0
कविता के हो ? भन्न गाह्रो छ !
कविता के होइन ? भन्न सजिलो छैन !
विभिन्न कालखण्डमा पूर्वमा, पश्चिममा अथवा हाम्रैतिर पनि जेजे नाम, परिभाषा,
सिद्धान्त अथवा मान्यताहरूको पर्खाल लगाएर कवितालाई अथ्र्याउन, बुझाउन अथवा
चिनाउन खोजिए पनि कविताले शब्दहरूको त्यो पर्खाल भत्काएर मुस्कुराउँदै आएको छ ।
यस अर्थमा, कविताको व्यप्ति अथाह छ । 
असीमित रुप, स्वर र संरचनामा बाँच्न सक्छ
कविता !
कविता सुन्दर हुन्छ कि शक्तिशाली ?
कविहरू कविता लेख्छन् कि कविताहरू कवि जन्माउँछन् ?
कविता लेखिन्छ कि कविताले लेखाउँछ ?
कविताको क्राफ्ट कस्तो हुनुपर्छ ?
शब्द र भाव, बनोट र बुनोट अनि मष्तिष्क र ह्दयबीचको सन्तुलन र तादम्यता कसरी कायम राख्ने कवितामा ? विचार कविताको देहमात्रै होइन आत्मा पनि हो, त्यसप्रतिको काव्यात्मक न्याय कसरी प्रतिस्थापन गर्ने कवितामा ? विचार कविता हो तर फेरि विचारमात्रै पनि त कविता होइन । असिमित प्रश्नहरू छन् कवितासँग जोडिएका । यस अर्थमा कविता सहज प्रतित हुने कष्टकर यात्रा हो । कवि हुनु सजिलो छ र कवि हुनु एकदमै असजिलो पनि छ । कविता र जीवन उस्तै –उस्तै लाग्छन् आजभोलि जीवनको विविध आयाम बुझ्न जाति कठिन छ र बझ्दै जाँदा जतिजति बाँकी रहे जस्तो लाग्छ, कविता पनि त्यस्तै लाग्दैछ आजकल । जीवनको एउटा जटिल प्रश्न हो कविता ।
कविताको खोजीमा कविताकै खेतालो जाँदा अक्कल—झुक्कल भेटिने यौटा खेतालो हो ः अमित रिजाल । जो सामान्य लाग्ने विषयलाई पनि गहन र गम्भीर ढङ्गले ग्रहण गर्छ र त्यसअनुरुप आफूलाई सहज र सरल तवरमा अभिव्यक्त पनि गर्छ भन्ठान्थे म । हो रैछ । पोखराका रेडियोमा यौटा प्रभावकारी रेडियोकर्मी र प्रतिभाशाली रेडियो प्रस्तोताको एक अलग्गै छवि र पहिचान बनाइसकेको अमित रिजाललाई एक अध्ययनशील व्यक्ति तथा स्वप्न प्रस्तोताका रुपमा लिन्थेँ म, हो रै छ । कवितालाई हेर्ने दृष्टिकोण यस्तै हुनुपर्छ भन्ने त कहाँ छ र ? एउटै वस्तु पनि त फरक –फरक ठाऊँ र आँखाबाट फरक देखिन्छन् । कवितामा प्रयोग र प्रयोगमा कविता पनि एउटा पुरानै परम्परा हो ।  त्यसो त अजकल एकाथरी कविहरू कविता भनेर नइल लेखिरहन्छन् । अनावश्यक साम्प्रदायिकता र नसुहाउदो आञ्चलिकता लेखिरहेछन् । वर्षौदेखि विचारको हवाला दिएर फगत नारा र गालीगलौज लेख्नेहरूदेखि कलाका नाममा विचार
शून्य भावुकता या नचाहिदो गुम्फन लेख्नेहरूको पनि कमी छैन । स्तरीय या बौद्धिक कविता लेख्ने नाममा वेअर्थ शब्द आडम्बर थोपर्नेहरूको नि लामै लर्को छ । कवितालाई प्रेम र कुण्ठाको सहयात्रीदेखि विरह, व्यथा र रोनाधोनाको साक्षी बनाउने पनि त्यत्तिकै छन् ।
नदि किनारामा उभिएकै भरमा पानीमा खुट्टै नचोबली नदीको गहिराई र प्रवाहको गुड्डी हाँक्नेहरूको पनि कुनै अभाव छैन । आ–आफ्नै भजन मण्डलीहरू प्नि छन् । सक्नेहरूका यी सबै जटिलता चिर्दै कविताको खेतालो निस्कनु त्यति सजिलो त कहाँ छ र ? यिनै खेतालामध्येको एउटा खेतालो अमित रिजालले कविताको यौटा पहाड टाँगिदिएका छन् । भित्तामा र म यतिखेर ‘भित्तामा टाँगिएको पहाड’ संगमको संवादमा छु ।
पानी नपरेको पनि त हैन
कतातिर हो कुन्नि
पूरै गावै बगायो पनि भन्थे
किनारमा दाउराजस्तै
मान्छेको मुढाहरू थिए रे !
झस्कन्छु
ढोकातिरको आवाजले
कन्डक्टरको एकोहोरो 
चिच्याहटले
सिंहदरवार ‘. सिंहदरवार 
‘.. सिंहदरवार‘..
झर्ने कोही छ ?
टाउको झनन्न पार्छ मेरो
बर्बराउँछु
साला, बाढीले के चैं बगाउँछ र के चैं राख्छ ?
  (मनसुन र सिंहदरवार)
मलाई लाग्छ योजस्तै उनका कतिपय कविता टुङ्गिए पछि बल्ल सुरु हुन्छन् । एक तमासले पढ्दै गरेको पाठकलाई चामत्कारिक झड्का दिएर कविताको बीचबीचमा पनि टक्क अड्याउँछन् उनी । पाठक आफ्नै ढङ्गले एकछिन कविता अथ्र्याउँछ त्यतिञ्जेल कविताले अर्को मोड लिइसकेको हुन्छ, कतिपय कवितामा । आफैले नलेखेरै पनि पाठकलाई धेरै कुरा भन्न सक्छन् उनी आफ्ना कवितामा । यो कविताको सामथ्र्य पनि हो र त्यस्तो सामथ्र्य रिजालका धेरै कविताले बोकेका छन् ।
उसले बेचिसकेको
र तँपाईले किनिसकेको
वा, तँपाईले नबेचेको
तर उसले तपाईसँग किनेको
थाहै हुन्न
उस्को यस्तै यौटा बिज्नेस छ ।
उसले गरिरहने
कहिल्यै घाटा नखाने
एउटा सप्रिरहेको बिज्नेस छ
तपाईलाई थाहा छ, उसको के विग्नेस छ ?
थोरैमा धेरै भन्ने कोसिस्, बोलीचालीका वाक्यांशहरूको कलात्मक विन्यास र आफ्ना स्वाप्नहरूको व्यवस्थापन उनका कविताको सवल पक्ष हो । त्यसो त उनी आफ्ना लामा कवितामा भन्दा छोटा कवितामै बढी सफल र वाचाल लाग्छन् । शब्दहरूको श्रृङ्गार या वाक्यहरूमा अनावश्यक लेपन नगरी सरल, सहज र सामान्य स्वरुपमा नै सुन्दरता पस्कने प्रयासमा छन् रिजाल । कृतिको प्रकाशक सार्वरी प्रकाशनसँग समेत आबद्ध उनका मित्र गनेश पौडेल भन्छन्–‘कुण्ठा अमितका कविताहरूको एक शब्दीय सार हो।’ हुन त यो पनि होला र पनि मलाई लाग्छ , भित्तामा टाँगिएको पहाड, उनका कुण्ठाहरूभन्दा पनि सपनाहरूको व्यवस्थापन अलिक बढी हो कि ! त्यसो त कवि तथा सञ्चारकर्मी प्रकाश सायमीले ‘शुभकामना यसपालि अमितलाई दिन चाहन्न ः कविताको संकटमा उनी आएका छन् । एक चुनौती बोकेर’ भनेका छन् ।
साँच्चै, के अमितका कविताहरूमा कविताको संकट छ ? म कन्फ्युज छु । के नेपाली कविता अहिले संकटमा छ ? अहँ, मलाई त त्यस्तो लाग्दैन ! सुन्दर शक्तिशाली कविता न हिजो संकटमा थिए , न आज संकटमा छन् र न भोलि कहिल्यै संकटमा हुने छन् । बजारमा केको बिक्री बढी छ, के हल्ला छ या चर्चा छ र ती चर्चाहरू किन र कसरी चलेका छन् त्यो अर्कै विषय हो । कविताको शक्ति, सामथ्र्य र महत्व सर्वव्यापी थियो, छ र रहने छ । 
पहाडहरू टाढाबाट हेर्दा सुन्दर र मनमोहक देखिन्छन् । वास्तवमै तिनीहरू कस्ता छन् त्यो हेर्न पहाडै चड्नु पर्छ र पहाडकै आँखाले हेर्नु पर्छ । हाम्रा अघिल्तिरको भित्तामा अजङ्गको पहाड टाँगेर अमित समुद्रपार भासिइसकेको छन् र उनले टाँगेको पहाडमा पनि थुप्रै ठाउँमा कसर मसरहरू छन् । झाडी बुट्यान र पतिङ्गरहरू छन् । सर्लक्क परेका रुखैरुख त कहाँ पो हुन्छ र ? कहिकतै अलिक कमजोर भित्ताहरूमा पनि पहाड झुण्ड्याइदिएका छन् । उनले आखिर पहाड झुन्डि त हाल्यो, अब उसको आकार–प्रकार यस्तो हुनु पथ्र्यो, फर्केको हुनु पथ्र्यो या उचाई यस्तो हुनुपथ्र्यो भन्नुमा पनि खासै महत्व राख्दैनन् । जे छ, जस्तो छ, त्यही विषयमा नै यसको सुन्दरता हो भन्ठान्छु म ।
पहाड चढेर पहाड नियाल्ने जिम्मा अब यहाँहरूको ...!
(साभार ः सुनाखरी सन्देश)






Post a Comment

 
Top