0
नयाँ वर्ष २०७३ को पूर्वसन्ध्यामा सडक दुर्घटनाले नेपाली मनहरुलाई नराम्रोसँग दुखाएको छ । २०७२ सालको अन्तिम दिन अर्थात् चैत ३० गते खोटाङको दिक्तेलबाट काठमाडौँ आउन लागेको यात्रुवाहक बस दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भयो । साँघुरो सडकमा राखिएको ढुङ्गा छलेर डिलबाट पार गर्नेक्रममा भएको दुर्घटनामा बस परेको थियो । दुर्घटनामा ३१ जना घाइते हुन पुगेका थिए । सो दुर्घटनाले खोटाङ जिल्ला शोकमा डुबेको छ । २०७२ साललाई बिदाइ गर्न लाग्दा भएको कहालीलाग्दो दुर्घटनाले सबैलाई झस्काएको छ । सोही दिन साँझ डोटीमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भयो । यस्तै, नवलपरासीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको खबर सञ्चारमाध्यममा आए । सडक दुर्घटनामा परेर जीवन गुमाउनेका परिवार तथा दुर्घटनामा अङ्गभङ्ग भई उपचार गराइरहेका घाइतेहरुको अवस्था हेर्ने हो भने पहाडी सडक ज्यानमारा बन्दै गइरहेको अनुभूति जो कसैले पनि गर्न सक्छ । उपरोक्त दुई प्रतिनिधि घटनाले नेपालको पहाडी सडकको त्रासदीपूर्ण चित्रण गरेको छ । सडक नहुँदा यातायातको सुविधाबाट वञ्चित हुनुपरे पनि धेरैको ज्यान जोगिएको थियो । त्यतिमात्रै होइनस धूलो, धूवाँ र कोलाहलबाट पनि मानिसहरु मुक्त थिए । पछिल्लो समय पहाड खनेर गाउँगाउँमा सडक पु¥याउने होडबाजी नै चल्यो । पहिलो पटक गाउँमा गाडी पुग्दा फूलमालाले स्वागत गरिएका थिए । गाउँगाउँमा सडक विस्तार भएपछि दुर्गम क्षेत्र पनि देशभर परिचित बने । विकास भनेकै पहाडका गाउँ–गाउँसम्म सडक विस्तार गर्नु हो भन्ने बुझियो । हरियाली डाँडा खोस्रेर सडक निर्माण भएसँगै दुर्घटना पनि बढेर गए । सडक बनाउने तर विस्तार र सुधारतर्फ ध्यान नदिने कारण नेपालका प्रायः सडक ज्यानमारा सावित हुँदै गएका छन् । मुख्य राजमार्ग नै मर्मत–सम्भार हुन नसकिरहेको अवस्थामा पहाडी सडकको स्थिति नाजुक हुनु अस्वाभाविक होइन । सरकारले गाउँगाउँमा गाडी पु¥याउने काम त ग¥यो, तर यात्रुको सुरक्षित यात्राका बारेमा ध्यान दिन सकेन । साँघुरो सडकमा जोखिमपूर्ण तरिकाबाट गाडी कुदिरहेका छन् । कहाँ, कुन बेला, कस्तो दुर्घटना पर्ने हो भन्ने त्रासबीच गाडी सञ्चालन भइरहेको छ । नेपालमा सडकको स्तर र क्षमताभन्दा धेरै गुना सवारी साधनहरु गुडिरहेका छन् । सिटको क्षमताअनुसार गाडी चलाउनुपर्छ भन्ने ज्ञान सबैलाई छ । तर, बसको छतमा समेत यात्रु राख्ने गरिएको छ । ४२ जनाको क्षमता भएको बसमा एक सय जनासम्म कोच्ने प्रवृत्ति यातायात क्षेत्रमा छ । पहाडी क्षेत्रमा सीमित मात्रामा गाडी चल्ने गरेका कारण यात्रुहरुको भीड स्वाभाविक रुपमै बढ्ने गर्दछ । चालक तथा व्यवसायीले धेरै कमाउन खोज्दा धेरैको जीवन नै समाप्त हुने गरेको छ । दुर्घटनालाई कसैले रोकेर रोक्न सकिँदैन, तर धेरै हदसम्म नियन्त्रण गर्नचाहिँ सकिन्छ । यसका लागि ज्यानमारा सडकहरुको अविलम्ब स्तरोन्नति गरिनुपर्छ । जनताको जीवनसँग जोडिने भएकाले पहाडी सडकलाई मर्मत–सम्भार गरी जोखिममुक्त बनाउनु आवश्यक छ । गाउँगाउँमा सडक पु¥याउनु ठूलो कुरा होइन । तर, निर्माण गरिएका सडकको बेलाबेलामा मर्मत तथा सुधार हुन सकेमात्रै सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । पहाडी सडकमा प्रायः थोत्रा बस चल्छन् । यस्ता सवारीसाधनका कारण पनि दुर्घटना बढ्ने गरेको पाइएको छ । खोटाङ र डोटीमा भएको दुर्घटनाबाट पाठ सिकेर सबैले सावधानी अपनाउनु जरूरी छ ।



Post a Comment

 
Top