0
गोल्डेन न्यूज संवाददाता
२५ सय ६०औं बुद्ध जयन्तीको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आइतबार प्राणदान माछाको छत्तर छोड्ने कार्यक्रम सम्पन्न भएको छ । बौद्ध अर्घौ सदन गौतम बुद्ध मार्गको आयोजनामा बेगनास तालमा उक्त माछाको छत्तर छाडिएको हो । सप्ताहब्यापी कायक्रम अन्तर्गत सोमबार ज्ञानमाला संघ धर्मशिला बुद्धबिहारको आयोजनामा बिहान ४ः३० बजे प्रभातफेरी तथा ७ बजे बिहार क्षेत्र सरसफाई, बौद्ध अर्घौ सदनको आयोजनामा बिहान ७ बजे गणचक्र पुजा तथा सुखावती गुम्बाको आयोजनामा दिउसो १ बजे प्रवचन कार्यक्रम राखिएको छ । जेठ १ गते शनिबारबाट शुरु भएको सप्ताह ब्यापी कार्यक्र्रम अन्तर्गत पहिलो दिन शुभारम्भ र्याली, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भईसकेका छन् । बिश्व शान्ति स्तुप तथा युवा बौद्ध संघ नदीपुरको आयोजनामा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा २ सय ८० जनाले स्वास्थ्य जाँच गराएका थिए भने १६ युनिट रगत संकलन भएको बिश्व शान्ति स्तुप समितिका सचिव उत्तममान बुद्धाचार्यले जानकारी दिए । स्वास्थ्य शिविर कार्यक्रममा बरिष्ठ बालरोग विशेषज्ञ डा. भाईरत्न शाक्य, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. यज्ञमान शाक्य, बरिष्ठ स्त्रिरोग बिशेषज्ञ डा. महेन्द्र पाण्डे, दन्तरोग बिशेषज्ञ डा.विनिता बज्राचार्य, बरिष्ठ ल्याब टेक्निसियन अरुणकुमार झा मनिपाल अस्पतालका डा. आसिक झा, डा. अशोक मण्डल र डा. नरेश पौडेलले स्वास्थ परिक्षण गरेका थिए । शिविरमा प्राविधिक सहयोग पोखरा मेडिकल हलको रहेको थियो । बिश्व शान्ती स्तुप समितिका उपाध्यक्ष शंकर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भिक्षु सागर धम्मले बिश्व शान्ती स्तुप यस क्षेत्रमा रहनुले संसारभर यस क्षेत्रको प्रचार भएको कुरा बताउदै पर्यटकीय क्षेत्रका रुपमा बिकास भएकैले यहाँका जनताको आर्थिक उपार्जनमा सर्वाङ्गिण बिकास भएको बताए । कार्यक्रममा पोखरा वडा नम्बर २५ पुम्दीभुम्दीका वडा सचिब राम प्रसाद पौडेल, सृजनशिल क्लबका झम्कनाथ देवकोटा, बौद्ध अर्घौ सदनका अध्यक्ष भुवनसिंह गुरुङ्ग, बुद्ध जयन्ती समारोह समितीका सचिब गोबिन्द ताम्राकार, डा. गेहेन्द्रमान उदास पोखरेली, डा. भाईरत्न शाक्य लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत शुसन पौडेलले गरेका थिए भने सञ्चालन बिश्व शान्ती स्तुप समितीका सचिब उत्तममान बुद्धाचार्यले गरेका थिए । यसअघि पच्चिसय साठिऔं बुद्ध जयन्तीको सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ र्याली धेसेलिङ गुम्बा दीपबाट शुरु भई बिश्व शान्ती स्तुप अनदुमा पुगेर समापन भएको थियो । र्यालीका संयोजक रबिन्द्र बज्राचार्य, रक्तदान कार्यक्रमका संयोजक आशिष बजिमय तथा स्वास्थ्य शिविर ब्यवस्थापन संयोजक डा. बिनिता बज्रचार्य थिए । रक्तदान कार्यक्रमको उद्घाटन बरिष्ठ बालरोग बिशेषज्ञ डा. भाईरत्न शाक्यले रक्त सञ्चार केन्द्रका प्राविधिक अर्जुन ज्ञवालीलाई ब्लड ब्याग हस्तान्तरण गरेर शुरुवात गरेका थिए ।







Post a Comment

 
Top