0
जब साँझ ढल्दै जान्छ, टिकट विक्री पनि ह्वात्तै बढ्छ । क्षणभरमै खाली मैदान युवा दर्शकले भरिन्छ । कास्कीको लेखनाथमा जारी लेखनाथ महोत्सवमा साँझको समय युवामय बन्ने गरेको छ । दिन लामो र साँझपख शितल हुने भएकाले दर्शकहरु पप कन्र्सट हेर्न महोत्सवमा झुम्मिने गरेका हुन । युवा पुस्ताका दर्शकलाई लक्षित गर्दै, आयोजकले चर्चित पप गायकलाई स्टेजमा उतार्ने गरेका छन् । प्रमोद खरेल, मिलन अमात्य, मनोज गुरुङ्ग, नरजंग गुरुङ्ग, मेलिना राई लगायतले युवाको साँझलाई रंगिन बनाएका थिए ।
साँझपख दर्शको चाप बढ्दै गएपछि आयोजकले पनि चर्चित कलाकार स्टेजमा उतार्ने गरेका हुन । यस्तै शुक्रबार पनि चर्चित पप गायक सुगम पोखरेलले युवा पुस्तालाई साथ दिए । हेल्लो लेखनाथ भन्दै पोखरेल मञ्चमा उक्लिए पछि दर्शकले चर्को हुटिङका साथ समर्थन गरे । दशै तिहारको गीतबाट शुरु गरेका पोखरेलले जव, फेरी त्यो दिन सम्झन्न चाहान्न, यही कथा म दोहोर्याउन चाहान्न गाएका थिए युवाहरु मस्तीसँग झुमेका थिए ।  आयोजकले शनिबारलाई दर्शक बढी भित्र्याउन शिव परियार लगायतका कलाकार स्टेजमा उतार्ने रणनीति बनाएका छन् । चर्चित कलाकारको प्रस्तुतीले दर्शकको चाप बढेपछि साँझपख रेष्टुरेण्टको व्यापार पनि राम्रै हुने गरेको छ । १२ औं लेखनाथ महोत्सवको दशौं दिनसम्म आइपुग्दा १४ करोड रुपैयाको कारोबार भएको छ । महोत्सवमा दुई लाख ४५ हजार दर्शकले अवलोकन गरेको महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । महोत्सव सकिन दुई दिन बाँकी छदा दर्शकले समेत साथ दिएका छन् । शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, राजन ठकुरी, माधव चापागाइँ, कल्पना दाहाल, ज्योति लोहनी, जानकी मगर, जीवन दाहाल, शिवहरि ढुंगाना, राजा राजेन्द्र लगायतले दर्शकलाई साथ दिएका थिए । 
यसैगरी महोत्सवको मुख्य आकर्षण गायन विधाको गण्डकी तारा प्रतियोगितामा शुक्रबार सातजनाबाट ५ जना छनौट भएका छन् । प्रतियोगितामा अनिल वि.क, राम घर्तिमिरे, अदीति शर्मा, कुशल पोखरेल र सोनु कुमार वि.क छनौट भएको गण्डकी ताराका संयोजक भक्तवहादुर के.सीले जानकारी दिए । गण्डकी ताराको विजेता सहित उत्कृष्ट छनौट भएकालाई संगीतकार बसन्त सापकोटाले चलचित्रको गीतमा मौका दिने भएका छन् ।
यसैगरी चाइल्ड ट्यालेन्ट सो को गायन विधामा मदरल्याण्ड उच्च मा.वि का शिक्षा कार्की प्रथम भएकी छन् । प्रतियोगितामा भ्यूप्वाईन्ट वोर्डिङ स्कुलका अंसु गुरुङ्ग द्वितीय, गोगन उच्च मा.विका रन्जीत वि.क तृतिय र बागमारा एकेडेमीका करुणा सुनार र स्माइल हेभेनका दीक्षा वि.क सान्त्वना भएका छन् ।










Post a Comment

 
Top