0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्युनिकरण कार्यक्रमले सोमबार पोखराका विभिन्न विद्यालयमा अध्ययनरत बालश्रमिकहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । हरेक बालश्रमिकले प्राप्त गरेको शैक्षिक सामाग्रीहरुमा करिब ७ हजार मूल्य बराबरको  विद्यालय पोशाक, जुत्ता÷मोजा, झोला, कलम, किताब र कापी रहेको छ । बालश्रम न्यूनिकरण तथा शैक्षिक सामाग्री बिरतणकार्यक्रमका अध्यक्ष दीपक श्रेष्ठका अनुसार १ सय २० जनालाई शैक्षिक सामाग्री दिइएको हो । उनले यो अभियानले बालश्रम न्यूनिकरणमा सघाउने आशा व्यक्त गरे । शैक्षिक सामाग्री पाउनेहरुमा अधिकांश घरेलु बालश्रमिक तथा श्रमिक परिवारका बालबालिका रहेका छन् । तीमध्ये केही सडक बालबालिका समेत रहेको श्रेष्ठले जनाए । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्युनिकरण कार्यक्रमले पोखराका विभिन्न ९ वटा क्षेत्रमा श्रमिक बालबालिकाहरुको लागि सम्पर्क केन्द्र स्थापना गरेको छ । ती केन्द्रहरुम घरेलु श्रमिक र  बालबालिकाहरुलाई पढाउने र मनोसामाजिक तालीम प्रदान गर्दै आइरहेको छ । शैक्षिक सामाग्री बितरण कार्यक्रममा बोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले ढनाढ्यहरुको घरमा बालश्रमिक राख्ने तथा होटलमा हुने बालश्रमिक प्रयोग रोक्नका लागि अभियान नै थाल्नुपर्नेमा जोड दिए। भोकाहरुको बीचमा बसेर आफूले मात्र खाने प्रवृत्ति राम्रो नभएको बताउँदै उनले  विपन्न अवस्थामा रहका घरेलु बालश्रमिकहरुको हितको बारे हुनेखाने वर्गले सोच्नुपर्ने बताए। 
पोखरा उप–महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख ओमराज शर्माले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई काममा लगाउनेलाई कडा कार्वाही गरिने स्पष्ट पारे । ‘बालश्रमिक राख्न पाइँदैन, कि धर्मपुत्री÷पुत्र हुनुप¥यो नत्र त्यस्तालाई पक्रेर भाटे कार्वाही गरिन्छ’, उनले भने–‘अब पोखरालाई एक वर्ष भित्र बालश्रम शून्य सहर बनाउने अभियानलाई हामी कडाइका साथ लागू गर्छौँ ।’ पोखरा उप–महानगरपालिकाले सन् २०१८ सम्म पोखरालाई बालश्रम मुक्त सहर बनाउने उद्घोष गरको छ । उनले पोखरामा देखिएको सडक बालबालिकाहरु लाई खाली भएको सरकारी विद्यालयमा राख्ने बताए । बाध्यताले सडकमा आएकालाई बालगृहमा राखिने, परिवारबाट बिच्किएका लाई घर पठाउने वातावरण मिलाउने र रहरले आउनेलाई जनावर खेदेजस्तो खेदेर भए पनि सडक बालबालिकाको समस्या समाधान गर्ने उनको भनाइ थियो । 
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले सडक बालबालिकाहरुमा देखिएको लागूपदार्थ सेवनको लत डरलाग्दो रोग भएको औंल्याए । सडकमा रहने अधिकांश बालबालिकाहरुले डेन्ड्रोइड सुँघ्ने गरेको उल्लेख गर्दै उनले उनीहरुको लागि सुधार गृह निर्माण हुनुपर्नेमा जोड दिए । पोखरा उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व बहन गर्दै बालश्रम बिरुद्धको अभियान चालेको उनको भनाइ थियो । यो अभियानलाई सघाउन र बालश्रम बिरुद्ध सचेतना अभियान संचालन गर्न पोखरामा रहेका सरकारी तथा गैरसकारी निकायबीच समन्वय हुनुपर्नेमा उनको विशेष जोड थियो ।
पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य  सीता गुरुङले बालश्रम न्यूनिकरणको लागि समाजको सभ्रान्त वर्गले नै बालश्रमिकलाई काममा राख्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिइन । बालश्रमिकका लागि खोलिएको लेकसाइड सम्पर्क केन्द्रका अध्यक्ष मंगल नेपालीले होटल क्षेत्रमा बालश्रमिकको प्रयोग रोक्न कडा कानूनी कार्वाही गर्नुपर्नेमा जोड दिए। बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक भक्तराज रसाइलीले बालश्रम न्यूनिकरणको अभियानमा ७ हजारभन्दा बढी बालबालिकालाई सेवा दिइसकिएको जानकारी दिए ।

Post a Comment

 
Top