गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमिति सदस्य चयन गर्न सहमतिको प्रयास थालिएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलतर्फका ३÷३ जनाको टोली बनाएर सहमतिमै सदस्य टुंगो लगाउन बिहीबार साढे चारबजे बैठक बस्दैछ। देउवा तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशसरण महत र बालकृष्ण खाँड छन् भने पौडेल तर्फबाट आनन्द ढुंगाना, बद्री पाण्डे र जिवन परियार सदस्य छान्न बनेको प्रतिनिधि मण्डलमा छन्। संसदीय दलको कार्यालयमा अपरान्ह बैठक बसेर सहमति जुटाउने प्रयास गरिने बताइएको छ। आज शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भैसकेको छ। २२ पदकालागि ४२ जनाको उम्मेदवारी परेको छ। काँग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक–एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षणका १५ पदमा शुक्रबार निर्वाचन हुँदैछ। पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश नं १ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुङ्गेलले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै प्रदेश नं ४ बाट कमल प्रसाद पङ्गेनी र रामचन्द्र पोखरेल, प्रदेश नं ५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट र रीता शाही र प्रदेश नं ७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन्। समावेशीतर्फ आदिवासी–जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ। आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दर्ता गराएका छन्। खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भण्डारी र राजेन्द्र कुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र सारदा पौडेलले उम्मेदवारी दिएका छन् । मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविता कुमारी सरदारको उम्मेदवारी परेको छ। त्यस्तै थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिएका छन्। कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ।
Post a Comment