0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ नगरपालिकाले तोकिएको सडक मापदण्डलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता जनाएको छ । वडानम्बर १७ भरतपोखरीमा आइतबार भएको सार्वजनिक सनुवाई कार्यक्रममा नागरिकहरुले उठाएका प्रश्नको जवाफ दिँदै कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले नगरपालिकाको तर्फबाट यो प्रतिवद्धता जनाएका हुन् । उनले  बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्डलाई कार्यान्वयन गर्न आफू बाध्य रहेको पनि बताए । लेखनाथ नगरपालिकाको आयोजना तथा रेडियो तरङ्गको सहजीकरण र व्यवस्थापनमा भएको सार्वजनिक सनुवाई कार्यक्रममा नगरपालिकाले सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने, सेती नदी घाटको संरक्षण तथा व्यवस्थित रुपमा ढुंगा, बालुवा निकाल्नको लागि जिल्ला विकास समितिसँग समन्वय गर्ने, भरतपोखरीमा पर्ने वडा नम्बर १६, १७ र १८ लाई कृषि क्षेत्रको रुपमा विकास गर्ने, सबै वडामा वडा कार्यालयहरु स्थापना गरि आवश्यक फर्निचरसँगै कम्युटर र इन्टरनेटको व्यवस्था मिलाउने, र नगरक्षेत्रका सार्वजनिक जग्गाहरु संरक्षणको पहल गर्ने प्रतिवद्धता पनि सार्वजनिक सुनुवाईमा गरिएको छ । कार्यक्रममा सहभागीहरुले कर्मचारीको खाजा खाने समयका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको, सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गरिदाँ भर्खरै लेखनाथमा गाँभिएको भरतपोखरी क्षेत्रका नागरिकहरुलाई समस्या भएको, अधिकांश कृषि भूमि रहेको भरतपोखरीमा कृषिका लागि खासै काम हुन नसकेको लगायतका गुनासो गरेका थिए । गुनासो सुनुवाई गर्दै लेखनाथ नगरपालिकाले कर्मचारीको समय पालनामा ध्यान दिने, खाजा खाने समय तोक्ने र नागरिकहरुको काम नरोकिने व्यवस्था मिलाउने, सामाजिक सुरक्षा भत्ता र वृद्ध भत्ता तालचोकबाट मात्र नभैकन वडा नम्बर १७ मा रहेको बैकबाट पनि वितरण गर्ने व्यवस्था मिलाउने आश्वासन नागरिकहरुलाई दिएको छ । नागरिकहरुले उठाएको प्रश्नको नगरपालिकाको तर्फबाट कानुन अधिकृत राममणि अधिकारी, इन्जिनियर रवीचन्द्र घिमिरे, सामुदायिक विकास शाखाका प्रमुख मीना भण्डारी लगायतले जवाफ दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि भण्डारी, एमालेका नगर अध्यक्ष शंकर पौडेल, एकिकृत नेकपा माओवादीका नगर संयोजक पुष्पकमल दुंगाना, राप्रपाका हेमबहादुर हमाल, साविकको भरतपोखरी गाविसका पूर्व अध्यक्ष यज्ञबहादुर अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले पनि मन्तब्य दिँदै लेखनाथको विकासमा सबै राजनीतिक दलहरुको बीचमा समन्वय र सहकार्य भैरहेको बताए । त्यस अवसरमा अघिल्लो नगरपालिकाको अधिल्लो सार्वजनिक सुनुवाई कार्यक्रममा गठन भएको नागरिक निगरानी समूहले पनि नगरपालिकाले सार्वजनिक रुपमा प्रतिवद्धता जनाएका विषयमा कत्तिको सुनुवाई गरेको छ भन्ने बारेमा प्रतिवेदन प्रस्तुत गरेको थियो । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको स्वागत कानुन अधिकृत राममणि अधिकारीले गरेका थिए भने रेडियो तरङ्गका प्रबन्ध निर्देशक हिमनिधि लौडारीले सहजिकरण र कार्यक्रमको संचालन रेडियोकी स्टेशन प्रमुख रवीना आलेले गरेकी थिईन् ।






Post a Comment

 
Top