0
गोल्डेन न्यूज संवाददाता
कास्कीको सिल्दुजुरे गाउँ विकास समितिमा टुक्रे योजनको अन्त्य भएको छ । साना योजनाले दीर्घकालीन विकास हुन नसकेको गुनासो बढेपछि गाविसले एकलाख भन्दा सानो रकमको योजना छनौट नगरेको हो । आइतबार गाविसमा भएको सार्वजनिक सुनुवाईका क्रममा गाविस सचिव रामकृष्ण बास्तोलाले गाउँको विकासका लागि देखिने गरी योजना सञ्चालन गर्ने भन्दै साना योजनाको अन्त्य भएको घोषणा गरे । सरकारले गाविस तहमा धेरै रकम पठाईसक्यो, उनले भने–तर त्यो बजेटबाट खासै उपलब्धिमूलक काम भएको पाईएन, त्यसैले यो बर्षदेखि एकलाख भन्दा साना योजना हामीले छनौट गरेनौं  । कार्यक्रममा पत्रकार प्रकाश ढकालले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले गाविस तहमा लक्षित बर्गको बजेटबाट प्रभावकारी काम हुन नसकेको गुनासो गरे । सरकारले विपन्न र पछाडि पारिएका समुदायलाई विकासको मूलधारमा समाबेश गराउने उद्देश्यले यस्ता समुदायको क्षमता विकास र आर्थिक समृद्धिका लागि प्रतिशतका आधारमा बजेट ब्यवस्था गरेको छ । स्थानीय निकाय श्रोत परिचालन तथा ब्यवस्थापन कार्यविधिले महिलाको प्रत्यक्ष फाईदा पुग्नेगरी १० प्रतिशत, बालबालिका का लागि १० र अन्य लक्षित समूहका लागि १५ गरी कुल पूँजीगत बजेटको ३५ प्रतिशत बजेट ब्यवस्था गरिएको छ । तर यो बजेट नियमानुसार विनियोजन भएपनि उनीहरुले नै आर्थिक विकासको क्षेत्रमा बजेट लगानी गर्न नसकेका हुन् । स्थानीय महारुद्र माविका प्रधानध्यापक गंगाधर बरालले गाविसबाट प्रतिशतका आधारमा बजेट दिईएको भएपनि उपलब्धि मुलक ठाउँमा खर्च नभएको बताए । लक्षित बजेटहरु भवन र तालिममा मात्रै खर्च भएको छ, उनले भने–पटक पटक तालिम लिएर पनि कुनै प्रगती हासिल हुन सकेको छैन । उनका अनुसार सीप विकास र आर्थिक उपार्जनको क्षेत्रमा रकम लगानी हुन सकेको छैन । स्थानीय गोपाल सापकोटाले पनि लक्षित बर्ग बजेट दीर्घकालीन हुने आयोजनामा प्रयोग हुन नसकेको बताए । सशक्तीकरणका नाममा थुप्रै तालिम र गोष्ठी भएका छन्, उनले भने–तर एउटा निवेदन लेख्न पनि शिक्षक खोज्दै हिड्नुपर्ने बाध्यता छ, यस्तो कार्यक्रमले के परिबर्तन हुनु ? सिल्दुजुरे गाउँ विकास समितिको चालू बर्षको दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले आय–आर्जनका योजनाहरु छनौट गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिए । हरेक समूहका लागि आउने बजेट भागबण्डा सोचेर जथाभावी प्रयोग गरिएको छ, उनीहरुले भने–कि प्रतिशत रकम हटाउनुपर्छ होइन भने उपलब्धी हुने ठाउँमा लगानी गरिनुपर्छ । गाविस सचिव बास्तोलाले पनि यसलाई हटाउनका लागि आगामी बर्षदेखि आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । अहिलेपनि खासै विग्रिएको त छैन, उनले भने–तर अपेक्षाकृत हुन सकेको छैन, अर्को बर्षदेखि बृहत छलफलबाट आम्दानीमूलक काममा बजेट विनियोजन गर्नेछौं । गाविसमा भैरहेका विकास गतिविधि र सेवाको बिषयमा सेवाग्राही नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमका अन्य सहभागीले टुक्रे आयोजनाले दीर्घकालीन विकास हुन नसकेको, भूकम्प पीडित नागरिकले राहात पाउन नसकेको, गाविसले कृषिलाई प्राथमिकता दिन नसकेको जस्ता गुनासो गरे । जवाफमा सचिव रामकृष्ण बाँस्तोलाले कृषिमा गाविसले १५ प्रतिशत रकम छुट्याएर कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । यस्तै भूकम्प पीडितको राहत वितरणका लागि सरकारबाट कुनै ब्यवस्था नभएकाले केही गर्न नसकिएको बताए । कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले पनि गाउँको दीर्घकालीन विकासका लागि सकारात्मक सुझाव दिने प्रतिबद्धता जनाए । गाविसमा दुईवटा हाइड्रोपावर निर्माण भैरहेको भन्दै उनीहरुले यसबाट गाविसलाई लोडसेडिङ मुक्त बनाउन पहल गर्ने बताए । जिल्ला विकास समितिमा राजनीतिक दलबाट प्रतिनिधीत्व गर्ने लाल बहादुर गुरुङले विस्तारै जिविसले पनि गाउँ र इलाका स्तरबाट आएका योजनालाई प्राथमिकता दिन थालेको बताए ।


Post a Comment

 
Top