अघिल्ला वर्षमा जस्तै फेरि एकपटक स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । त्रिविलगायत विश्वविद्यालय मा हरेक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन नभएको झन्डै ८ वर्ष पुग्न लागेको छ । चुनावको मिति पटक–पटक घोषणा हुने तर हुन नसकेको विगतको चक्रले धेरैलाई यसपटक पनि झस्काइरहेको छ । मिति घोषणा भएको तर चुनाव नभएको पृष्ठभूमिमा धेरैको कार्यक्षमतामाथि आज पनि प्रश्न उब्जिएकै छ । प्रश्न केवल व्यक्तिहरूको कार्यक्षमतामाथि मात्र उठेको छैन, विद्यार्थी आन्दोलनको भविष्य र सिंगो संस्थामाथि समेत उब्जिएको छ । यसकारण यतिबेला विश्वविद्यालय पदाधिकारीहरू, विद्यार्थी संगठनहरू र नेपाल सरकार विद्यार्थी अदालतको कठघरामा छन् । चुनाव हुन नसक्दा सबैका प्रश्न अनेकौँ जोड र कोणबाट यिनीहरूप्रति अनगिन्ती रुपले सोझिएका छन् । पञ्चायती कालमा विद्यार्थी आवाजलाई शक्तिशाली बनाउन बलिदानको जगमा खोलिएको गौरवशाली संस्था गणतन्त्रकालमा किन यसरी महत्वहीन बन्दै छ ? के अब स्ववियुको उपादेयता सकिएको हो ? विद्यार्थी संगठनहरू स्वयं निर्वाचन चाहँदैनन् किन ? विद्यार्थी संगठनहरूले मात्र नचाहेका हुन् कि माउ पार्टीहरू समेत यसमा संलग्न छन् ? निर्दलीय तथा राजाको शिखण्डी सरकार भएको समयमा नियमित भएको निर्वाचन जननिर्वाचित सरकारको पालामा किन नियमित हुन सकिरहेको छैन ? यस्ता अनेकौँ सवाल हजारौँ विद्यार्थीका मनमा गहिरो गरी विजारोपण भएका छन्, जसको जवाफ यथाशीघ्र दिन जरुरी छ ।
कमजोर इच्छाशक्तिको विद्यार्थी नेतृत्व
अग्रजहरूको बलिदानीपूर्ण संघर्षबाट स्थापित स्ववियुलाई जसरी पनि जीवित राख्ने इच्छाशक्ति विद्यार्थी संगठनहरूको नेतृत्वसँग हुन नसक्नु स्ववियु निर्वाचन नहुनुको मूल कारण हो । पार्टीहरूमा आएका विभाजनसँगै विद्यार्थी संगठनहरू पटक–पटक विभाजन हुनु, संगठनभित्र अस्वस्थ गुटबन्दी हुर्कंदै जानु, संगठनको आन्तरिक अव्यवस्थापनको कारण परिणाम आफ्नो पक्षमा आउन नसक्ने देखेर चुनावलाई पर धकेल्ने रणनीति अपनाउनु, भरसक आफ्नो कार्यकालमा चुनाव हारेको कलंकको टीका लगाउन नपरे हुन्थ्यो भन्ने मनसाय बोकेर चुनावी वातावरण तयार पार्ने दायित्वबाट पूर्णरूपले अलगथलग बन्नु, कतिपय विद्यार्थी संगठनहरूले एक दशकसम्म पनि राष्ट्रिय महाधिवेशन गर्न नसक्नुले पनि निर्वाचन गराउन नचाहने पक्षलाई बल पुर्याइरहेको छ । आफैँभित्र रुमलिएको विद्यार्थी नेतृत्वसँग नैतिक दबाब सिर्जना गर्न सक्ने तागत नदेखिनुले पनि स्ववियु निर्वाचनलाई अनिश्चित बनाएको देखिन्छ । निर्वाचन विधि, उमेरहद, प्रणाली, समावेशी, क्षेत्र विशेषका समस्या जे–जस्ता शब्दको सिरानी हाले पनि कटु सत्य के हो भने जबसम्म विद्यार्थी संगठन हरूको नेतृत्व पूर्ण इच्छाशक्तिको साथ चुनाव गराउन तयार हुँदैन, तबसम्म चुनाव सम्भव देखिँदैन । ओठले चुवाव हुनुपर्छ भनिरहने, तर आफ्नो सांगठनिक बटमलाइन देखाएर सहमतिबाट बारम्बार पछाडि हट्ने नियति नै चुनाव हुन नदिने मूल पक्ष हो । जबसम्म यो नियतिलाई चुनौती दिने साहस, दूरदर्शिता र विशेष निर्णय क्षमता विद्यार्थी संगठनको नेतृत्वले प्रदर्शन गर्न सक्दैन, तबसम्म स्ववियु निर्वाचन अनिश्चितताको भुमरीबाट बाहिर निस्कन सक्दैन । यस्तै अवस्था अब केही समय रह्यो भने एउटा कुरा निश्चित छ, अब स्ववियु जोगिँदैन । विद्यार्थी संगठनहरूकै गैरजिम्मेवारीपनका कारण स्ववियुको अवसान भनेर इतिहास लेख्ने दिन छिटै आउने छ ।
दलीय भागबन्डा र फितलो कार्यान्वयन
गणतन्त्र प्राप्तिपछि विश्वविद्यालय मा भित्रिएको दलीय भागबन्डाले विश्वविद्यालयहरू क्रमशः धराशयी बन्दै गएका छन् । दलको कोटामा परेकाले विश्वविद्यालयको भन्दा सम्बन्धित दलप्रति बढी अनुग्रहित बनिदिँदा यस्तो अवस्था निम्तिएको छ । विश्वविद्यालय हरू नीति, नियमले निर्देश गरेअनुरूप चल्ने भन्दा पनि दलअनुकूलको निर्देशन पालना गर्ने परिपाटीका कारण स्वायत्तताको छवि गुमाउने दिशामा अग्रसर छन् । विश्वविद्यालयका जिम्मेवार व्यक्ति र निकाय कुनै दल विशेषका छाया बन्नु भनेको प्राज्ञिक सीमाहरू उल्लंघन हुनु हो । जब प्राज्ञिक सीमा उल्लंघन हुन्छ, तब विश्वविद्यालय नाम मात्रको बन्न पुग्छ । नेपालका सबै विश्वविद्यालय यो भागबन्डाका कारण थिलथिलो परेका छन् । सरकारको निर्देशन विश्वविद्यालयले बेवास्ता गर्ने, विश्वविद्यालय निर्णय गर्ने क्याम्पस प्रमुखहरू लागू नगर्ने, क्याम्पस प्रमुखहरू नीति बनाउन खोज्ने सहायक क्याम्पस प्रमुखहरू साथ नदिने, क्याम्पसले रुटिन बनाउने प्राध्यापकहरू ले कार्यान्वयन नगर्ने अवस्था दिन प्रतिदिन झांगिँदै जान थालेको छ । यसरी अटेरी विश्वविद्यालय तथा क्याम्पस, असहयोगी प्रमुखहरू र कक्षाबिनाका प्राध्यापक जन्माउने, हुर्काउने र संरक्षण दिने मूल जरो दलीय भागबन्डा नै हो । यसको उन्मूलनबिना न विश्वविद्यालय सप्रनेछन्, न त थिति नै बस्नेछ । विगतमा स्ववियु निर्वाचन गराउने निर्णय समेत यही गोलचक्करमा फसिन पुग्यो । विश्वविद्यालयको संरचना भित्रैबाट निर्णय कार्यान्वयनमा असहयोग हुँदा स्ववियु चुनावलगायत जस्तासुकै जरुरी महत्त्वका सवाल समेत कार्यान्वयन गर्न नसक्ने तहमा विश्वविद्यालय पुग्दछ । जतिसुकै सक्षम व्यक्ति आउँदा पनि दलको ट्याग लगाएर आउनुपर्ने बाध्यता, उसका राम्रा कदमलाई प्राज्ञिक आँखाबाट भन्दा पनि दल विशेषका आँखाबाट हेरिने परिपाटी, दृष्टिकोण र दृढ इच्छाशक्ति भएकाहरू समेत निरीह बन्नुपर्ने अवस्थाको अन्त्य गर्न अब ढिलाइ गर्नु हुँदैन । विश्वविद्यालय लाई साँच्चिकै प्राज्ञिक, मर्यादित, स्वायत्त र प्रभावकारी बनाउन दलीय दलदलबाट मुक्त गरेर निश्चित विधि स्थापित गर्दा मात्रै स्ववियु निर्वाचन पनि निश्चित, नियमित र स्वच्छ बन्न सक्छ ।
संस्थाको जगेर्ना रोज्ने कि ?
निर्वाचन केवल जित्नका लागि मात्रै हो, हार्नका लागि होइन भन्ने मनोवृत्ति विगतमा स्ववियु निर्वाचन स्थगनको अर्को कारण हो । जसले गर्दा चुनावलाई विधिको रुपमा बुझ्ने र यसलाई परिष्कृत बनाउन लाग्नेभन्दा पनि परिणाम केन्द्रित मानसिकता हाबी हुन खोजेको देखिन्छ, यो गम्भीर समस्या हो । स्ववियु स्थापनार्थ बलिदान गर्ने अग्रजहरूको योगदानप्रतिको घोर अपमान हो । विद्यार्थी आन्दोलन माथिको गम्भीर धोखाधडी हो । लाखौँ विद्यार्थीको आस्थाको धरोहरमाथिको धावा बोलाइ हो ।कलेज कलेजका हजारौँ विद्यार्थीको प्रत्यक्ष गला रेटाइ हो ।
विद्यार्थी संगठनको नाममा विद्यार्थी हकहित र अधिकारविरुद्ध रचिएका ‘कु’ हो । विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन स्ववियु खारेज गर्न चाहनेहरूको उद्देश्य पूर्तिका लागि एउटा खुड्किलो निर्माण हुनु हो । त्यसैले आफ्नो हार र जितलाई ठूलो नठानी निर्वाचन पक्षीय संगठनहरू चुनाव गराउन अग्रसर हुनुपर्दछ । दुई–चार क्याम्पसको जित र हारभन्दा पनि आन्दोलन र संस्था जोगाउने विषयलाई प्रधान ठान्नुको अब कुनै विकल्प छैन । युगिन उपलब्धिको रक्षार्थ एकाध क्याम्पसमा अल्झने संकुचित सोचाइ त्याग गर्ने साहस सबैले देखाउनैपर्दछ । परिणाम र निर्वाचनमध्ये निर्वाचन नरोज्दासम्म स्ववियु चुनाव हुनै सक्दैन । परिणाम मात्र हेरेर निर्वाचन धकेल्दै जाने हो भने स्ववियु निर्वाचन अनन्त कालसम्म नहुने निश्चित छ । यसो हुँदा कसले गर्ला त स्ववियुको जगेर्ना ?
स्ववियुको अपरिहार्यता झन् बढेको छ
पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो अब स्ववियु किन चाहियो ? आन्दोलन गर्ने मुद्दा सकियो, अब स्ववियु केका लागि ? स्ववियुहरू आफैँमा विकृतिका वाहक बने अझै कति विकृति थप्ने हो र ? विद्यार्थी संगठनहरू नै स्ववियु चुनाव चाहँदैनन् भने कसलाई चाहियो र स्ववियु ? आदि प्रश्नहरू उठाएर स्ववियुको सान्दर्भिकता सकिएको चर्चा चलाउन खोजेको पनि पाइन्छ । के स्ववियुको स्थापना कुनै व्यवस्था ढाल्नका लागि मात्रै भएको थियो त ? पक्कै होइन । के विद्यार्थीका मुद्दा सकिएका हुन् त ? हुँदै होइन । बदलिँदो परिवेशमा झन् धेरै मुद्दाहरू उठाउने दायित्व थपिएको छ । स्ववियुहरूलाई थप रचनात्मक र सिर्जनात्मक बनाउनुपर्नेछ । हिजो व्यवस्था परिवर्तनका निर्णायक शक्ति बनेका स्ववियुहरूको अब परिवर्तित व्यवस्था समृद्ध बनाउन सशक्त तवरले परिचालन आवश्यक छ ।
स्ववियुहरूमार्फत हरेक विद्यार्थीलाई देशको समृद्धिको यात्रामा सामेल गराउनैपर्दछ । सार्वजनिक शिक्षाको गुणस्तर दिन प्रतिदिन खस्किरहेको विद्यमान परिवेशमा यसको गुणस्तर वृद्धिको मुख्य अभियन्ता बनेर स्ववियुहरू परिचालित हुनु अहिलेको अपरिहार्यता बनेको छ । देशको सार्वजनिक शिक्षालाई विद्यार्थीको पहिलो रोजाइ बनाउने रोडम्याप तय गरी स्ववियुहरूको योजनाबद्ध परिचालन आवश्यक छ । विघटन होइन, नयाँ शिराबाट पुनर्गठन गरेर स्ववियुहरूको प्रभावकारिता अझ वृद्धि गर्नुपर्दछ । स्ववियुहरूलाई विद्यार्थीमैत्री, पारदर्शी र जवाफदेही बनाउँदै विगतका केही गलत अभ्यासहरूको चंगुलबाट मुक्त पार्न जरुरी छ । देश सञ्चालनका हर क्षमताहरूको उत्पादनको मूल थलो स्ववियुहरू बनाउन सक्दा मात्रै यसको सान्दर्भिकता पुष्टि हुनेछ । ‘विद्यार्थीहरू विद्रोहका बन्धुक मात्र होइनन्, सिर्जनाका संवाहक पनि हुन्’ भन्ने मान्यता चरितार्थ हुने गरी स्ववियुहरूलाई विद्यार्थीहरूका आस्था र विश्वासका वास्तविक धरोहरका रुपमा स्थापित गर्न जरुरी छ । निष्कर्षमा भन्न सकिन्छ, स्ववियु आजका कतिपय विद्यार्थी संगठनहरू नजन्मँदै जन्मिएको गौरवशाली संस्था हो । विद्यार्थीका हकहित र अधिकारको वकालत गर्ने साझा चौतारी स्ववियुलाई आफ्नो खल्तीको पैसा ठानेर जथाभावी खर्च गर्ने र नष्ट गर्ने अधिकार कुनै पनि विद्यार्थी संगठनलाई छैन ।
जसरी विद्यार्थीभन्दा शक्तिशाली कुनै विद्यार्थी संगठन हुन सक्दैन, त्यसैगरी स्ववियुभन्दा बढी महत्वको कुनै संगठन विशेषको अमुक एजेन्डा हुनै सक्दैन । एकाध संगठनका अमुक एजेन्डामा अल्झिएर स्ववियु समाप्त पार्ने खेलप्रति सबै मिलेर खबरदारी गरौँ । संस्थाको दीर्घ जीवनका लागि सानातिना स्वार्थ त्याग्ने आँट विद्यार्थी संगठनले प्रदर्शन गरौं । अग्रजहरूले ज्यानको बलिदान दिएर स्थापना गरेको स्ववियुलाई अहिले केही स्वार्थहरूको बलिदान आवश्यक परेको छ । स्वार्थहरू त्यागेर स्ववियु निर्वाचन यथाशीध्र घोषणा गर्न अब ढिलाइ नगरौं ।
(आचार्य अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष हुन् ।)
Post a Comment