0
हरि पन्त
पोखरा कपडा व्यवसायी एशोसिएशन र नारायणघाट कपडा व्यवसायी एशोसिएशनबीच मैत्रीपूर्ण भेटघाट एवं दुवै संस्थाबीच सहकार्य गरेर गर्न सकिने कार्यको विषयमा छलफल भएको छ । साथै कपडा व्यवसायीका धेरै समस्याहरु रहेकाले समस्या समाधानका लागि कपडा व्यवसायी महासंघको आवश्यकता समेत औंल्याइएको छ । कपडा व्यवसायीहरुमा विशेषगरि करको समस्या धेरै रहेको भेटघाटमा सहभागीहरुले बताए । राज्यले कर नीतिमा कपडा व्यवसायीलाई विभेद गरेको भन्दै उनीहरुले महासंघ स्थापना गरि करको समस्या समाधानमा दवाव दिनुपर्नेमा जोड दिएका थिए । 

पोखरा र नारायणघाटका व्यवसायी बीच कार्यगत एकता गर्दै  एशोसिएशन विस्तारमा लाग्ने दुवै संस्थाबीच सहमति भएको छ । सहमतिमा पश्चिमाञ्चल र मध्यमाञ्चलमा सम्भव भएका जिल्लामा एक महिनाभित्र एशोसिएशन विस्तार गर्ने उल्लेख छ। पोखराको पहलमा तनहुँ, लमजुङ, स्याङ्जा, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लामा एशोसिएशन विस्तार गर्ने र नारायणघाटको पहलमा टाँडी, नवलपरासी, बुटवल, हेटौंडा, धादिङ लगायतका जिल्लामा एशोसिएशन विस्तार गर्ने सहमति समेत भएको कपडा व्यवसायी एशोसिएशन पोखरामा अध्यक्ष यामनाथ तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार एक महिनाभित्र यी जिल्लामा संगठन विस्तार गरि पुनः दुवै संस्थाबीच संयुक्त बैठक बस्ने र भावी रणनीति बारे छलफल गर्दै महासंघ गठनमा अघि बढ्ने सहमति भएको छ ।  बैठकमा दुवै संस्थाले गर्ने सामाजिक गतिविधिका कार्यमा समेत एकता गर्ने विषयमा छलफल भएको बताइन्छ । 

बैठकमा सहभागीहरुले अन्य व्यवसायीमा एकता मजबूत रहेपनि कपडा व्यवसायीबीच कहिल्यै एकता हुन नसकेको र खुट्टा तान्ने प्रवृत्ति मौलाउँदै गएकोमा दुःखेसो गरेका थिए । सरकारबाट कपडा व्यवसायी सधैं उपेक्षित भएको भन्दै उनीहरुले राज्यसंग नीतिगत लडाइँ लड्नुपर्नेमा समेत जोड दिएका थिए । 
पोखरा कपडा व्यवसायी एशोसिएशनका अध्यक्ष यामनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको मैत्रीपूर्ण बैठकमा नारायणघाट कपडा व्यवसायी एशोसिएशनका अध्यक्ष शंकरलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेश कुमार श्रेष्ठ, पूर्व अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, सदस्य तेजबहादुर परियार, पोखरा कपडा व्यवसायी एशोसिएशनका निवर्तमान अध्यक्ष प्रेम भुजेल, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, जनकराज पराजुली सल्लाहकार शिवलाल मल्ल, महासचिव नविन नविन नापित लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 

पोखरा भ्रमणमा पोखरा आइपुगेको नारायणघाट कपडा व्यवसायी एशोसिएशनका अध्यक्ष शंकललाल श्रेष्ठ नेतृत्वको १३ सदस्यीय टोलीलाई पोखरा कपडा व्यवसायी एशोसिएशका अध्यक्ष यामनाथ तिमिल्सिना लगायत पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुका साथै निवर्तमान अध्यक्ष प्रेम भुजेल, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ, जनकराज पराजुली लगायतले स्वागत एवं सम्मान गरेका थिए ।

Post a Comment

 
Top