0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको १३औं महाधिवेशनले नवनिर्वाचित सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत पुग्नेगरि नयाँ कार्यसमिति निर्वाचित गर्ने संकेत मिलेको छ । महाधिवेशनमा देउवा प्यानलका उम्मेदवारहरुको बहुमत पुग्ने जारी मतगणनाको परिणामले देखाएको छ । कतिपय प्रदेशमा भने देउवा र सभापतिका अर्का उम्मेदवार रामचन्द्र पौडेल प्यानलका सदस्यहरुबीच कडा प्रतिस्पर्धा छ । 
केन्द्रीय कार्यसमितिको खुल्ला तर्फको २५ सिटका लागि भएको मतगणनाको अन्तिम परिणाम सोमबार मात्र आउनेछ ।  हालसम्म खुल्ला केन्द्रीय सदस्यको २७ सय ५० मत गणना हुँदा पौडेल प्यानलका डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । उनले १६१५ मत पाएका छन् । उनीपछि देउवा प्यानलका खुमबहादुर खड्काले १६०८ र पौडेल प्यानलका प्रकाशमान सिंहले १५७५ मत पाएका छन् । 
यसैगरी देउवा प्यानलका केवी गुरुङले चौथो र पौडेल प्इानलका प्रदीप पौडेलले पाचौं स्थान प्राप्त गर्दा देउवा प्यानलका प्रदीप गिरी छैठौं स्थानमा छन् । सातौं स्थानमा पौडेल प्यानलका धनराज गुरुङ रहेकोमा आठौं, नवौं र १०औं स्थानमा देउवा प्यानलका रमेश लेखक, वालकृष्ण खाँण र पूर्णबहादुर खड्का पुगेका छन् । देउवा प्यानलका गोपालमान श्रेष्ठ बीसौं स्थानमा छन् भने २१औं, २२औं र २३औं स्थानमा पनि देउवा प्यानलकै ज्ञानेन्द्रबहादुर कार्की र चन्द्र भण्डारी रहेका छन् । पौडेल प्यानलका नारायण खड्का २४औं र डा. मीनेन्द्र रिजाल २५औं अर्थात अन्तिम स्थानमा छन् । मत गणनाको परिणाम हेर्दा २५औं स्थानसम्म रहेकाहरुले नै अन्तिममा विजय प्राप्त गर्ने सम्भावना छ । किनकि २६औं स्थानमा परेका उदय शमसेर राणाको १ हजार १३३ मत रहेकोले उनी २५ औं स्थानमा पुग्न १२८ भन्दा बढी मत आवश्यक छ । करिब ४०० मत गणना हुन बाँकी रहेको अवस्थामा त्यति मत वृद्धि गरेर अघि आउनु कठिन देखिएकोले पनि हाल २५ जनाभित्र परेकाहरु नै केन्द्रीय सदस्यमा विजयी हुने देखिन्छ । हाल अग्रता लिएकाहरु मध्ये देउवा प्यानलका १४ र पौडेल प्यानलका ११ जना रहेकाले पनि देउवा पक्षको बहुमत पुग्ने सम्भावना छ । 
२७ सय ५० गणना भएपछि आइतबारको गणना रोकिएको र सोमबार सबै पदको नतिजा आइसक्ने मतदान अधिकृत ताराप्रसाद फुलेलले बताए ।
खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा धेरै मत पाउने उम्मेदवारहरु उनीहरुको मत यसप्रकार छ ः
१) डा. शेखर कोइराला (१६१५)
२) खुमबहादुर खड्का (१६०८)
३) प्रकाशमान सिंह (१५७५)
४) प्रदीप पौडेल (१५०६)
५) केबी गुरुङ (१५४७)
६) प्रदीप गिरी (१५०२)
७) धनराज गुरुङ (१४९८)
८) रमेश लेखक (१४७८)  
९) बालकृष्ण खाँड (१४७४)
१०) पूर्णबहादुर खड्का (१४७७)
११) महेश आचार्य (१४६५)
१२) बलबहादुर केसी (१४६३)
१३) विमलेन्द्र निधि (१४५४)
१४) रामशरण महत (१४३२)
१५) सुजाता कोइराला (१४१५)
१६) विश्वप्रकाश शर्मा (१४१३)
१७) शंकर भण्डारी (१३५४)
१८) एनपी साउद (१३४३)
१९) बद्रि पाण्डे (१३१९)
२०) गोपालमान श्रेष्ठ (१३०८)
२१) ज्ञानेन्द्रबहादुर कार्की (१३००)
२२) चन्द्र भण्डारी (१२९५)
२३) प्रकाशशरण महत (१२९२)
२४) नारायण खड्का (१२७९)
२५) मीनेन्द्र रिजाल (१२६१)
२६) उदय शमसेर राणा (११३३)
२७) पदम नारायण चौधरी (११३१)
२८) जिपछिरिङ लामा (११०१)
२९) डिना महालक्ष्मी उपाध्याय (१०७३)
३०) मनमोहन भट्टराई (१०२५)
यसैगरी केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै प्रदेशको मत गणना जारी छ । प्रत्येक प्रदेशबाट २ जना निर्वाचित हुने व्यवस्था छ। आइतबार दिउसोसम्म १ हजार ४०० मत गनिसक्दा सातै प्रदेशमा देउवा–पौडेल प्यानलका एक–एक उम्मेदवारले अग्रता लिएका छन् ।
प्रदेश नं. ४ मा कास्कीका देवराज चालिसे समेत प्रतिस्पर्धामा रहेपनि उनी पछाडि परेका छन् । २ जनाका लागि उम्मेदवारी दिनेको संख्या धेरै भएपनि पौडेल प्यानलका गोविन्द भट्टराई र देउवा प्यानलका सुरेन्द्रराज पाण्डेले अग्रता लिइरहेका छन् । तेस्रो स्थानमा देउवा प्यानलकै अर्जुन जोशी र चौथो स्थानमामात्र चालिसे रहेकाले उनको विजय सहज देखिएको छैन । चालिसेले दोस्रो स्थानमा उक्लनका लागि ५७ मत कम छ । कास्की बाटै उम्मेदवारी दिएका गुरु बराल भने प्रतिस्पर्धा भन्दा पछाडि परेका छन् । 
प्रदेशहरुमा धेरै मत पाउने उम्मेदवारहरु उनीहरुको मत यसप्रकार छ ः
प्रदेश नं १
१. गुरुराज घिमिरे– ६०३
२. भिष्मराज आङदेम्बे– ५६२
३. अमृत अर्याल– ५०३
४. अनिलकृष्ण प्रसाईं– ३१२
प्रदेश नं २
१. आनन्द प्रसाद ढुंगाना– ६५६
२. रमेश रिजाल– ६३४
३. तेजुलाल चौधरी– ५२५
४. हरेशप्रसाद महतो– ४४५
प्रदेश नं ३
१. नवीन्द्रराज जोशी– ५७३
२. मोहनबहादुर बस्नेत– ४७९
३. रामनाथ अधिकारी– ४०६
४. ध्यानगोविन्द रञ्जित– ३७०
प्रदेश नं ४.
१. गोविन्द भट्टराई– ५९४
२. सुरेन्द्र पाण्डे– ५५५
३. अर्जुन जोशी– ५३२
४. देवराज चालिसे– ४९८
प्रदेश नं ५
१. दीपक गिरी– ६५८
२. देवेन्द्रराज कँडेल– ५७६
३. भरतकुमार शाह– ५३७
४. रेवतीप्रसाद भुषाल– ३७७
प्रदेश नं ६
१. हृदयराम थानी– ७३६
२. जीवनबहादुर शाही– ६६६
३. गोपालजी जंग शाह– ६२४
४. दिनबन्धु श्रेष्ठ– ५३८
प्रदेश नं ७
१. दीलेन्द्र बडु– ७१५
२. वीरबहादुर बलायर– ६२३
३. बहादुर सिंह थापा– ४५७
४. कमलबहादुर शाह– ४२३
यसैबीच कांग्रेसको १३औं महाधिवेशनमा महिला आरक्षण सिटमा ६ जना निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार महिला कोटाबाट डिला संग्रौला, पुष्पा भूसाल, कमला पन्त, सरिता प्रसाईं, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने विजयी भएका छन् । निर्वाचित भएकामध्ये संग्रौला, भूसाल, बस्नेत र न्यौपाने नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूह तथा पन्त र प्रसाईं रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार भएका थिए । कांग्रेसकी अग्रज महिला नेतृ मीना पाण्डे भने पराजित भएकी छन् । 
यस्तै कांग्रेसको मधेसी तर्फको आरक्षित ३ पुरुष र २ महिला केन्द्रीय सदस्यको परिणाम आएको छ । मधेसी पुरुषतर्फ अजय चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादव विजयी भएका छन् । त्यस्तै मधेसी महिला तर्फ किरण यादब र पार्वता डिसि चौधरी विजयी भएकी छन् । यस्तै जनजाति आरक्षण सिटमा चीनकाजी श्रेष्ठ, बहादुर सिंह लामा र कल्याण गुरुङ विजयी भएका छन् । शनिबार साँझ प्रकाशित नतिजा अनुसार जनजाति महिलामा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए ।

कास्कीका परियार बबाहेक सबै पराजयको नजिक

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा कास्कीबाट उम्मेदवार बनेका जीवन परियार बाहेक अधिकांश पराजयको नजिक पुगेका छन् । परियार यसअघि पनि दलित कोटाबाट केन्द्रीय सदस्य रहेकोमा यसपटक पनि उनी दलित कोटाबाट निर्वाचित हुन सफल भए । महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका कृष्णबहादुर कार्कीले ६६ मतमात्र प्राप्त गरे । कार्कीले विजय प्राप्त गर्न नसकेपनि उनको उम्मेदवारीले कोषाध्यक्षकै उम्मेदवार चित्रालेखा यादवलाई पराजित गर्न भने सघाउ पु¥यायो । चित्रलेखा आफ्नो प्रतिद्वन्दी सीतादेवी यादवसंग ८ मतको झिनो अन्तरले पराजित भएकी थिइन । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले खुल्लातर्फ उम्मेदवारी दिएकोमा उनी विजयी हुने स्थितिमा छैनन् । २५ जना निर्वाचित हुने खुल्ला सदस्यतर्फ उनले प्राप्त गरेको मत हाल ३५औं स्थानको हाराहारीमा छ । मत गणनाको अन्तिम परिणाम सोमबार आउने भएपनि रानाभाटको विजय असम्भव देखिएको छ । यसैगरी जनजाति कोटामा उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री महादेव गुरुङ पनि पराजित भैसकेका छन् भने कास्कीबाटै उम्मेदवारी दिएका देवेन्द्र शेरचन जनजाति कोटामा पराजित भए । रानाभाट र गुरुङ देउवा प्यानलमा परेको भएपनि शेरचनको नाम कुनै प्यानलमा देखिएन । महिला तर्फबाट उम्मेदवारी दिएका शारदा पौडेल र वृन्दा राना पनि प्रतिस्पर्धामा पछि परे । दुवै जना सांसद भएपनि पार्टीको राजनीतिमा उनीहरु केन्द्रीय तहमा पुग्न सकेनन् । दुवै जना पौडेल र देउवा प्यानलमा पर्न नसकेपछि उनीहरुको सहज पराजय भएको हो । कास्कीबाट प्रदेश नं. ४ मा उम्मेदवारी दिएका देवराज चालिसे पौडेलको प्यानलमा परेकोले उनी चौथो स्थानमा रहेका छन् । दुई जनामात्र विजयी हुने कोटामा चौथो स्थानमा परेकोले उनको विजय पनि सहज छैन । अर्का नेता गुरु बराल भने प्रतिस्पर्धा भन्दा पछाडि परेका छन् । बराल कुनै प्यानलमा पर्न सकेका थिएनन् । यसैगरी कास्कीबाट उम्मेदवार बन्ने चाहना गरेको शोभियत बहादुर अधिकारी, यज्ञबहादुर थापा, चन्दावती पौडेल लगायतले केन्द्रीय सदस्यको उम्मेदवारको रुपमा प्रचार गरेपनि प्यानलमा पर्न नसकेपछि उम्मेदवारी दिएनन् । कास्कीकै शुक्रराज शर्माले पनि केन्द्रीय सदस्य बन्ने चाहना प्रकट गरेको भएपनि पौडेल र देउवा दुवैतर्फबाट विश्वास नगरेकोले उम्मेदवार बन्न सकेनन् ।

Post a Comment

 
Top