0
पोखरामा कवि रुपक श्रेष्ठको कृतित्व विषयक परिचर्चा कार्यक्रम शनिबार सम्पन्न भयो। कार्यक्रममा डिल्लीराम लामिछानेले रुपक श्रेष्ठका कविताको विषयवस्तु र शिल्प विषयक कार्यपत्र प्रस्तुत गर्दै लामिछानेले कवि श्रेष्ठ नेपाली बाटोको सुगन्ध बेलायती भूमिमा फिजाउँदै भूपी शेरचनको बाटोका डायोस्पोरिक कवि रहेको बताए। उनले श्रेष्ठका कविताका विषयमा आम नेपाली कवि तथा पाठकलाई एकपटक झक्झकाउन सक्ने सामथ्र्य र शिल्प रहेको बताए। कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय उपाध्यक्ष प्राडा कुसुमाकर न्यौपानेले कवि श्रेष्ठका सिर्जनाले आम पाठकको मस्तिष्कलाई जुरुक्क उचाल्न सक्ने सामथ्र्य रहेको बताए।
पृथ्वी नारायण क्याम्पस प्रजातान्त्रिक प्राध्यापक संघका सभापति दीपेन्द्र पराजुलीले कवि रुपक श्रेष्ठको राष्ट्र प्रेमको जति प्रशंसा गरे पनि अपुग रहने बताए। विभिन्न स्रष्टा, साधक र प्राध्यापकले श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा राखेका जिज्ञासाका बारेमा बोल्दै लेखक श्रेष्ठले आफू कला साधनामा निरन्तर क्रियाशील रहेतापनि बेलायत–नेपालको बसाइँ र लेखन विवाहिता छोरीलाई घर प्यारो कि माइत भने झैँ भएको बताए। कवि श्रेष्ठले आफू जहाँ जसरी रहे तापनि आफ्ना सिर्जनामा नेपाली माटोको सुगन्ध बोकेर हिँडिरहने प्रतिबद्धता जाहेर गरे। कार्यक्रममा नेपाली लोकबाजामा विद्यावारिधिरत बासुरीबाधक हरि पौड्याल, गुरुकुल संगीत पाठशालाका सञ्चालक तीर्थराज पोखरेल, गायकगायिका स्मृति गुरुङ, टेकराज बरालले विभिन्न सांगीतिक प्रस्तुति राखेका थिए। नेपाली लेखक संघ कास्कीका अध्यक्ष गणेश पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रिता कँडेलले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन सचिव सञ्जिव पौडेलले गरेका थिए।






Post a Comment

 
Top