शेयर भन्ने बित्तिकै धेरैको ध्यान ठूला कम्पनीतिर जान्छ । नजाओस् पनि कसरी, ठूला कम्पनीको बजार चर्चा पनि ठूलै हुन्छ । तर, शेयरमा लगानी गरेर मालामाल कमाउने हो भने ठूला कम्पनी मात्रै नताक्नुहोस् । साना कम्पनीहरुको शेयरमा लगानी गर्नेले यो वर्ष मालामाल कमाएका छन् । यो आर्थिक वर्षमा शेयरधनीलाई धेरै लाभांस दिने मुख्य १० कम्पनीमध्ये ६ वटा लघुवित्त कम्पनीहरु रहेका छन् । साना कम्पनीको शेयरमा लगानी गर्नेहरुले ठूलो परिणामा लाभांस पाएका मात्रै छैनन्, लाभांसको घोषणासँगै उनीहरुको शेयर मूल्य पनि आकासिँदा मालामाल आम्दानी भएको छ । त्यसैले केही वर्षअघिसम्म ‘लघुवित्तको शेयर’ भनेर नाक खुम्च्याउने लगानीकर्ताहरु अहिले लघुवित्ततर्फ आकषिर्त भएका छन् । पुँजीको आकार सानो भएकाले लघुवित्त कम्पनीहरुले पुँजीको आकारमा उल्लेख्य नाफा कमाएपछि शेयरधनीलाई आकर्षक लाभांस दिन सफल भएका हुन् ।
लगानीकर्ताको आकर्षण बढेसँगै लघुवित्त कम्पनीहरुको शेयर मुल्य व्यापक बढेको छ । कम्पनीहरुले शेयरधनीलाई उल्लेख्यमात्रामा लाभांसको घोषणा गरेपछि लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । गत आर्थिक वर्षको नाफाबाट यो वर्ष लगानीकर्तालाई सबैभन्दा बढी लाभांस दिने कम्पनी हो, युनिलिभर नेपाल । युनिलिभरले लगानी कर्तालाई यस वर्ष ९९० प्रतिशत नगद लाभांस दिएको छ । युनिलिभरले बोनस शेयर भने दिएको छैन । युनिलिभरको प्रतिकित्ता शेयर मूल्य २९ जार ५ सय ८० रुपैयाँ छ । त्यसैगरी, निर्धन उत्थान लघुवित्त विकास बैंकले शेयरधनीलाई ६१.९१ प्रतिशत लाभांस दिएको छ । जसमध्ये ४८.८१ प्रतिशत बोनस शेयर र १३.१ प्रतिशत नगद लाभांस रहेको छ । कम्पनीको प्रतिकित्ता शेयर मूल्य १७७५ रुपैयाँ छ । त्यस्तै, स्वावलम्बन लघुवित्त विकास बैंकले ४२ प्रतिशत बोनस शेयर र १०.६३ प्रतिशत नगद लाभांस गरी ५२.६३ प्रतिशत लाभांस दिएको छ । यो कम्पनीको प्रतिकित्ता शेयर मूल्य २ हजार ३४० रुपैयाँ छ । त्यसैगरी, छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत बोनस शेयर र १२.७ प्रतिशत नगद लाभांस गरी ५२.७ प्रतिशत लाभांस दिएको छ भने डिप्रोक्स विकास बैंकले ५० प्रतिशत बोनस शेयर र २.६३ प्रतिशत नगद लाभांस गरी ५२.६३ प्रतिशत लाभांस दिएको छ । पोखरा फाइनान्स पनि यो वर्ष लगानीकर्तालाई धेरै लाभांस दिने १० कम्पनीमा परेको छ । फाइनान्सले ४८.५ प्रतिशत बोसन शेयर र २.५ प्रतिशत नगद लाभांस गरी ५१.०५ प्रतिशत लाभांस दिएको छ । त्यसैगरी, नेरुडे लघुवित्त संस्थाले ४४ प्रतिशत बोनस शेयर र २.३२ प्रतिशत नगद लाभांस गरी ४६.३२ प्रतिशत लाभांस दिएको छ । नेरुडेको शेयर मूल्य २२१५ रुपैयाँ रहेको छ ।
त्यस्तै समिट माइक्रो फाइनान्सले ४१.७२ प्रतिशत बोसन शेयर र २.१९ प्रतिशत ४३.९१ प्रतिशत लाभांस दिएको छ । यो कम्पनीको प्रतिकित्ता शेयर मुल्य २५७० रुपैयाँ छ ।त्यसैगरी, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले ३५ प्रतिशत बोनस शेयर र ६.८४ प्रतिशत नगद लाभांस गरी शेयरधनीलाई ४१.८४ प्रतिशत लाभांस दिएको छ । यो कम्पनीको प्रतिकित्ता शेयर मूल्य ३९०० रुपैयाँ छ । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने नविल बैंकमा यो वर्ष धेरै लाभांस दिने कम्पनीहरुमध्ये १०औं स्थानमा परेको छ । नविलले ३० प्रतिशत बोनस शेयर र ६.८४ प्रतिशत नगद लाभांस गरी शेयरधनीलाई ३६.८४ प्रतिशत लाभांस दिएको छ । यो बैंकको प्रतिकित्ता शेयर मूल्य २०४४ रुपैयाँ रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका अढाई सय कम्पनीहरुमध्ये आधाभन्दा बढी शेयरधनीलाई यो वर्ष शेयरधनीलाई लाभांस दिए । गत आर्थिक वर्षमा कमाएको नाफाबाट कम्पनीहरुले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांस दिएका हुन् । ५० बढी कम्पनीले २० प्रतिशतभन्दा बढी लाभांस दिएका छन् भने तीन दर्जन कम्पनीहरुले ५ प्रतिशतको हाराहारीमा मात्रै लाभांस दिएका छन् । एजेन्सी
Post a Comment