गोल्डेन न्यूज संवाददाता
पोखरामा नयाँ र पुरानो यातायात ब्यवसायीको द्वन्द पुन सुरु भएको छ । केहि समयअघि स्थानीय रुटमा सञ्चालन हुने बिन्ध्यवासिनी बसको विवाद समाधान भएपनि पुनः अर्को नयाँ समितिको नाममा विवाद सुरु भएको छ । झापामा प्रधान कार्यालय रहेको उज्यालो यातायातले पोखराबाट देशका विभिन्न स्थानमा बस सञ्चालन गर्ने गरी शाखा विस्तार गरेपछि विवाद उत्पन्न भएको हो । नयाँ समितिको वस पोखरा भित्रिएपछि पुराना व्यवसायीको अवरोध गर्न खोज्दा बिहान झडप भयो । उज्यालो यातायात कार्यालय जिरो किलोमिटर अगाडि भएको झडपमा दुवै तर्फका गरी सात जना घाईते भएका छन् ।
दुवै तर्फको ढुङ्गा हानाहानमा पृथ्बी राजमार्ग वस सञ्चालक समितिका पाँच र उज्यालो यातायातका दुई जना घाईते भएका हुन् । घाईते हुनेहरुमा पृथ्बी राजमार्ग बस सञ्चालक समितिका श्यामलाल श्रेष्ठ, रुद्र वहादुर थापा मगर, प्रकाश सिग्देल, पशुपति पौडेल र झलक कुँवर छन् । त्यस्तै उज्यालो यातायातको तर्फबाट नविन लामा र बिष्णु नेपाली घाईते भएका छन् । नयाँ समितिले पुराना व्यवसायीले बस तोडफोड गर्न आएकाले झडप भएको आरोप लगाएको छ । तर पृथ्बी राजमार्ग वस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले नयाँ समितिका मानिसहरुले आफ्नो समितिका साथीहरुलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको दावी गरेका छन् । ढुङ्गा प्रहार गर्ने तीन जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौं, बिराटनगर, सुनौली, धनगढी, काकरभिट्टा, नेपालगञ्ज , धरान र मुस्ताङ रुटमा सञ्चालन गर्ने गरी तत्काल १२ वटा सुविधायुक्त वस तयारी अबस्थामा रहेको उज्यालो यातायात समितिका सचिव केवल राम राईले जानकारी दिए । उनका अनुसार समितिमा ५४ वटा गाडी छन् । पूर्वको झापालाई केन्द्र बनाएर सञ्चालन गरिएको यातायात समिति अन्तर्गतका वस मोरङ, इलाम, पाँचथर, फिदिम, ताप्लेजुङ, धनगढी र काडमाडौं रुटमा सञ्चालन भैरहेको छ ।
बैशाख ९ गतेदेखि पोखरा काकरभिट्ट रुटमा बस सञ्चालन सुरु गर्नेगरी पोखरामा शाखा कार्यालय विस्तार गरिएको पोखरा स्थित शाखाका अध्यक्ष नल वहादुर गुरुङले जानकारी दिए । नयाँ समितिले प्रचलित भाडादरमा पाँच प्रतिशत छुट दिने जनाएको छ ।
नयाँ समितिले यातायात व्यवसायीको बीचमा आपसी विवाद र झडप हुनेगरी कुनैपनि कार्य नगर्ने र नयाँ समितिको कारण पुरानो समितिका मजदुर विस्थापित हुन परे त्यसको जिम्मेवारी आफुहरुले लिने प्रतिबद्धता जनाएको छ । फेवाताल संरक्षणका लागि प्रति टिकट एक रुपैयाँ पोखरा उप–महानगरपालिकालाई उपलब्ध गराउने नयाँ समितिले जनाएको छ । काकरभिट्टादेखि पोखरा हुदै बाग्लुङ सम्म रुट अनुमति प्राप्त गरेपनि गाडी सञ्चालन गर्न नपाएको राईले गुनासो गरे । समितिको मे १ ख २०९८ र मे १ ख २०९९ नम्बरको दुई वटा बसले गत फागुन ३० गते रुट अनुमति पाएको थियो । तर जिल्ला प्रशासन कार्यालय कास्कीमा फागुन ६ गते बसेको सर्वदलीय बैंठकले तत्काल नयाँ गाडी सञ्चालन नगर्ने निर्णय गरेपछि परेको रिटमा सर्वोच्चले चैत्र २३ गते बैंठकको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
यसैबीच वस सञ्चालनको विषयमा विवाद भएपछि पृथ्बी राजमार्ग बस सञ्चालक समिति अन्तर्गतका व्यवसायीले उज्यालो यातायात र नारायणी यातायातको वोर्डमा कालो मोसो दलेका छन् । पृथ्बीचोक स्थित वसपार्क नजिकै रहेको काउण्टरको वोर्डमा उनीहरुले कालो दलेका हुन् । उज्यालो यातायात समितिका मानिसहरुसँग विहान झडप भएपछि उनीहरुले दिउसो काउण्टरमा बोर्ड कालो दलेर मेटाइदिएका छन् ।
नारायणी यातायातसँग सहमति भैसकेको भएपनि उज्यालोको वोर्ड मेटाउन गएका आक्रोसित व्यवसायीले नारायणीको बोर्ड समेत मेटाउने प्रयास गरेका हुन् । पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले नारायणी यातायातसँग सहमति भैसकेको र कुनै विवाद नरहेपनि आक्रोसले व्यवसायीले वोर्ड मेटाएको बताए । उनले उज्यालो यातायात पृथ्बी राजमार्गसँग सहकार्य गरी सञ्चालन हुन सक्ने समेत बताए ।
Post a Comment