0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ३ नदीपुरस्थित नारायण स्थान मन्दिरको नाममा रहेको  गुठीको जग्गालाई रैकर बनाएर बेच्न केही व्यक्तिहरु सफल भएका छन् । पोखरा उप–महानगरपालिका वडा नं. १४, (साविक छिनेडाँडा–१) को कि.नं. ९७५ को ८–७–२–१÷४ क्षेत्रफल जग्गा पछिल्लो समयमा आएर गुठीबाट पुरै छुट्याएर व्यक्तिको नाममा दर्ता गरिएको छ । पोखराको ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नारायण स्थान मन्दिरको नाममा पूजा चलाउने प्रयोजनमा रहि आएको पोखरा–१४ को करोडौं मूल्य पर्ने उक्त जग्गालाई राज्य निकायबाटै कागज श्रेस्ता मिलाएर गुठीबाट फुस्काएर व्यक्तिगत (रैकर) बनाइएको हो । लामो कसरतपछि मंगलबार जिल्ला मातपोत कार्यालय कास्कीबाट उक्त जग्गा सेखपछिको वकस पत्र पास गरिएको छ । 
कि.नं.९७५ को उक्त जग्गा व्यक्तिगत बनाउने चलखेल यसअघि पनि नभएको होइन तर कास्कीका तत्कालिन प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको सक्रियता र अडानका कारण ३ वर्षअघि नै निजी सम्पत्तिको रुपमा नामसारी हुनबाट जोगिएको थियो।
नारायणस्थान मन्दिरका पूजारी भनिएका व्यक्ति पुष्पराज लामिछाने गुठीको जग्गालाई रैकर बनाएर पुरै व्यक्तिगत कायम गराउन सबै तह र निकायलाई प्रयोग गर्न सफल भएका छन्। मिति २०४७ जेठ २० गते कास्की मालपोतको दर्ता नं. ७३९२ मा तत्कालिन पूजारी पत्नी गंगा उपाध्यानी (पराजुली) ले वकस पत्र पारित गर्ने लिखतमा नारायण स्थान भगवानको पूजा चलाएर खानु भन्ने वाक्यांश स्पष्ट र किटानी साथ उल्लेख गरेको कारण  कि.नं. ९७५ लगायतको जग्गा गुठी अन्तर्गत रहेको तथ्यलाई पुष्टि गर्छ । पोखराको जग्गाको मोल मूल्याङ्कन ह्वात्तै बढेपछि मन्दिरका गुठी जग्गाहरुमा पनि व्यक्तिका वक्र दृष्टि पर्न थालेका छन्। व्यक्तिका कुदृष्टिहरु लाई राज्यका नियमक निकायहरु समेतले साथ समर्थन दिएको कारण गुठीका जग्गा व्यक्तिगत स्वामित्वमा जाने अवस्था आएको भन्दै नारायण स्थान गुठीको विषयमा जानकार अग्रजहरुले चिन्ता व्यक्त गरेका छन्।
वि.सं.१९३७ साल पूर्व तत्कालिन फिरन्ता व्रम्हाचारी गणेश गिरीको पहलमा भिक्षाटन गरेर स्थापना गरेको र तत्कालिन सरकार श्री ३ वीर शमशेर ले वि.सं. १९४५ पुष १ गते सनद सवाल भएको र जुन वि.सं. १९५८ सालमा तत्कालिन श्री ३ चन्द्र शमशेरले समेत सनद सवाललाई पुस्टयाइँ गराएका तथ्यहरु अहिलेसम्म सुरक्षित राखिएको दावी गरिएको छ। यति बलियो आधार प्रमाण हुंँदा–हुदै पनि नारायणस्थान गुठीको जग्गा फुत्काउन पूजारी लामिछाने सफल भएका छन् । प्रचलित हालको मूल्य अनुसार करिब १५ करोड रुपैयाँ मूल्य पर्ने उक्त जग्गा प्रकरणका सम्बन्धमा गुठी संस्थानका प्रतिनिधि, मालपोत कार्यालय कास्कीले समेत बुझ पचाएर गुठीको हक खोस्ने गरि स्वामित्व हस्तान्तरण गर्न हतारिनुलाई विडम्वना मानिएको छ।
नारायणस्थान धार्मिक क्षेत्र विकास समितिलाई आफ्नो मन्दिर गुठीको जग्गा विक्री हँुदैछ भन्ने सूचना पाएर बुझ्न खोज्दा प्रक्रिया अन्तिमसम्म पुगेपछि झस्किएको बताए। गुठी जग्गाको स्वामित्व जोगाई दिन क्षेत्रीय प्रशासक शंकर कोइराला समक्ष निवेदन पुगेपछि उनको सक्रियतामा हाल तत्काल लाई व्यक्तिमा नामसारी हुन बाट रोकिएको थियो तर मंगलबार शेखपछिको वकसपत्र दाखिला खारेज पास भएको छ । 
उक्त जग्गा प्रकरणका सम्वन्धमा सुरुका अवस्थामा राज्यका निकायहरु गुठी जग्गा संरक्षणकै पक्षमा प्रस्तुत भएका कागज प्रमाणहरु साक्षी छन्। नारायण गुठी जग्गा सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीले मिति २०६१ पुस १६ गते कि.नं. ९७५ समेतका जग्गा सम्बन्धमा अनुसन्धान जारी रहेकाले रोक्का राखिदिन मालपोत कार्यालयलाई लेखिएको पत्र छ। 
यस्तै गुठी संस्थान डिल्लीबजार काठमाडौंले मिति २०७० वैशाख १० मा गुठीको जग्गा संरक्षण गर्ने सम्बन्धमा मालपोत कार्यालय कास्कीलाई पत्र लेखी निर्देशन गरिएको छ।  गुठी संस्थानको पत्रमा पनि २०४७ जेठ २० को लिखतलाई उद्घृत गर्दै ९७५ कित्ताको जग्गा नारायण स्थान गुठीको भएकोलाई पुष्टि गरिएको छ भने मालपोत कार्यालय कास्कीले २०७० जेठ १ गते लेखेको प्रतिउत्तर पत्रमा समेत उक्त जग्गा गुठको नै रहेको पुष्टि भएको देखिन्छ। उक्त गुठी जग्गा प्रकरणले पछिल्लो समयमा नाटकीय मोड लिएको छ। उक्त जग्गा विवाद सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ वैशाख ५ गते दिएको निर्णयका कारण गुठीको जग्गा व्यक्तिको पोल्टामा गएको छ । अख्तियारको निर्णयले गुठीको जग्गा रैकरमा परिणत गराउने काम भएको भन्दै जानकारहरुले चिन्ता व्यक्त गरेका छन्। अख्तियारले दिएको निर्णयले गुठी जग्गाको संरक्षण हुनु पर्ने हो तर नारायण स्थान गुठीको जग्गा व्यक्तिको पोल्टामा जाने अवस्था आउनु विडम्वना हो ।
यसरी सार्वजनिक मन्दिरको गुठी जग्गा अख्तियारको निर्णयकै आधारमा लोप हुन थालेपछि नारायणस्थान धार्मिक क्षेत्र विकास समिति गुठी जग्गा संरक्षणका लागि क्षेत्रीय प्रशासन कार्यालय पोखरामा गुहार माग्दै निवेदन गर्न पुगेका थिए । निवेदनको वावजूद पनि गुठी जग्गा संरक्षण गर्न नसकिएकोमा धार्मिक क्षेत्र विकास समितिले चिन्ता व्यक्त गरेको छ । धार्मिक गुठीहरुलाई रैकर बनाउने निर्णय गर्दा अख्तियारले पुरा कागज प्रमाण अध्ययन नै नगरेको महसूस भएको कतिपयले टिप्पणी गरेका छन्। वि.सं. २०३१ सालको सर्भे नापीको फिल्ड वुकमा समेत नारायण गुठी उल्लेख हुँदा–हँुदै पनि अख्तियारवाट अनपेक्षित निर्णय आएपछि मन्दिर र गुठी संरक्षण पक्षधरहरुमा चिन्ताको विषय भएको छ । अख्तियारले दिएको त्यहि निर्णयलाई च्यापेर गुठी जग्गालाई निजी बनाउन मन्दिरका पूजारी भनिने पुष्पराज लामिछाने लगायतको टोली सक्रिय भएर लागेका थिए । 
२०७३ वैशाख ५ गतेको अख्तियारको निर्णय पर्चा अनुसार गुठी संस्थान काठमाडौंले वैशाख २३ गते मालपोत कार्यालय कास्कीलाई पत्राचार गरि रैकर प्रमाणित गराई व्यक्तिगत हक कायम गर्न लेखेको छ। वैशाख २६ गते नै मालपोत कार्यालय कास्कीले गुठी संस्थानको पत्र दर्ता गराई प्रक्रिया अघि बढाएकोमा सोही अनुसार फास्टट्रयाकबाट गुठीको जग्गा रैकर बनाउने खेल भएको थियो कि सामान्यतया सरकारी अड्डामा त्यो असम्भव छ तर करोडांै रुपैयाँको जग्गाको चलखेल हेर्दा यो हतारो–चटारो पनि रहस्यमयी बनेको छ। राज्यको संवैधानिक निकायले राज्यहित र सार्वजनिक हितमा निर्णय गर्नुपर्ने हो तर कसरी व्यक्तिगत लाभका पक्षमा निर्णय भयो भन्ने छुट्टै खोजीको विषय बनेको छ। यहि नजिरलाई आधार मान्ने हो भने नेपालका अधिकांश गुठी जग्गाहरु रैकरमा जाने मार्ग प्रशस्त भएको भन्दै मठ मन्दिर गुठी लगायतका जग्गा संरक्षणकर्ताहरु चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले गुठीको जग्गा जोगाउन धेरै प्रयास गरेको बताए । धार्मिक स्थलको जग्गा व्यक्तिको नाममा हुन नदिनका लागि सबै सरकारी निकायमा पहल गरेको र त्यसैका कारण जग्गा दर्ता हुन नसकेको भएपनि मंगलबार जग्गा दर्ता भएको विषय आफूहरुलाई जानकारी नभएको बताए । उनले यदि जग्गा व्यक्तिको नाममा गुठीको जग्गा दर्ता भएको भए त्यस विरुद्ध अदालतमा जाने स्पष्ट पारे ।







Post a Comment

 
Top