0
गोल्डेन न्यूज संवाददाता
टोल विकास संस्था नगर समन्वय समिति पोखरा–१० को बैठक मंगलबार सम्पन्न भयो । पोखरा उप–महानगरपालिका कार्यालय पोखरासँग आवद्ध रहि पोखराको समग्र विकास र अन्य कार्यमा सहभागी र सहयोग पुर्याउने उद्देश्यले स्थापित समितिको बैठकले नगरपालिकाको नीति, नियमलाई कार्यान्वयन गराउँदै नागरिकको समस्या र नगरपालिकाले गर्नुपर्ने काम छिटो छरितो गर्न आग्रह गर्ने, पोखरालाई प्लाष्टिक झोला र गिलास मुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका वडालाई छिटोभन्दा छिटो घोषणा गरी नगरपालिकालाई तुरुन्त प्लाष्टिक झोला र गिलास मुक्त क्षेत्र घोषणा गर्न मद्धत गर्ने निर्णय गरेको छ । यसैगरी सवारी साधनको चापसँगसगै जनघनत्व बढ्दै गएको र व्यवस्थित सडक नहुँदा सवारी साधन र पैदल यात्रीलाई परेको समस्याको समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न लगाउने, व्यवस्थित पार्किङ, पार्किङ शुल्क समेत समायोजन गर्न पहल गर्ने, ठेक्का लगाइने वडाको सरसफाई कार्यमा वडा आफैले नगरपालिका सँग समन्वय गरी कार्यान्वयन गराउने निर्णय समेत बैठकले गरेको छ । बैठकमा टोल विकास संस्थाको ३ दिने अध्ययन अवलोकन भ्रमणको आयव्यय प्रस्तुत, बैठकमा सहभागीहरुलाई स्वागत गरिएको टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१० का अध्यक्ष एवं भ्रमण टोलीका संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिए । बैठकमा ३ दिने भ्रमणको प्रतिवेदन टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर गुरुङ्ले प्रस्तुत गरेका थिए । बैठकमा महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ, नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशी, द्वितीय उपाध्यक्ष तिलक तमु पनि सहभागी थिए । टोल विकास संस्था नगर समन्वय समिति पोखरा–१० का अध्यक्ष उज्वल खत्रीको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव प्रकाश पौडेलले गरेका थिए । 









Post a Comment

 
Top