0
वासुदेव मिश्र
कहिले आफ्नो उचाईभन्दा पहाड होँचो जस्तो, कहिले  खोँचमा हराउँदा आफ्नै उचाई घटेजस्तो । कहिले आँखामा टाँस्सिने हिमाल आफ्नो कुमसम्म मात्र आउँदा संसार जितेजस्तो । अनि कहिले हिमालतिर चियाउँदा टोपी नै खस्ला जस्तो ! हिमाली क्षेत्रको पदयात्रामा निस्कँदा सधैजसो यस्तै लाग्छ’, नेपाल टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष समेत रहनु भएका रामचन्द्र शर्माले भने–‘ त्यसैले त पदयात्रा सधैँ हनिमुन जस्तो लाग्छ ।’ पदयात्रा पथ प्रदर्शकको परिचय हो–रामचन्द्रको । पर्वतको बनौँदेखि सुरु हुने नयाँ पदयात्रा मार्ग खोजीको क्रममा निस्किएका बेला आफूजस्तै हजारौँ पदयात्रा पथप्रदर्शकको मुखिया समेत रहेका शर्माको अभिव्यक्ति हो यो । टान पश्चिमाञ्चको टोली पुराना पदयात्रा मार्गहरु मोटरबाटोले बिगारेपछि वैकल्पिक पदयात्रा मार्गको खोजीमा निस्किएको हो । पछिल्लो समय, एकोहोरो हिँडाई र दृश्यावलोकनको अलावा हिमाली क्षेत्रको ग्रामीण संस्कृतिको बारे पर्यटकलाई जानकारी दिने उदेश्यले टानले गाउँहरु छिचोल्दै जङ्गल पस्ने अनि जङ्गल छिचोल्दै गाउँ पस्ने पदयात्रा मार्गको खोजी थालेको उनको भनाइ छ । यो बाटो मार्ग अन्नपूर्ण पदयात्रा क्षेत्रभित्रै पर्छ । पर्वत जिल्लाको बनौँ गाविसबाट सुरु हुन्छ यो पदयात्रा मार्ग । पोखराबाट १ घण्टाको मोटरयात्रा अनि २ घण्टाको हिँडाईपछि पुगिन्छ–बनांै । समुद्र सतहदेखि करिब करिब २१ सय मिटर उचाइमा रहेको बनौ पुन मगरहरुको बस्ती हो । पुन मगरहरुको संस्कृति, घाँटु र ठाडो भाका, गाउँमै उत्पादन गरिएको लोकल रक्सीको मत्याउने स्वाद यहाँको विशेषता हो । पर्यटकलाई गाउँलेकै घरमा सुताउने यहाँको चलन । स्थानीयवासी तथा पर्यटक पथप्रदर्शक अर्जुन पुनका अनुसार पर्वतको नयाँपुल हुँदै पुनहिल पुग्ने वैकल्पिक मार्ग समेत हो यो ।  पर्यटकहरुको चहलपलहल  बढ्न थालेपछि गाउँमा होमस्टे समेत व्यवस्था गरिएको उनले बताए ।  ‘पर्यटकहरु सधैँ नयाँ ठाउँ जान मन पराउँछन् त्यसैले यो टे«ल चल्ने सम्भावना धेरै छ’–गाउँ नजिकै २५९० मिटरको उचाईमा  रहेको हल्जुरेको डाँडाबाट अन्नपूर्णदेखि र लमजुङ हिमालसम्मको श्रृङ्खला देखाउँदै उनले भने–यहाँ आएपछि पर्यटक आफै लोभिन्छन् ।’
टान पश्चिमाञ्चलका  कोषाध्यक्ष इन्द्रमान चौहानका अनुसार आवश्यता अनुसार पदयात्राको दिन घटाउन तथा बढाउन सकिनु यो पदयात्रा मार्गको विशेषता हो । त्यहाँबाट पर्वतकै बनौँ सालिजा, लेखाफाँट हुँदै म्याग्दीको राम्चे गाविसको नागी हुँदै पुनहिल जान पाउनु यो पदयात्रा मार्गको विशेषता हो । नागी महावीर पुनको गाउँ हो । नागीमा जन्मेका महावीर पुनले गाउँमा सामुदायिक पर्यटनको अवधारणा भित्र्याउँदै गाउँहरुलाई बेतारे इन्टरनेटमार्फत संसारसँग जोड्ेका छन् । पर्यटन उद्योगको लाभ गाउँका सबैले पाउनुपर्छ भन्ने मान्यता अनुसार गाउँमा समुदायकै पहलमा सामुदायिक होटल निर्माण गरिएको छ । त्यहाँ पुग्ने पर्यटकहरुले खाना र बस्नको लागि खर्चेको पैसा समेत समुदायकै लागि खर्च गरिन्छ । ‘कहिले पसिना चुहाउँदै उकालो चढ्नु, कहिले हिमाल हेर्दै डाँडाडाँडै तेर्सिनु त कहिले समुदायसँग बसेर साँस्कृतिक कार्यक्रमको मज्जा लिनु यो पदयात्राको विशेषता हो’,टान पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले थपे–‘गाउँलेहरुलाई पर्यटन उद्योगको लाभ चखाउन र उनीहरुको आर्थिक उन्नति गराउन पनि हामीले गाउँ छिचोल्दै अगाडि बढ्ने पदयात्रा मार्गको खोजी अभियान चलाएका हौँ।’ नयाँ पदयात्रा मार्गलाई अहिले देखि नै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार थालिएको पनि उनले जनाए । टान पश्चिमाञ्चलले पोखरा आएका पर्यटकहरुलाई अन्नपूर्ण क्षेत्रका विभिन्न भागमा पदयात्राका लागि पठाउने गर्छ ।



Post a Comment

 
Top