गोल्डेन न्यूज संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा समेत निर्वाचित भएका छन् । दलको नेताका लागि बुधबार भएको निर्वाचनमा देउवाले पौडेललाई ७२ मतको भारी अन्तरले पराजित गरे । देउवाले १ सय ३९ र पौडेलले ६७ मत ल्याएका थिए । कांग्रेसको कुल २ सय ७ मतमध्ये बिरामी अवस्थामा रहेका नरहरि आचार्यबाहेक सबैको मत परेको थियो । पार्टी छाडेको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले पनि मतदानमा भाग लिए । पहिलो संविधानसभा निर्वाचनपछि भएको दलको चुनावमा देउवालाई पराजित गरी संसदीय दलको नेता बनेका पौडेल यसपटक पराजित भए । दोस्रो संविधानसभापछि पनि देउवा तत्कालीन सभापति सुशील कोइरालासँग १६ मतको अन्तरले दलको नेतामा पराजित भएका थिए । कोइरालाको निधनपछि खाली रहेको दलको नेतामा बुधबार निर्वाचन भएको हो । तत्कालीन सभापति कोइरालाका विश्वासपात्र र निकट सदस्यहरूले समेत पौडेलको साथ छाडेपछि देउवाको जित सहज भएको हो । एक महिनाअघिको पार्टी सभापतिको निर्वाचनमा पनि पौडेल देउवासँग पराजित भएका थिए । पौडेलले आफू पराजित हुने निश्चित हुँदाहुँदै पनि आफ्नो समूहका नेता बनिराख्न दलको नेताका लागि उम्मेदवारी दिएका थिए । पौडेल पक्षकै कतिपय नेताहरूले भने हार्ने निश्चित हुँदाहुँदै पौडेललाई उठाउन नहुने सुझाव दिएका थिए ।
सभापतिको दोस्रो चरणको निर्वाचनमा सघाएको तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि दलको नेतामा देउवालाई मतदान गरेका थिए । मंगलबार आफ्नो कान्छी आमाको निधनबाट शोकमा रहेका सिटौला दलको नेताको निर्वाचनका लागि बुधबार बिहान झापाबाट आएका थिए । मतदान गरेलगत्तै उनी गृहनगर झापा नै फर्किए । खुट्टाको शल्यक्रिया गरेका नेता रामशरण महत मतदान स्थलमा उपस्थित भएर मात्रै फर्किएका थिए । उनको सट्टामा निजी सहयोगी रमेश महतले मतदान गरेका थिए । संसदीय कार्यसमितिको निर्वाचन भने शुक्रबार हुनेछ । त्यसका लागि बिहीबार नै मनोनयन हुँदैछ । यसअघि दलको नेताको मात्रै निर्वाचन भएको थियो । मनोनयन पत्र दर्ता गरेर मतदान गर्ने बेला समझदारी कायम गर्ने भन्दै संसदीय कार्यसमितिको निर्वाचन स्थगित भएको थियो ।
शुक्रबार हुने संसदीय कार्यसमितिको निर्वाचनमा पनि सभापति देउवा र पौडेल पक्षकै प्यानल बनाउने तयारी भएको छ । दलको नेतामा निर्वाचित भएपछि देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै आफ्ना ‘समकालीन मित्र’ पौडेलसँगको सल्लाह र सुझाव अनुसार अघि बढ्ने प्रतिक्रिया दिए । मतदान गरेर निवास फर्केका पौडेलले परिणामपछि देउवालाई टेलिफोनबाट बधाई दिएका थिए । उनले पार्टीमा सम्मानजनक एकता कायम गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । ‘हामी विद्यार्थीकाल देखिकै साथी हौं । सँगै राजनीति थालेका हौं,’ देउवाले सञ्चारकर्मी सँगको प्रतिक्रियामा भने,–‘रामचन्द्रजीलाई सम्मान गर्दै साथ लिएर म काम गर्छु ।’ संसदीय दलको नेतामा निर्र्वािचत भएसँगै देउवालाई भावी प्रधानमन्त्रीका रूपमा हेर्न थालिएको छ ।
देउवाले मधेसका समस्याको समाधान गरेर संविधान कार्यान्वयन गर्ने कामको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । त्यसका लागि सरकारको नेतृत्व लिने हो भन्ने प्रश्नमा देउवाले तीन पटक दोर्रुयाउँदै भने,–‘यसको अर्थ सरकार हैन है ।’ पार्टीले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए । ‘बलियो प्रतिपक्ष भएन भने सरकार निरंकुश हुन्छ, निरंकुश हुन नदिन पनि कांग्रेसलाई बलियो प्रतिपक्ष बनाउँछौं, त्यहीअनुसारको भूमिका निर्वाह गर्छौं,’–देउवाले भने । राणाशासन, पञ्चायती व्यवस्था अन्त्य गर्नेदेखि संघीय गणतन्त्र ल्याउने कामको नेतृत्व कांग्रेसले गरेको बताउँदै देउवाले मधेसको समस्या समाधानका लागि आफूले आन्दोलनरत पक्षहरूसँग छलफल गर्ने बताए । भूकम्प पीडित हरूको उद्धार तथा राहतमा ढिलाइ भइरहेको प्रसंग उल्लेख गर्दै कांग्रेसले विपक्षी दलको हैसियतमा जनजीविकाका मुद्दालाई निरन्तर उठाउने बताए ।
न्यायालयमा राजनीतिक हस्तक्षेप हुन नदिन्ने ः नेता देउवाले न्यायालयलाई राजनीतीकरण हुन नदिन आफू लाग्ने बताए । विपक्षी दलको नेताको हैसियतमा संवैधानिक परिषदका सदस्यसमेत हुन पुगेका देउवाले न्यायालयमा हालै न्यायाधीश नियुक्तिमा भएको विवादतर्फ संकेत गर्दै देउवाले राजनीतिक हस्तक्षेपको अन्त्य गर्न आफू लाग्ने बताएका हुन् । ‘न्यायालयभन्दा माथि कुनै ठाउँ छैन । यसलाई राजनीतिक हस्तक्षेप हुन नदिन म लाग्छु,’– उनले भने ।
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएको केहीबेरमा नै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले टेलिफोनमा बधाई दिएकी छन् । देउवालाई कार्यकालको शुभकामना दिदै स्वराजले संसदीय अभ्यासमा कांग्रेसले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए । देउवा निकटका नेताहरुका अनुसार देउवाले जारी संविधानलाई कार्यावन्यन गर्दै अघि बढ्न कांग्रेस एक ढिक्का भएर लाग्ने बताए ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वा्चित भएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। बुधबार भएको संसदीय दलको निर्वाचनमा दलको नेता निर्वा्चित भएका सभापति देउवालाई प्रधानमन्त्री ओलीले साँझ फोन गरी बधाई तथा शुभकामना दिएको देउवा निकट स्रोतले बतायो। जवाफमा देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै देश र जनताको हितमा सरकारले गरेका राम्रा कामहरुमा पूर्ण सहयोग र समर्थन रहने आश्वासन दिँदै मुलुकको समग्र हितका लागि सबै दलबीच आपसमा सहमति र सहकार्यको संस्कृतिकै आधारमा आफू बढ्न तयार रहेको बताएका थिए। देउवाले पार्टी नेता पौडेललाई ठूलो मतअन्तरले पराजित गर्दै दलको नेतामा निर्वा्चित भएका थिए।
यता, नेपाली कांग्रेस संसदीय दलको नेतामा पराजित नेता रामचन्द्र पौडेलले देउवालाई फोन गरेर बधाई र सफलताको शुभकामना दिएका छन्। ‘संसदीय दलको नेता हुनुभएको बधाई र तपाईको कार्यकालको शुभकामना छ। तपाईले पार्टी र दललाई मिलाएर मुलुकको समस्या समाधान गर्न सफल हुनुहुनेछ भन्ने आशा लिएको छु र त्यसमा मेरो सधै साथ हुनेछ,’ पौडेलले भने। जवाफमा देउवाले पार्टीको आन्तिरिक प्रतिश्पर्धामा जे जस्तो नतिजा आएपनि आफूले पार्टी र दल सञ्चालनमा पौडेलसँग सधै सल्लाह गरेर अगाडि बढ्ने बताएका थिए।
Post a Comment