0
राजाराम पौडेल÷गोल्डेन
नेपाली लोक दोहोरी गीतको क्षेत्रमा संर्घष गरी स्थापित हुने सपना बुन्ने कलाकारको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यसरी सपना बुन्दै यात्रा अगाडि बढाइरहेका एक नव प्रतिभा  हुन् लोक दोहोरी गायक निश्चल दवाडी । झण्डै पाँच वर्षदेखि स्थापित हुने आशामा संर्घष सुरु गरेका उनको आफ्नो लक्ष्यमा पुग्ने अभियान निरन्तर अगाडि बढ्दै छ । हुन त यात्रा जारी गर्दा विभिन्न आरोह अवरोह उनले पार गरेका छन् । यस्ले उनलाई अगाडि बढ्न उत्साहित बनाएको छ । दोहोरी गीत प्रतियोगितामा भाग लिएर आफ्नो परिचय बनाएका उनी पोखरा अनि यस आसपासमा आयोजना हुने मेला महोत्सवको लागि कार्यक्रमको जिम्मा लिने आयोजकका आँखामा भने पर्न सकेका छैनन् । 
सिनियर कलाकारसँग घुलमिल हुनेक्रम सुरु भएकोले यो क्षेत्रमा विस्तारै सहजता महसूस हुँदै गएको अनुभव उनको छ । माया–प्रीतिका गीत गाउन मनपराउने उनी सिनियर कलाकारले नयाँ कलाकारलाइ प्रोत्साहन र अवसर दिनुपर्नेमा जोड दिन्छन् । ‘स्थापित कलाकारले नवोदित कलाकारलाइ प्रोत्साहन र अवसर दिनुपर्छ’ उनी थप्छन्–‘पोखरा अनि यस आसपासको कार्यक्रमको जिम्मा लिनेहरुको आँखामा भने परेको छैन ।’ अनविज्ञ भएर नै यो क्षेत्रमा आएको बताउने उनी अहिले दोहोरी गीत संगीतको बजारलाई केहि मात्रामा बुझेको बताउँछन् । पोखरालाइ कर्मथलो बनाएका उनले मेहनत गरेर अगाडि बढ्न सके यो क्षेत्रमा आफ्नो भविष्य उज्वल हुने सपना बुनेका छन् । आजभन्दा २५ वर्ष अगाडि तनहुँ जिल्लाको किहुँ गाउँ विकास समिति वडा नं. ८ मा  उनको जन्म भएको हो । बुबा रनबहादुर र मुमा फूलमाया नेपालीको कान्छो सन्तानको रुपमा उनको जन्म भएको थियो । बाल्यकालदेखि नै उनले गीत संगीतमा रुचि राख्थे । चकचके स्वभावका उनले गीतका अलावा चित्र कोर्न समेत मन पराउथे । प्रायः रेडियोमा बजेका गीत सुनेर गुनगुनाउने गरेका उनले विस्तारै गाउँमा हुने कार्यक्रम र स्कुलमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्नो प्रतिभा सुनाउन थाले । यसरी सुनाउने क्रममा साथीे दिलु विवशले स्वर राम्रो भएको भन्दै अगाडि बढ्न उत्साहित गरेकाले नै अगाडि बढ्न उत्साहित भएको उनी सुनाउँछन् । वि.स. २०६३ मा पोखराको पृथ्वीनारायण क्याम्पस पोखरामा उच्च शिक्षा अध्ययन गर्न गाउँबाट पोखरा झरे । पोखरा आएपछि मात्र उनको प्रतिभाले फल्ने, फूल्ने र फक्रने मौका पाएको हो ।
हुन त शुरुमा उनलाइ शहरमा लोक गीत मन पराउने व्यक्ति हुदैनन् होला भन्ने लागेको थियो रे । हुनपनि साथिहरु समेत पप, आधुनिक गीत मन पराउने भेटे । लोक गीत मनपर्छ, लोकगीत गाउँछु भन्दा अरुले केही भन्लान की भन्ने डर लाग्यो । ‘यहाँ भेटिएका साथीहरु पप आधुनिक गीत गाउने थिए, लोक गीत गाउँदा केहि भन्ने हुन् कि भनेर सुरुमा लाज पनि लाग्यो’– उनले भने । केही दिन पछाडि क्यापसमा उनले आफ्नो विचार मिल्ने साथी पनि भेटे । उनै साथीसँग मिलेर लोकदोहोरी गीत गाउन  क्याम्पसको पढाइ ‘हापेरै’ सेति डिल तिर पुग्न थाले । विस्तारै पोखरामा आयोजना हुने प्रतियोगितामा भाग लिइ आफ्नो प्रतिभा सुनाउन थाले । यसरी भाग लिदाँ कयौँ ठाउँमा पुरस्कार पनि जिते । कास्कीका अलावा गोरखा, लम्जुङ, पर्वत, रुपन्देही, बाग्लुङ, तनहुँ लगायतका ठाउँमा आयोजना हुने दोहोरी प्रतियोगीतामा भाग लिइ पुरस्कार जिते ।
यसरी दोहोरी गीतमार्फत तय भएको उनको यात्रा वि.स.२०६९ मा गीत रेर्कड गर्नेतर्फ मोडियो ।  उनले तीहार सम्बन्धि गीत ‘तीहार राम्रो हाँसेर नाचेर’ मा आवाज भरी नेपाली साँगीतिक क्षेत्रमा औपचारिक रुपमा डेब्यु गरे । आयुष परियार सँगको सहकार्यमा ल्याएको यो गीतमा आवाजमा उनलाई आयुष र तुलसी घर्ती मगरले साथ दिएका थिए । वि.स.२०७१ मा अर्को एल्बम ‘हजार खुशी आयाँै लिएर’ दर्शक श्रोता माझ पस्के । लय शब्द उनकै रहेको यो गीतमा आवाजमा सविना श्रीष मगरले साथ दिएकी थिइन् । यो गीतले निश्चल दवाडी भनेर चिनाउन सफल भएको उनी बताउँछन् । उनले यो गीतमा मोडलिङ्ग गर्न समेत भ्याए । यस पश्चात सुरज लामिछानेको एल्बम ‘भेटिएन कतै’ मा लय शब्द सिर्जना, सुनिल विश्वकर्माको ‘हिंड्यौ होला कामले’ गीतमा लय सिर्जना, र युवराज गैरे को ‘मेरी माया’ पञ्चेबाजाको गीतमा लय शब्द सिर्जना गरे ।
यसरी साँगीतिक क्षेत्रमा सर्घष गरेका उनै दवाडीको नयाँ एल्बम ‘कान्छु तिमिलाई त’ बजारमा भर्खरै आएको छ । टस गुरुङ र निता गुरुङको सहकार्यमा बजारमा आएको यो एल्बममा आवाज निश्चल  र निता गुरुङले भरेका छन् । गीतको शब्द लय संकलन उनैले गरेका हुन् । यो गीतको भिडियोमा टस गुरुङ, मोना थापा मोडल रुपमा देखिएका छन् । पोखरामा छायाकंन भएको यो भिडियो शंकर वि.सि.को टिमले निर्माण गरेको हो । उनको यो एल्बमको बजार व्यवस्थापनको जिम्मा हमाल म्युजिकले लिएको छ । रमाइलो खालको यो गीत दर्शक श्रोताले मन पराएको उनले सुनाए । अहिले बजारमा आएका गीतमा महिला र पुरुषको एउटै थेगो हुने गरी पनि यो गीतमा महिला र पुरुषको छुट्टा–छुट्टै थेगो भएकोले पनि यो गीतमा फरकपन महसूस हुने उनको दावी छ । ‘वास्तविक दोहोरी यो गीतमा सुन्न सकिन्छ । महिला र पुरुषको छुट्टाछुट्टै थेगो यो गीतमा राखिएको छ ।’ उनले  भने । उनले आफ्नै आवाज, शब्द, लयमा नयाँवर्षको उपलक्ष्यमा सालैजु गीत दर्शक श्रोता माझ ल्याउने तयारी गर्दैछन् ।
उनले आप्नो यात्रा दोहोरी साँझ मार्फत पनि जारी राखेका छन् । वि.स. २०६८ सालबाट दोहोरी साँझमा गाउन थालेका उनले सुसेली दोहोरी साँझ, निम्तो दोहोरी साँझ हुँदै हाल निरमाया दोहोरी साँझ मा हरेक साँझ आफ्नो प्रस्तुती राख्ने गर्दछन् ।
त्रिवेणी संगीतालयले यो वर्ष आयोजना गरेकोे पोखरा तारा प्रतियोगितामा उनी उपविजेता बनेका थिए । गीत संगीतमा लागेर मात्र जीवन धान्न सहज नभएको बताउने उनले वि.स. २०६७ पोखराको नयाँबजारमा बद्रर आर्ट नामको व्यवसाय सञ्चालन गरी श्रीमती मनिषा र छोरा उत्सव दवाडीको दैनिक गुजारा चलाइरहेको बताउँछन् । उनले राम्रो चित्र समेत कोर्ने गर्छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको सदस्य रहेका उनले आफ्नो प्रस्तुतिमा निखारता प्रदान गर्न पोखराको त्रिवेणी संगीतालयमा संगीतको ज्ञान लिएका थिए । 
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top