0
गोल्डेन न्यूज संवाददाता
क्रान्तिकारी पत्रकार संघ कास्कीद्वारा स्थापित तथा सञ्चालित थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरेलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको सोमबार सम्पन्न वैठकले घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको हो । आगामी जेठ १३ गते पत्रकार कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस एवं संघको तेस्रो जिल्ला सम्मेलनका अवसरमा घिमिरेलाई पुरस्कृत गरिने छ । पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । लमजुङको राइनासकोटमा जन्मिएकी घिमिरेको कर्मघर हेमजा हो । उनले स्वाभिमान साप्ताहिक बाट पत्रकारिता सुरु गरेकी हुन् । जनदिशा दैनिक, रेडियो नेपाल, गण्डकी खबर, पोखरापत्र र डन न्यूजमा काम गरिसकेकी घिमिरे हाल गण्डकी मिडिया हाउसमा आबद्ध छिन् । जनयुद्ध घाइते समेत रहेकी घिमिरेको बेनी आक्रमणमा परि एउटा खुट्टा गुमेको छ । उनी सञ्चारिका समूहको सञ्चारिका प्रोत्साहन पुरस्कार–२०६५, प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार २०७१ बाट सम्मानित भइसकेकी छिन् । बरिष्ठ पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा गठित पुरस्कार छनोट समिति सदस्यहरु प्रेस स्वतन्त्रता सेनानी नारायण भट्टराई, पत्रकार कुसुमकेशव पराजुली, पदम रेग्मी, बालकृष्ण काउछा, मिना गुरुङ र संघका जिल्ला संयोजक दीपक परियार थिए । कास्कीमा पत्रकारिता गर्ने क्रममा सहादत प्राप्त गरेका थमन परियार र महेश पहारीको स्मृतिमा संघले पुरस्कार स्थापना गरेको हो । पुरस्कारबाट यसअघि बरिष्ठ पत्रकार कोमलनाथ बराल, महेश्वर पहारी र रुद्रप्रसाद भट्ट सम्मानित भइसकेका छन् ।











Post a Comment

 
Top