0
गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक हरिबहादुर पालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले माघ २९ गते निकालेको प्रहरी उपरीक्षकको सरुवा सूचिमा उनको नाम दोस्रो स्थानमा छ । उनी महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयले विभिन्न स्थानमा कार्यरत १७ जना प्रहरी उपरीक्षकको सरुवा गरेको हो । पालसंगै पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यको पनि सरुवा भएको छ । उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महराजगंजमा सरुवा भएका हुन् । पालको स्थानमा केन्द्रीय प्रहरी विशेष कार्यदलमा रहेका प्रहरी उपरीक्षक घनश्याम अर्याल आउने भएका छन् । कास्की प्रहरी प्रमुखको रुपमा २०७१ माघ २८ गते जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक पालको एक बर्षे कार्यकालमा कास्कीमा केहि ठूला हत्या काण्ड पनि भए । उनको कार्यकालमा राजनीतिक पार्टीका नेताको हत्यादेखि विदेशी महिलाको हत्याका घटना भए । पछिल्लो समय युवती हत्याको घटनाले निकै चर्चा पायो । गत साउन २८ गते राति लेखनाथका कांग्रेस नेता रामजी पौडेल ‘वादल’ को हत्या भयो । सो घटना अनुसन्धानको क्रममा एक महिना भित्र प्रहरीले संलग्न सबैलाई पक्राउ गरी कानूनी दायरामा ल्यायो । वादल हत्यामा संलग्नहरु अहिले कास्की कारागारमा छन् ।
साउन २२ गते राति अमेरिकन युवतीको हत्यामा संलग्न एक जना पनि पक्राउ परे । आफूलाई भेट्न पोखरा आएकी २७ बर्षिय डलीया यहियाको हत्यामा संलग्न ३१ बर्षीय नारायण पौडेल अहिले जिल्ला कारागार छन् । पछिल्लो समय चर्चामा आएको युवती हत्यामा संलग्नलाई पनि प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । गत माघ १८ गते राति पोखरा १५ की १८ बर्षीय यरुना पुन ‘नेहा’ को हत्यामा संलग्न भनिएका कीर्तन खड्गी अहिले हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान चलिरहेको छ । पोखराका विभिन्न स्थानमा सुनचादी सहित ३० लाख भन्दा बढी सामान चोरी गर्ने पाँच जनालाई पक्राउ गरी साउन १३ गते सार्वजनिक गरियो । 
यता, काठमाडौंको न्यूरोड स्थित एक सुनचादी पसलबाट ९३ तोला सुन र ५७ तोला चादी चोरी गरी पोखरा आएका एक जनालाई पुस २३ गते पक्राउ गरी काठमाडौ पठाईएको थियो । अन्य दुई काठमाडौंबाट पक्राउ परेका थिए । जसका कारण पोखराका अन्य तीन पसल चोरी गर्ने उनीहरुको योजना तुहिएको थियो । साउन १३ गते रातिको पहिरोमा पुरिएकाको खोजी र उद्धारमा अन्य सुरक्षा निकाय सहित नेपाल प्रहरी पनि सक्रिय भएको थियो । पहिरोमा परेर बेपत्ता भदौरेतामागीका एक वाहेक अन्य सबैको शब भेटिएको थियो ।
यता, वादल हत्यादेखि अमेरिकन युवती हत्यासम्म अभियुक्त पक्राउ गरी कानूनी दायरामा ल्याएको प्रहरीमाथि पछिल्लो हत्याका केहि घटनामा भने प्रश्न उठेका छन् । माघ १८ गते राति भएको ‘नेहा’ हत्या अभियोगमा २० गते पक्राउ परेका कीर्तन खड्गीलाई त प्रहरीले सार्वजनिक ग¥यो तर त्यसमा चित्त नबुझेको भन्दै बिरोध भैरहेका छन् । घटनामा अन्यपनि संलग्न हुन सक्ने र बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका सहित उनीहरुले प्रहरीमाथि दवाव दिएका छन् । प्रहरीले पनि यसवारे अनुसन्धान बाँकीनै रहेको जनाएको छ । कास्कीको लेखनाथ स्थित बेगनासतालमा माघ २६ गते विहान शब भेटिएको लेखनाथ १२ की २९ बर्षीय खिम माया पुनको अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न आवाज उठेको छ । माघ १७ गते पोखरा ५ शान्ति नगरचोक प्रगति मार्गमा मृत भेटिएकी मोरङकी ४० बर्षिय सरस्वती लिम्बु र माघ २७ गते दुई कुलाको मुहानमा मृत भेटिएकी पर्वतकी ३५ बर्षीय जमुना सुवेदीको पनि अन्य केहि तथ्य पत्ता लागेको छैन। यद्यपि प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा अन्य ब्यक्तिको संलग्नता नदेखिएको प्रहरीको दावी छ ।
यस्तै प्रहरी प्रमुख पालको सरुवा भएपनि उनको स्थानमा केन्द्रिय प्रहरी विशेष कार्यदलमा रहेका प्रहरी उपरीक्षक घनश्याम अर्याल आउदैछन् । प्रमुखको हेरफेरले अहिलेसम्मका अनुसन्धानमा कुनै असर नपर्ने पाल बताउछन् । ‘घटनाको अनुसन्धान अधिकृतहरु सबै उही हुन् तसर्थ यसमा कहिकतै तलमाथि हुदैन’– पालले भने । नयाँ प्रमुखका लागि पछिल्लो समयका हत्या घटनाको अनुसन्धान र त्यसलाई किनारा लगाउनुपर्ने बिषयनै प्रथामिकतामा पर्ने पत्रकार गोकुल बानियाँले पिस पोखरा डटकममा लेखेका छन् । त्यसपछि गुण्डागर्दी नियन्त्रण, अन्य अपराधिक घटना नियन्त्रणसँगै, लागूऔषध, ट्राफिक ब्यबस्थापन तथा आन्तरिक सुधारमा बिषय आउने छ ।


Post a Comment

 
Top