0
२०६४ पुस ३ गतेको बिहान अरु दिनभन्दा चाँडै आँखा खुले । स्वाभाविकै पनि हो–त्यो बिहान शायद मेरै लागि उदाएको हुन सक्थ्यो । मैले वर्षौंदेखि नांगो आँखाले देखेको सपना विपना हुन सक्थ्यो । अथाह उत्साह र अथाय भयले मन कैयन् दिनदेखि उम्लिएको थियो । र, त्यो बिहान उज्यालो दिनको संकेत लिएर आयो ।राजधानीसँगैको जिल्ला भए पनि कलंकी नकटी हाम्रो धादिङ कसैले देख्दैन । त्यसैले–अरुजस्तै मेरो पनि राष्ट्रिय पत्रपत्रिकामा नाम छपाउनु, रेडियोमा गीत घन्किनु र टेलिभिजनमा अनुहार देखाउन पाउनु सपना नै थियो । यो सपना पालेर म २ दशक बाँचे । यीमध्ये एउटा क्षेत्रमा मात्रै सफल हुन मसँग लगानी थिएन, चिनजान थिएन । यही सपनाले मलाई थुप्रै राष्ट्रिय गायन प्रतियोगितासम्म डोर्यायो । तर, म सफल भइनँ । सधैं असफलतामात्रै पनि त हुन्न जीवनमा । त्यो दिन पनि आयो । म डोरेमी संगीत पाठशालामा कक्षा लिइरहेको थिएँ । त्यतिबेला ‘इन्डियन आयडल’को चर्चा भारतमा मात्रै होइन, भारतभाषी बसेका हरेक मुलुकमा थियो । नेपाल पनि अछुतो थिएन । त्यसकै प्रभावले हुन सक्छ–नेपालमा पनि त्यस्तै ‘मेगा’ इभेन्ट सुरु भयो–‘नेपाली तारा’ ! यसले संगीतको दुनियामा आउन आतुर मजस्ता धेरैको ध्यान तान्यो । अरुजस्तै म पनि बसें अडिसनको लाइनमा । डोरेमीका गुरुहरु भानुभक्त ढकाल र ईश्वर मात्यको सिकाइले खारिएको आवाज र केही गर्छु भन्ने जोस बोकेर भिडेको देशकै चर्चित गायन प्रतियोगिताम सँगै गएका इन्स्टिच्युटका साथीहरुलाई पछि पार्दै टप १००, ४० हुँदै टप २० मा परें । टप २० प्रतियोगीलाई पाँचतारे होटलको ‘क्लोज क्याम्प’मा राख्ने भनियो । फुरुंग पर्दै जीवनमै पहिलो पटक पाँचतारे होटल छिरें । त्यस्तो भव्यता आजसम्म देखेको थिइनँ । हेरेको हेरै भएँ । थुप्रै कक्षाहरू चलाइए, थुप्रै अभ्यास भए । त्यो दिन पनि आयो, जब २० बाट १० छानिने भयौं । त्यही बेला मलाई रुघाले समात्यो । अर्को दिन सुटिङ थियो । तर, मैले हिम्मत हारिनँ । गएँ । टप १० मा छानिनुअघि ३ वटा गीत गाउनुप¥यो– लोक, आधुनिक र पप । कुमार सानु शैलीमा लोक र आधुनिक गीत राम्रै गाएँ । तर, तर जब पप गीत गाउने पालो आयो, जति भगवान् पुकारे पनि पार नलाग्ने गरी बिग्रियो । सबैले राम्रो गाए । मनमा कताकता लागिरह्यो– पप बिग्रिए पनि लोक र आधुनिक राम्रै गाएको छु, माफी पक्कै पाउनेछु । तर, नतिजा मेरो आशाभन्दा भयंकर त्रासद थियो । मेरो आँखावरिपरि अँध्यारो छायो । म प्रतियोगिताबाट बाहिरिएँ । सिधै घर जाने आँट आएन । बल्खु बस्ने दिदीको घरतिर लागेँ । २० वर्षे कलिलो मनमा निराशाभन्दा अरु केही बसेनन् । सारा संसार आफ्नो विरुद्ध उभिएजस्तो लाग्यो । जीवनमा त्योजति ठूलो चोट कहिल्यै बेहोरेको थिइनँ । ४ वर्षअघि बुवा बित्नुहुँदा पनि मनलाई जसोतसो सम्झाएको थिएँ । यसपालि सकिनँ । हरेश खाएँ । त्यसपछिका केही महिना केही गर्ने जाँगर भएन । एक पाइला हिँड्दा पनि निर्रथक जस्तो लाग्थ्यो । खाना खाँदा पनि मनमा बोझ हुन्थ्यो । तर, एउटामात्र दुस्खले जीवन सकिँदैन । समय लाग्ला–यसले आफ्नो लय पक्कै समाउँछ । म पनि लयमा फर्किएँ । हरेश खाइसकेको मनले फेरि जीवन देख्न थाल्यो । भोकल क्लासलाई निरन्तरता दिएँ । मेरो कक्षामात्रै नभई सारा स्कुलले नै मबाट आशा राखेको थियो । म प्रतियोगिताबाट बाहिरिएपछि सबैको मुहारबाट फुंग लाली उडेको थियो । जीवन त चली नै रहन्छ । सबैले बिर्सिँदै गए । फेरि प्रतियोगिताहरूमा भाग लिने क्रम चल्यो । कहिले हार्दै, कहिले जित्दै गएँ । जसोतसो २ वर्ष बाँचें ! र, फेरि आयो ‘नेपाली तारा’ ! दोस्रो सिजनका लागि अडिसनको स्थान सार्वजनिक भएको समाचारले मनमा सुनामी ल्यायो । सुनामीसँगै मनका अनेक सपना ज्वारभाटाझैं उदाए । तर, पहिलो पटकको पराजयपछि मनमा उत्साह मरिसकेझैं थियो । सोचें–अब अडिसन दिन्नँ । फेरि पराजय भोग्नु छैन मलाई । अडिसनको अन्तिम दिन मित्र धर्मेन्द्र सेवान र गुरु भानुभक्त ढकालले भन्नुभो,–मान्छे पराजयबाटै माथि उठ्छ । विजय–पराजय त जीवनको नटुंगिने खेल हो । तिमी हरेश नखाऊ, अडिसन देऊ । मनले नमाने पनि उहाँहरूको वचन राख्न मैले अडिसनको लाइनमा जिउ ठड्याएँ । पहिले पनि सहभागी भएको नाताले लाइन नबसी अडिसन दिन पाइएला भन्ने आशा थियो । तर, अरुजस्तै म पनि घाममा सेकिएर लाइन बसें । अडिसन दिएँ । छनोट भएँ पनि । उत्साहले फेरि प्वाँख हाल्यो ! २००, १००, ४० गर्दै फेरि टप २० सम्म छानिएँ । यसपटक ‘क्लोज क्याम्प’का लागि नगरकोट लगियो । पहिलेको गल्ती नदोहोरियोस् भनेर सचेत थिएँ । भाग्यवश एक हप्ताको ‘क्लोज क्याम्प’मा रुघा लागेन । टप १० छनोटको सुटिङ तयारीमा लागें । यसपटक प्रतियोगितामा भाग लिएको कुरा मैले घरमै पनि थाहा दिएको थिइनँ । म फेरि पराजित भएँ भने घरमा मभन्दा बढी छटपटी र निराशाको घर ठडिन्थ्यो । तर, मान्छेको निधारमा सधैं पराजय र असफलतामात्रै लेखिएको हुन्न । मेरो निधारमा पनि लेखिएको थिएन । म टप १० मा छानिएँ । शायद पहिलाको अनुभवले सघायो, या मैले राम्रो गरें ! गाउँमा दसैंझैं उल्लास छायो । घरपरिवार, साथीभाइले खुसीले नाचे । टप १० को एल्बमका लागि सबैको स्वरमा एक–एक वटा गीत रेकर्ड भए । अनि लाग्यौं ‘टप १० अल नेपाल कन्सर्ट टुर’ तिर ! नेपालका प्रमुख सहरहरूमा गरिएको कन्सर्टले सबैमा स्फूर्ति जगायो । हामी टेलिभिजनको पर्दाबाट वास्तविक संसारमा आएका थियौं । सम्पूर्ण दर्शकले अत्यन्त माया दर्साउनुभयो । त्यतिबेलै हो, जीवनमै पहिलोपटक अटोग्राफ दिएँ । सबै बिर्सिउँला तर यी क्षण मेरो मानसपटलबाट कहिल्यै ओझेल पर्नेछैनन् । देशभरि कन्सर्ट सकेर फर्किएपछि बल्ल आभास भयो–वास्तविक परीक्षा त अब सुरु हुन्छ । आजसम्म त निर्णायकलाई मात्र रिझाए पुग्थ्यो, अब त दर्शकलाई पनि रिझाउने गीत गाउनुपर्थ्यो । त्यही अघि बढ्थ्यो, जसले निर्णायकका साथै दर्शकको भोट पाउँथ्यो । टप १० बाट हरेक हप्ता एक(एक जना बाहिरने क्रम सुरु भयो । कतिपटक म पनि ‘बटम ३’ (डेन्जर जोन) मा पनि उभिएँ । त्यतिबेला मुटुमा भयंकर ठूलो बुल्डोजर कुदेझैं हुन्थ्यो । नसामा रगत यसरी बग्थ्यो मानौं वर्खामा त्रिशूली उर्लिएको छ । हरेकजसो परीक्षाका खुड्किला उक्लिँदै गएँ । र, पुगें टप २ मा । देशैभरि भोटिङको लहर थियो । प्रतिस्पर्धी साथीको जस्तै मेरो जिल्लामा पनि भोटिङको चहलपहल बाक्लिएको थियो । मेरो गाउँको क्लबले जिल्लाव्यापी प्रचार र भोटिङ अभियान चलायो । दाइ सञ्जय लामा हरेक पटकको एलिमिनेसनका बेला सुटिङ सेटअघि हात जोडेर प्रार्थना गरिरहेको हुन्थ्यो । सपना एक कदम मात्र पर थियो । तर, डर र व्याकुलता सगरमाथाभन्दा अग्लो थियो । प्रतिस्पर्धी साथी तारा लक्सम पूर्व झापाको, त्यसमाथि लिम्बू । सुन्थें–उनका लागि पूर्वमा चोक–चोकमा बुथ राखेर भोटिङ भइरहेको छ । त्यतिमात्रै नभई काठमान्डूका पनि ठाउँ–ठाउँमा माइकिङ भइरहेको छ । यस्ता खबर सुन्दा मन त्यसै बटारिन्थ्यो । अर्को मनले पनि सोच्थें– जसले जिते पनि संगीतको जित हुन्छ । मैले हारे पनि कोही क्षमतावानले जित्छ । जितोस् । यही उत्साहले लागें कुपन्डोलस्थित स्टुडियो ४, अनि त्यहाँबाट प्रज्ञा प्रतिष्ठान, जहाँ अन्तिम प्रतिस्पर्धा हुँदैथ्यो । यो कार्यक्रम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दै थियो । बिस्तारै हल भरियो र कार्यक्रम सुरु भयो । हलमा मभन्दा ताराको पक्षामा हुटिङ धेरै थियो । शायद ताराका शुभचिन्तक धेरै उपस्थित थिए । मनको डरलाई मुहारमा नल्याई अन्तिम पटक तीन पुस्ताले सुन्ने गरी गाएँ । नतिजा उद्घोष गर्न हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई बोलाइयो । अब भने मुटु बाहिरै आउँछ कि जस्तो भयो । त्यसमाथि उहाँहरूले हामीलाई अत्याउन थाल्लुभो । धन्न ढलिनँ । त्यो क्षण पनि आयो, जब उहाँहरूले विजेताको घोषणा गर्नुभयो । त्यो नाम मेरो थियो । आँखैअघि झिलिमिली बत्ती बलिरहेका थिए र पनि मैले अँध्यारोबाहेक केही देखिनँ । हलभरिका मान्छे चिच्याएर सिंगो ब्रह्माण्ड उचालेझैं गरिरहेका थिए र पनि मैले केही सुनिनँ । सुखको अनुभूति त यस्तो पो हुँदोरहेछ–  सास रोकिएजस्तो, इन्द्रियहरू ठप्प भएजस्तो । आमा, दाइ, दिदी सबै हलमा हुनुहुन्थ्यो र पनि उहाँहरूको आँखाबाट झरेको खुसीको आँसु देख्न पाइनँ ! जीवनको अर्को मोड ः प्रतियोगिता जितेपछि अन्तर्वार्ताले भ्याइनभ्याइ भयो । केही महिनासम्म मान थाप्नै सकस भयो । अनि ‘नेपाली तारा’कै कार्यक्रमअनुसार म र उपविजेता तारालाई इंग्ल्यान्ड लगियो । त्यतिबेला म जीवनमै पहिलो पटक विमान चढ्दै थिएँ । एअरपोर्ट छिरेदेखिका हरेक दृश्य मेरा लागि नौला थिए । यी सबैले मलाई रोमाञ्चित बनाए । पहिलो पटक विमान चढें, त्यो पनि बोइङ । विमानभित्र त्यत्रो ठाउँ देखेरै दंग परेँ । विमान उडेपछि एयर होस्टेसले सिटअघिको स्क्रिनदेखि हरेक कुरा सिकाइन् । कतार ट्रान्जिटपछि सिधै हिथ्रो विमानस्थल लगेर झारिदियो । अनि सुरु भयो बेलायत यात्रा । विदेशमा त्यति धेरै नेपालीले हामीलाई दर्साएको माया देखेर म म भावविह्वल भएँ । ५ वटा कार्यक्रम कति छिटो सकिए, पत्तै पाइनँ । २१ दिनको बसाइ कति चाँडो टुंगियो, थाहै पाइनँ । नेपाल फर्केको महिनौँसम्म पनि बेलायतमा देखेका कुराको वर्णन गरेर थाकिनँ । त्यस्को केही समयपछि कार्यक्रमकै सिलसिलामा हङकङ गएँ । त्यहाँबाट फर्केर देशभित्रै धेरै कार्यक्रम गरेँ । बिस्तारै लाग्न थाल्यो–अब घुमेरमात्रै हुन्न, आफ्नै गीत गाउनुपर्छ । त्यतिन्जेल म अरुकै गीत गाउँथें । त्यसमा ‘टप १०’ को आफ्नो एउटामात्रै गीत थियो । नेपाली तारा’कै पुरस्कारस्वरूप आफ्नो छुट्टै एल्बम निकाल्ने तयारी सुरु भयो । तर, तयारी यति लामो भइदियो कि हरेक मान्छेका प्रश्नबाट म थाकिसकेको थिएँ । भेट्नेजति, फोन गर्नेजति सबैले सोध्थे– खै एल्बम ? कहिले आउँछ ? – इन्डियन आइडलको कत्रो सान छ, ‘नेपाली तारा’को पारा के हो ? यी र यस्तै वचनवाणले मलाई भित्रैसम्म पोल्थे । म लगभग टुक्रिसकेको थिएँ । सामान्य बनेर हिँड्न नसकिने, सबैले चिन्ने ! ‘स्टारडम’ कायम राख्नैपर्ने, गरौं भने नपुग्ने । केही रेकर्डिङका अफर नआएका पनि होइनन् । पाश्र्वगायनका लागि त्यतिबेलाका चर्चित संगीतकारले बोलाउनुभो, गएँ र गाएँ । रेकर्डिङ सकेर फर्किने बेला धन्यवादबाहेक केही पाइनँ । यही घटनाले मलाई भित्रैदेखि टुक्रायो । तर, निराशमात्रै भएर बसिनँ, सँगसँगै एल्बमको तयारी पनि गरिरहें । अन्ततः उपाधि जितेको ३ वर्षपछि मेरो एकल एल्बम सार्वजनिक भयो । त्यसयता जीवनमा खुसी हुने केही बहानाहरू थपिए । एल्बमको शीर्ष गीत ‘बटुवा’ सबैजसो महत्त्वपूर्ण अवार्डको नोमिनेसनमा पर्रुयो । अन्नपूर्ण म्युजिक अवार्ड त जितें पनि । ‘न्युकमर अफ दि इयर’को रुपमा त्यही वर्ष कृष्ण केसीको एकल एल्बम ‘मनभित्र’ बाट ‘कसले शुरुवात गर्रुयो होला यो माया भन्ने चिज’ले धेरैको मन जित्यो पनि । त्यसयता लगभग ४० हाराहारी फिल्ममा पार्श्वगायन गरें । तीन वटा एकल एल्बम निकालेँ । कैयौं कलेक्सन एल्बममा स्वर भरेँ । पछिल्लो वर्ष त नयाँ अनुभव पनि गरें । हुन त ‘सिंगिङ स्टार’ नामक रियालिटी सो होस्ट नगरेको होइन तर ‘नेपाली तारा’कै पछिल्लो सिजन होस्ट गर्दा जस्तो प्रतिक्रिया पाएँ, त्यो अमूल्य थियो । अहिले सोलोसँगै कलेक्सन एल्बमहरुमा पनि गाउँदै छु । पाश्र्वगायन पनि चलिरहेको छ । विदेशका कार्यक्रम पिन उत्तिकै गरिरहेको छु । जिन्दगी रमाइलो नै छ । मेरो सपनाको संसार साँच्चै सपनाजस्तै छ । देखुन्जेल रमाइलो हुन्छ तर बेला–बेला ऐंठन पनि पार्छ– सासै फेर्न गाह्रो हुने गरी !
स्रोत ः बाह्खरी डटकम















Post a Comment

 
Top