0
गोल्डेन न्यूज संवाददाता
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले थोरै यात्रु बोकेर सडक जाम गर्न सहयोग पु¥याउने साना सवारी र वातावरण प्रदुषित हुने खालका पुराना गाडीलाई निरुत्साहित गर्दै लैजाने नीति अवलम्वन गरिने बताएका छन् । स्थानीय श्रृङ्गा यातायात व्यवसायी समितिको ३३औं साधारण सभाको सोमवार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मैनालीले साना सवारीको नियन्त्रण पुराना गाडीको व्यवस्थापनले प्रदुषण रहित शहर निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यातायात क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीको प्रशंसा गरेका प्रजिअ मैनालीले यातायात क्षेत्रलाई अझ व्यवस्थित गर्दै लैजान स्वच्छ प्रतिष्पर्धाको वातावरण सृजना गर्नेतर्फ ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरे । ‘माग र आपूर्तिको सन्तुलन नमिल्दा हाल ईन्धन वितरणमा समस्या उव्जिएको छ’–प्रजिअ मैनालीले भने–‘आशा गरौ अव छिट्टै असहज अवस्थाको अन्त्य हुने छ ।’ यसअघि वोल्ने यातायात व्यवसायीहरुले ईन्धन वितरण प्रणाली अव्यवस्थित बन्दै गएको गुनासो गरेका थिए । गण्डकी धौलागिरी यातायात वस व्यवसायी समितिका अध्यक्ष वसन्त प्रधानले गाडीको स्तर सुधार गर्नेतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गरे । नेकपा माओवादी तमुवान राज्य ईन्चार्ज सावित्री दुराले यातायात व्यवसायलाई मर्यादित बनाउँदै लैजानु नै आजको पहिलो आवश्यकता रहेको औंल्याइन ।

यातायात क्षेत्रमा बनेका नीतिहरु अहिलेसम्म क्षणिक रहेको भन्दै एमाले कास्कीका सचिवालय सदस्य युवराज पौडेलले यातायात क्षेत्रका विज्ञहरुसँग परामर्श गरेर दीर्घकालिन नीति अवलम्वन गर्न सके समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । एमाओवादी कास्कीका सचिवालय सदस्य सुमन देवकोटाले सडकको क्षमता अनुसार यातायातका साधन गुडाउनु पर्नेमा जोड दिए । अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष रुद्र गौतमले ईन्धन अभावले मजदुरको रोजीरोटी खोसिने अवस्था सृजना हुन लागेको भन्दै चिन्ता व्यक्त गरे । सो अवसरमा समितिमा रहेर निरन्तर २५ वर्ष सेवा गरी सेवा निवृत्त भएका कर्मचारी रामबहादुर हमाललाई प्रजिअ मैनालीले सम्मान गरेका थिए । साधारण सभामा सचिव ईश्वर वहादुर हमालले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन र कोषाध्यक्ष लालप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफल पश्चात पारित भएको थियो । गाउँदेखी सहरसम्म र सहर देखि गँउसम्म भन्ने नीति अन्तर्गत समितिले हाल एक सय ८२ वटा गाडीहरु संचालनमा ल्याएको छ । समितिका अध्यक्ष केदार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्यामशुन्दर जैसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका भानु वराल, कार्यालय सचिव सूर्यमणि लामिछाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top