0
नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवार बनेकी चित्रलेखा यादवलाई धेरै मानिसहरुले चिन्छन् । तर, उनकी प्रतिद्वन्द्वी एकल महिला सीतादेवी यादवलाई भने कमैले चिनेका छन् । अझ सीतादेवी अंगीकृत नागरिक हुन् र भविश्यमा उनी सभामुख वा राष्ट्रपति बन्ने हैसियत राख्दिनन् भन्ने पनि कमैलाई मात्र थाहा छ ।  सांसदद्वय चित्रलेखा यादव र सीतादेवी यादवमा केही समानता छन् र केही आधारभूत भिन्नता पनि । दुबैजना नेपाली कांग्रेसका नेतृहरु हुन् । दुबै यादव समुदायका नेतृ हुन् । र, दुबैजना एउटै जिल्ला अर्थात् सिराहाकै हुन् । तर, फरक के छ भने चित्रलेखासँग बंशजको नागरिकता छ, उनी सभामुख, प्रधानमन्त्री वा राष्ट्रपति बन्न पाउँछिन् । तर, सीतादेवीलाई संविधानले यस्तो उच्च तहमा पुग्न दिँदैन ।
को हुन् चित्रलेखा ?
कांग्रेसकी निवर्तमान कोषाध्यक्षसमेत रहेकी चित्रलेखा पूर्वशिक्षा मन्त्रीसमेत हुन् । सिराहाको नहरमिया नवराजपुर गाविसमा सम्पन्न जमिन्दार परिवारमा जन्मिएकी चित्रलेखा पढालेखा महिला हुन् । मध्यमवर्गका श्रीकृष्ण यादवसँग विवाह गरेपछि उनको कर्मघर सिराहा नगरपालिकाभित्र पर्छ । अहिले उनले लाहानमा १० करोडभन्दा बढीको होटल खोल्न लागेको चर्चा सिराहामा छ । राजनीतिमा लागेर राम्रो आर्थिक उपार्जन गरेकी चित्रलेखाको घर ललितपुरको भैंसेपाटीमा छ ।
चित्रलेखा नेपाली कांग्रेसमा मात्रै होइन, पार्टी बाहिर पनि मन्त्री बनेपछि केही अलोकप्रिय बनेकी छिन् । मन्त्री हुँदा उनले शिक्षा क्षेत्रका कर्मचारीहरुसँग पैसा माग्ने गरेको गुनासो आएको थियो । लोकसेवा आयोगमा जिम्मेवारी सम्हालिसकेका उनका पतिका कारणले पनि उनको आर्थिक पारदर्शितामाथि थप प्रश्न उठ्ने गरेको छ । चित्रलेखाको लोकप्रियता मन्त्री बनेपछि मात्रै होइन, चुनावी मापनका आधारमा पनि खस्किएको देखिन्छ । उनी ०५१ सालदेखि सिराहाबाट चुनाव लड्न थालेकी हुन् । पहिलोपटक ०५१ सालमा मध्यावधि चुनावमा भाग लिँदा उनी सिराहा–२ मा एमालेका नरेन्द्रराज पोखरेलसँग करिब २ हजारको मतान्तरले हारिन् । त्यसबेला पोखरेलको १२ हजार ६ सय ५३ मत आएको थियो भने चित्रलेखाले १० हजार २ सय ७ मत पाएकी थिइन् ।
चित्रलेखाले ०५६ सालको संसदीय निर्वाचनमा भारी मत ल्याएर सिराहा क्षेत्र नं २ बाटै जित हात पारिन् । सो चुनावमा उनले २१ हजार २९ मत पाएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर सुनुवारले १४ हजार ९४ मतमात्रै ल्याएका थिए ।
संसदमा आएपछि चित्रलेखाको भाग्य खुल्यो । यही कार्यकालमा उनी प्रतिनिधिसभाको उपसभामुख बनिन् । नेपाली कांग्रेसमा विभाजन आएपछि उनी शेरबहादुर देउवातिर लागिन् । जनआन्दोलन सफल भएर ०६३ सालमा गिरिजाको नेतृत्वमा गठन भएको सरकारमा चित्रलेखा जलस्रोतमन्त्री बनिन् । तर, ०५६ सालको चुनावमा अत्यधिक मत ल्याएर सांसद बनेकी चित्रलेखाको लोकप्रियता मन्त्री बनेपछि यति खस्कियो कि पहिलो संविधानसभाको चुनावमा उनी सिराहा–२ मा पराजितमात्रै भइनन्, पुग नपुग ७ हजार मत ल्याएर तेस्रो स्थानमा खुम्चिइन् । त्यसपछि उनले ०७० सालको दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ लड्ने हिम्मत गरिनन् । र, समानुपातिक तर्फबाट सभासद बनिन् । दोस्रो संविधानसभापछि सुशील कोइराला सरकारको नेतृत्वमा उनी शिक्षामन्त्री बनिन् । यसक्रममा उनको लोकप्रियता पार्टी्भित्र र बाहिर अझ खस्कियो । स्रोतको दाबी के छ भने जिल्लामा चित्रलेखाको जनमत सीतादेवीको भन्दा दयनीय छ ।
को हुन् सीतादेवी ?
चित्रलेखा समानुपातिक सांसद हुन् भने सीतादेवी प्रत्यक्ष चुनाव जितेर आएकी सांसद हुन् । दोस्रो संविधानसभाको चुनावमा सीतादेवीले सिराहा–३ बाट ११ हजार १ सय ५१ मत ल्याएर चुनाव जितेकी हुन् । सो चुनावमा एमालेका प्रमोद यादवले ७ हजार ९ सय ६४ मत ल्याएर सीतादेवीसँग हार व्यहोरेका थिए । एमाओवादीका रामरिझन यादवले ४ हजार ४ सय ४५ मत ल्याएका थिए । त्यसो त सीतादेवी पहिलो संविधानसभामा पनि सिराहा क्षेत्र नं ३ बाटै चुनाव लडेकी थिइन् । तर, उनी त्यसबेला फोरमका विजयकुमार यादवसँग हारिन् । तर, त्यसबेला उनी चित्रलेखाजस्तो तेस्रो स्थानमा झरिनन्, दोस्रो स्थान हात पार्न सफल भइन् । दोस्रो संविधानसभामा पनि सीतादेवी मैदानबाट भागिनन् । र, प्रत्यक्ष चुनाव जितेर संविधानसभामा आइन् । औपचारिक शिक्षाको हकमा प्रवीणता प्रमाणपत्रसम्म मात्रै पढेकी सीतादेवी झट्ट हेर्दा सामान्य एवं दुब्ली देखिन्छिन् । तर, उनको राजनीतिक यात्रा त्यति कमजोर छैन, जति उनी कमजोर देखिन्छिन् ।
नेपाली कांग्रेसमा उनी पहिली महिला जिल्ला सभापतिका रुपमा समेत चिनिन्छिन् । जतिखेर नेपाली कांग्रेस विभाजित भएर सिराहामा चित्रलेखा यादव देउवाको खेमातिर लागेकी थिइन् । त्यसबेला सीतादेवीले संस्थापन पक्षको जिल्ला समितिको जिम्मेवारी निभाएकी थिइन् । सीतादेवीले एक कार्यकाल मात्रै होइन, दुई कार्यकालसम्म सिराहा जिल्ला कार्यसमितिको नेतृत्व गरिसकेकी छिन् । सीतादेवी भारतकी चेली, नेपालकी बुहारी हुन् । उनको माइती बिहारको मधुवनी जिल्लामा पर्छ । उनका दुई छोरीहरुको विहाबारी पनि भारतमै भएको छ । एकजना छोरा छन्, जो बढीजसो भारतमै बस्छन्, तर कांग्रेसको सिराहा जिल्ला सभापति बन्ने ‘ख्वाव’ राख्छन् । सीतादेवीका पिता बिहारका स्थानीय राजनीतिक कार्यकर्ता हुन् । सीतादेवीले सिराहाको सुखचयना गाविस निवासी चन्द्रनारायण यादवसँग विवाह गरेपछि वैवाहिक अंगीकृत नागरिकता पाएर उनी नेपाली नागरिक बनेकी हुन् ।
सीतादेवीका श्रीमानलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले गोली हानी हत्या गरेका थिए । त्यसबेला माओवादीले चन्द्रनारायण लाई गाँजा तस्करी गरेको, सर्वसाधारणको हत्या गरेको र सीमानामा अबै तस्करी धन्दा चलाएको आरोप लगाएर हत्या गरेका थिए । पतिको निधनपछि सीतादेवीले ‘चन्द्रनारायण ट्रष्ट’ खोलेकी छिन् । र, उनी त्यसको अध्यक्ष छिन् । पतिको निधनपछि सीतादेवीले चिठ्ठाका रुपमा जिल्ला सभापतिको पद पाएको बताउनेहरु पनि सिराहामा प्रशस्तै भेटिन्छन् । चन्द्रनारायण सिराहाका जिविस सभापति एवं कांग्रेसका जिल्ला सभापति समेत भइसकेका नेता थिए ।
सिराहामा चित्रलेखाको भन्दा सीतादेवीको जनाधार राम्रो रहेको बताइन्छ । तर, आफ्नो पतिको जस्तै विभिन्न विवादास्पद व्यक्तिहरुलाई संरक्षण गर्ने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । चुनावमा पनि भारतीय माइतीको सहयोगमा उनले प्रशस्त पैसा खर्च गर्ने हैसियत राख्ने गरेको उनलाई नजिकबाट जान्नेहरु बताउँछन् ।
दुई पुरुषको चर्चा कम
त्यसो त नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा सीतादेवी र चित्रलेखा बाहेक अन्य दुई जना पुरुषहरुले पनि उम्मेदवारी दिएका छन् । तर, उनीहरुको चर्चा खासै हुन सकेको छैन । दुबै पुरुष उम्मेदवारहरु छाँयामा परेका छन् ।
कृष्ण सिटौला र गगन थापाको प्यानलबाट पूर्वमन्त्री उमाकान्त चौधरीले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै कृष्ण कार्कीले पनि कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा चारजना उम्मेदवार भएकाले कांग्रेसका मतदातालाई चित्रलेखा वा सीतादेवी बाहेक अर्को उम्मेदवार रोज्ने विकल्प पनि छ । तथापि प्रतिस्पर्धा भने चित्रलेखा र सीतादेवीकै वीचमा हुने अनुमान गरिएको छ ।
(स्रोत ः अनलाइन खबर)





Post a Comment

 
Top