0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य मुमाराम खनालले राजनीतिक दलहरु प्रति जनताको अविश्वास बढ्दै गएकोले जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम नै गरेर देखाउन नयाँ शक्ति नेपाल बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउँदै गरेको बताएका छन् । नयाँ शक्ति नेपाल प्रदेश नम्बर ४ ले पोखरामा आयोजना गरेको बृहद् अन्तत्र्रिmयामा बोल्दै खनालले समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको पक्षमा आफूहरु दृढ रहेको पनि बताए । पटक–पटक भएका राजनीतिक आन्दोलनले जनतालाई राजनीतिक परिवर्तन दिएको भएपनि आर्थिक सम्बृद्धिको कुरामा कसैले ध्यान नदिएकोले पुराना दलहरुबाट जनता निरास बन्दै गएको उनको तर्क थियो । ०४६ साल अघिको राजनीतिक आन्दोलन, त्यसपछिको ०५२ को जनयुद्ध हुँदै ०६२÷०६३ को परिवर्तनले पनि जनतालाइ आर्थिक रुपमा सम्बृद्ध बनाउन नसकेको भन्दै खनालले अबको एजेण्डा आर्थिक रुपमा देशलाई सम्बृद्धिको दिशामा अगाडि बढाउने खालको हुनुपर्नेमा जोड दिए । उनले ०४६ अघि पनि दलहरुले हिंसात्मक र शान्तिपूर्ण आन्दोलन गरेको भन्दै झापा बिद्रोह वा काँग्रेसको शसस्त्र संघर्षले भन्दा २०५२ सालमा शुरु भएको जनयुद्धले जनतालाई सचेत बनाएको र धेरै कुरामा परिवर्तनको अनुभूति दिएको बताए । उनले नयाँ शक्तिले आर्थिक सामाजिक मुद्धालाई लिएर जनताको आधारभूत आवश्यकता पुरागर्ने खालको सम्बृद्धिको खाका ल्याउने समेत बताए । पूर्व अर्थ सचिव तथा नयाँ शक्तिका सचिवालय सदस्य रामेश्वर खनालले दलहरुले सम्बृद्धि र परिवर्तनको मुद्धा उठाएपनि त्यसलाई कार्यान्वयन गर्न नसकेकोले नयाँ शक्तिको आवश्यकता देखिएको बताए । उनले राज्यको सुविधा लिएर वा विपन्न नागरिकले तिरेको करमा रजाई गरेर परिवर्तनको मुद्धा उठाउन सम्भव नहुने भन्दै समस्यासँग जुध्न आफूले राज्यको निकायको जिम्मेवारी छाडेर राजनीतिमा लागेको बताए । उनले राजनीतिक परिवर्तन गर्न  कर्मचारी भएर सम्भव नहुने भन्दै सेना वा कर्मचारीले शासन गरेर सम्बृद्धि र विकास सम्भव हुनेभए बर्मा र पाकिस्तान किन पछाडि पर्थे भन्ने प्रश्न गरे । अर्का सचिवालय सदस्य डा.शुरेन्द्र चौधरीले पुराना पार्टीमा लागेर परिवर्तनको अपेक्षा गर्नु मुर्खता हुने भन्दै आफू काँग्रेसको समर्थक छाडेर नयाँ शक्तिमा लागेको बताए । उनले विगतमा राजनीतिक दलहरुले भने जस्तो घरबार त्यागेर नयाँ शक्तिमा राजनिति नगर्न सुझाव दिँदै राजनीति गरेको छु भनेर समाज र राष्ट्रलाई ठगी गर्नेहरुबाट सचेत हुन आग्रह गरे । नयाँ शक्तिमा राजनीति गर्ने हो भने कुनै न कुनै आय आर्जनको काम गरेर मात्रै बाँकी रहेको समय दिन उनले सुझाव दिए । पुरानो राजनीतिक संस्कार बदल्न नयाँ शक्तिले देशब्यापी अन्तरक्रिया गरेर जनताको सुझाब लिएको उनको भनाई थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले जनतासँग गरेको बाचा पुरा नगरेका कारण जनताहरु आफ्नै दलको सरकारसँग पनि विश्वास नगर्ने अवस्थामा पुगेको बताए । पार्टीमा लागेर छिटो राजनीतिक लाभ खोज्नेहरुले जस्तोसुकै राम्रो कुरा गरेपनि विकास र सम्बृद्धि दिन नसक्ने भन्दै मुल्मीले जनतालाई विश्वास हुनेगरी आर्थिक सम्बृद्धिको मुद्धा अगाडि बढाउन नयाँ शक्तिलाई सुझाव दिए । राजनीतिक दलहरु सकारात्मक सोंचका साथ रुपान्तरित भएर अघि नबढ्ने हो भने नयाँ शक्तिको आवश्यकता जनताले गर्ने उनको भनाई थियो । नायिका करिष्मा मानन्धरले नयाँ शक्तिले देशलाई सम्बृद्ध बनाउने सपना होईन काम नै शुरु गरेको भन्दै सकारात्मक कामलाई साथ दिनु आफ्नो कर्तब्य संझेर अगाडि बढेको बताईन । उनले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईमा देश सम्बृद्ध बनाउन सक्ने भिजन भएर नै उहाँलाई धेरैले साथ दिएको भन्दै आफूहरु पनि देश निर्माणको मुद्धामा सेलिबे्रटी मात्रै बनेर बस्न नसक्ने भएकोले नयाँ शक्तिको अभियानमा लागेको बताईन । कार्यक्रममा प्रदेश नम्बर ४ का संयोजक देबेन्द्र पराजुली र कास्कीका संयोजक हेमबहादुर थापाले पनि धारणा राखेका थिए ।









Post a Comment

 
Top