स्मारिका निकाल्ने लगायतका योजना अधिकारीले बनाइसकेका छन् । वि.स.२०५४ सालबाट लोक दोहोरी क्षेत्रमा लागेका अधिकारीको स्थायी ठेगाना कास्की जिल्ला को ढिकुरपोखरी गाविस ९ सेराचौर हो । कास्कीको प्रथम उपाध्यक्षमा टेक क्षेत्री र रामजी पौडेलको नाम चर्चामा छ । यसैगरी द्वितीय उपाध्यक्षमा प्रदिप त्रिपाठी, सचिवमा ज्ञानेश्वर सुवेदी, सह–सचिवमा प्रकाश बराल, कोषाध्यक्षमा तुलसा जिसीले इच्छा देखाएका छन् । अन्य विभिन्न पदमा इच्छा जाहेर गर्दै केहि कलाकार आन्तरिक तयारीमा जुटेका छन् । कास्कीमा झण्डै ३ सय ५० जना साधारण सदस्य रहेको प्रतिष्ठान कास्कीका सचिव रामजी पौडेलले बताए । यता, प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहाल गण्डकीको नेतृत्व हस्तान्तरण गरी केन्द्रतर्फ जान खोज्दैछन् । प्रतिष्ठान गण्डकीको नेतृत्वका लागि शंकर विरही गुरुङ, सीता केसी र घनश्याम रिजालको नाम चर्चामा छ । गुरुङ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् । केसी प्रथम उपाध्यक्ष हुन् भने रिजाल महासचिव । हाल प्रतिष्ठान गण्डकीको वरिष्ठ उपाध्यक्ष रहेका शंकर विरही गुरुङ कार्य योजना सहित नेतृत्व लिने दाउमा छन् । यसअघि प्रतिष्ठान स्याङ्जा जिल्ला समितिको साधारण सदस्यबाट यात्रा सुरु गर्दै प्रतिष्ठान गण्डकीको उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक समालेका उनी सबै कलाकारको सर्मथनमा नेतृत्वमा पुग्ने दावी गर्छन् । उनले कलाकार कल्याणकारी कोष अभिवृद्धि गरि ११ लाख ११ हजार १ सय ११ पु¥याउने, गण्डकी अञ्चल भित्रका सबै लोकदोहोरी गायक, गायिका, संकलक, बाध्यबादकहरुको हक हितका लागि काम गर्ने तथा अन्य स्थानबाट पोखरा आएर बसेका सबै कलाकारलाई एकीकृत गर्दै लैजाने योजना बनाएका छन् ।
यसैगरी सामुदायिक र निजी विद्यालयहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति सम्बन्धी प्रशिक्षण कार्यक्रम, प्रतियोगिता संचालन गर्दै विद्यार्थीहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति सम्बन्धी जानकारी अभियान संचालन गर्ने र लोक दोहोरी गायक, गायिका, संकलक, वाद्यवादकहरु लाई विभिन्न विद्यालयहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति शिक्षक स्थापित गर्न पहल गर्दै सामाजिक कार्यहरुलाई निरन्तरता दिने योजनामा उनी छन् । नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार र सागर सुबेदी स्मृति पत्रकारिता पुरस्कारलाई ब्यवस्थित गर्नका लागि छुट्टाछुट्टै कोषको स्थापना गर्ने,  लोक दोहोरी कलाकार बचत तथा ऋण सहकारी स्थापना गर्ने, लोकगीत, लोकदोहोरी, लोक संस्कृतिको विकास र सम्बद्र्धनको लागि सम्बधित सबै पक्षहरुसंग सरसल्लाह गर्दै त्यस सम्बन्धी विभिन्न अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्दै अगाडि बढ्ने र प्रतिष्ठान केन्द्रसंग सहकार्य गर्दै लोक दोहोरी भित्रका बिकृति र बिसंगतिहरुलाई हटाउन पहल गर्ने महत्वकाक्षी योजनाका साथ नेतृत्व लिने दाउमा उनी होमीएका छन् । मनकामना–४, आरुखर्क स्याङ्जामा जन्मिएका गुरुङको औपचारिक यात्रा वि.स.२०६० सालमा ‘लाग्न थाल्यो आश’ एल्बम बजारमा ल्याएर भएको थियो । यता, प्रतिष्ठान गण्डकीको प्रथम उपाध्यक्ष रहेकी अध्यक्षको दावेदार सीता केसी यसपाली गण्डकीको नेतृत्व महिलाको काँधमा आउने दावी गर्छिन् । प्रतिष्ठान कास्की जिल्ला समितिको सदस्य र कोषाध्यक्ष हुदैँ प्रतिष्ठान गण्डकीको सदस्य र कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरीसकेकी उनले आफू काम गरेरै यहाँसम्म आइपुगेकोले नेतृत्व आफूले पाउने तर्क गर्छिन् । छाङ्छाङ्दी गाविस वडा नं. ४ स्याङ्जामा जन्मिएकी उनी लोक दोहोरी प्रतियोगिताबाट खारिएर यो क्षेत्रमा संर्घष गरिरहेकी कलाकार हुन् । वि.स. २०५४ सालबाट साँगीतिक यात्राको थालनी गरेको बताउने उनी आफूले नेतृत्व पाएमा यो क्षेत्रमा देखिएका विकृति विसंगतीको अन्त्य गर्ने दावी समेत गर्छिन् । नेतृत्वका लिनका लागि कार्ययोजना अधिवेशनको १५ दिन अगाडि मात्र सार्वजनिक गर्ने तयारी केसीको छ ।
 
हाल प्रतिष्ठान गण्डकीको महासचिव रहेका घनश्याम रिजाल गण्डकीको नेतृत्व लिंदै यात्रा अगाडि बढाउन कसरत गर्दैछन् ।  प्रतिष्ठान स्याङ्जा जिल्ला समितिको सदस्यता लिइ यात्रा सुरु गरेका रिजाल अञ्चल समिति गण्डकीको संस्थापक सदस्य हुदै सहसचिव, सचिव पदमा रहि कुशल कार्य गर्दै आफ्नो प्रतिभा देखाइसकेका व्यक्ति हुन् । स्याङ्जा एलादी–७, केराबारीमा जन्मिएका उनको भने २०६२ सालमा ‘मन मुटुमा तस्विर कोरेर’ बोलको गीत रेर्कड गरी औपचारिक रुपमा नेपाली साँगीतिक फाँटमा आगमन भएको थियो । नेतृत्व आफुले लिनको लागि कार्य योजना बनाउने तयारीमा रिजाल छन् । अन्तिम अवस्थामा गुरुङ र रिजाल बीच प्रतिष्पर्धा हुने आकलन गरिएपनि अर्का दावेदार सिता केसीले समेत आफूपछि नहट्ने बताएकी छन् । आकांक्षीलाई मिलाउने जिम्मा पाएका वरिष्ठ कलाकारहरु पटक–पटक छलफलमा बसेपनि मिलाउन सकेका छैनन् । उनीहरुले वरिष्ठताको आधारमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएपनि रिजाल सहमत नभएपछि चुनाव हुने निश्चित भएको स्रोतको दावी छ । गण्डकीको वरिष्ठ उपाध्यक्षमा अम्मर धिताल, द्वितीय उपाध्यक्षमा जय कुमार परियार, महासचिवमा हालका सचिव सुरेन्द्र गुरुङ, सचिवमा हालका सदस्य राजन कार्की र कोषाध्यक्षमा विजय केसीको नाम चर्चामा छ । कार्यसमितिको अन्य पदमा जाने इच्छा देखाउनेको संख्या पनि लामै छ । प्रतिष्ठान गण्डकीको अधिवेशन असार अन्तिम साता हुनेछ । गण्डकीको अधिवेशनमा प्रतिष्ठान कास्की, तनहुँ, स्याङजा, लमजुङ र गोरखा जिल्लाबाट आएका प्रतिनिधिले मतदान गर्नेछन् । मनाङ जिल्लामा भने प्रतिष्ठानको शाखा विस्तार हुन सकेको छैन । जिल्ला र अञ्चलमा मात्र नभएर प्रतिष्ठानको केन्द्रीय नेतृत्वको लागि पनि दौडधुप चलिरहेको छ । केन्द्रीय नेतृत्वको लागि वद्री पंगेनी, टिकाराम चपाई र विष्णु खत्रीले इच्छा जाहेर गरेको स्रोतले जनायो । हालका केन्द्रिय सदस्य तारापती सुवेदी र चोलेन्द्र पौडेलले पनि केन्द्रीय पदाधिकारीमा जाने इच्छा देखाएका छन् । पछिल्लो क्रममा यो क्षेत्रमा  विकृती बढिरहेको व्यापक गुनासो आइरहेकोले नयाँ नेतृत्वसँग विकृति अन्त्य गर्नुपर्ने चुनौती छ ।




Post a Comment

 
Top