0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका कपडा व्यवसायीहरुको छाता संस्था कपडा व्यवसायी एशोसिएशन पोखराले कास्कीकोटको एक विद्यालयमा पोशाक वितरण गरेको छ । कास्कीकोट वडा नं. ६ स्थित श्री बाल प्रवोधीनि प्राविमा अध्ययनरत ३७ जना विद्यार्थीहरुलाई आवश्यक पर्ने पोशाक वितरण गरिएको हो । करिब १५ हजार रुपैयाँ बराबरको पोशाक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच एशोसिएशनका अध्यक्ष यामनाथ तिमिल्सिनाका साथै पदाधिकारी एवं सदस्यहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर अधिकारीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले विद्यालयमा अति विपन्न वर्गका विद्यार्थी अध्ययनरत रहेको भन्दै पोशाक अति जरुरी रहेको अवस्थामा कपडा व्यवसायीले सहयोग गरेकोमा खुशी प्रकट गरे । उनका अनुसार २०१५ सालमा स्थापित विद्यालयमा हाल ३७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीका अनुसार विद्यालयमा खानेपानीको अति नै संकट छ । कार्यक्रममा बोल्दै कपडा व्यवसायी एशोसिएशनका अध्यक्ष यामनाथ तिमिल्सिनाले आफूहरु पढ्दा करिब ५ सय विद्यार्थी रहेको भएपनि अहिले सरकारी विद्यालयको महत्व हराउँदै भएको भन्दै सरकारी विद्यालयमा पढ्ने वातावरण बनाउन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा एशोसिएशनका पूर्व अध्यक्ष जनकराज पराजुलीले विद्यालयका लागि अन्य आवश्यकीय सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रम एशोसिएशनका सहायता कोषका संयोजक मिनबहादुर अधिकारी कार्यक्रम संयोजक रहेका थिए । कार्यक्रममा एशोसिएशनका अध्यक्ष यामनाथ तिमिल्सिना, महासचिव नविन नापित, पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुली, कार्यक्रम संयोजक मिनबहादुर अधिकारी, सदस्यहरु रामेश्वर अधिकारी, ममता गुरुङ, अनिल सिग्देल, लेखनाथ पौडेल, सत्यनारायण खेतान र व्यवसाय दर्पणका सम्पादक हरि पन्त, कार्यालय सहयोगी सरिता थापा लगायत सहभागी थिए ।









Post a Comment

 
Top