0
गोल्डेन न्यूज संवाददाता
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको निधन भएको छ। लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्ज स्थित आफ्नै निवासमा निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए।  पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशिल कोइरालाको स्वास–प्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ।  कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिए। कोइरालाले सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जिति सकेको बताउँदै आएका थिए। पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए। यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको भएपनि विरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन्। 
विक्रम सम्बत सन् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका कोइराला थिए। गत २०७० माघ २७ गते मुलुको ३७औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो। कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय भएका थिए। २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम  हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय भएर लागेका थिए। कोइराला कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न भएका हुन् । 
२०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहँदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न कोइराला गएका थिए। ०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए। २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान गएका थिए। 
राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील समेत भएका कोइराला २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित जीवन विताएका थिए। २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए। 
यसैगरी २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि
(बैशाख १ गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए। उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार भएका थिए। 
२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वा्चित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही ‘कु’ भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेपछि कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए। निरङ्कुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा  नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जीवन विताएका थिए।
 कांग्रेसको सदस्यता २०१२ सालमा लिएका कोइराला  तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए। पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०४५।४६ (सन १९९० )मा विदेश विभाग प्रमुख भएका थिए। २०५३ सालमा भएको नबौँ महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए। ११औं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौँ महाधिवेशन २०६७, १–५ असोजसम्म काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, आज सार्वजनिक विदा
मन्त्रिपरिषद्को आकस्मिक बैठकले मंगलबार राति निधन भएका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । तोप सलामीसहित अन्त्येष्टिको व्यवस्था गर्न मन्त्रिपरिषद्ले रक्षा र गृह मन्त्रालयलाई जिम्मा दिएको छ । कोइरालाको निधनले स्तब्ध भएको भन्दै मन्त्रिपरिषदले शोकमा भोलि बुधबार १ दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । यस्तै, आजदेखि तीन दिनसम्म नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यी तीन दिन कुनै औपचारिक सरकारी कार्यक्रम पनि गरिने छैन । माघ २८ र २९ गते परराष्ट्र मन्त्रालयलगायत विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा शोक पुस्तिका राखिने छ ।
जिल्ला अधिवेशन स्थगित
पार्टी सभापति सुशिल कोइरालाको निधन भएपछि बसेको नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले जारी जिल्लाहरुको अधिवेशनलाई फागुन १ गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । केही जिल्लामा हिजै अधिवेशन सम्पन्न भइसके पनि कतिपय जिल्लामा जारी छ । बैठकले सभापति कोइरालाको निधनको तीन दिन शोक मनाउने तथा १३ दिन पार्टी कार्यालयमा झन्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने पनि निर्णय गरेको छ । कार्य समितिले महाधिवेशन सार्ने विषयमा भने कुनै निर्णय गरेको छैन । ‘महाधिवेशन सर्दैन, आवश्यक प¥यो भने १–२ दिन तलमाथि हुनसक्छ,’ केन्द्रिय सदस्य डा. रामशरण महतले बैठकले भने । उनले बिधानले नै सभापतिको निधन भएमा उपसभापति स्वतस् कार्यबाहक सभापति हुने व्यवस्था गरेकाले यसका लागि थप निर्णय गर्नुनपर्ने पनि बताए । बैठक पौडेलको सभापित्वमा बसेको थियो ।
भारतले राम्रो मित्र गुमायो–मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै कांग्रेस सभापति सुशिल कोइरालाको निधन प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले कोइरालाको सादा जीवनबाट सबैले प्रेरणा पाएको उल्लेख गर्दै नेपाली कांग्रेस पार्टी आफ्नो ठूलो नेता गुमाएको बताएका छन् । उनले भारतले राम्रो मित्र गुमाएको बताउँदै नेपालले एक सच्चा राष्ट्रसेवक गुमाएको बताएका छन् ।
यस्तै भारतीय राष्ट्रपति प्रणव मुर्खजीले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाउँदै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधन प्रति शोक व्यक्त गरेका छन् । ‘नेपालले देशका लागि आफ्नो जीवन समर्पण गरेका असल नेता गुमाएको छ, जसले नेपाललाई संक्रमणकालिन अवस्थामा नेतृत्व प्रधान गरे र नयाँ संविधान जारी गर्न महत्वपूर्ण योगदान दिए,’ राष्ट्रपति भण्डारीलाई पठाइएको पत्रमा भनिएको छ, ‘हामी सबैले उनको साधा जीवनबाट प्रेरणा लिनुपर्छ ।’ पत्र मार्फत राष्ट्रपति मुखर्जीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनसमेत कोइरालाको योगदान रहेको उल्लेख गरेका छन् ।
यस्तै भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं आएर कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधनमा शोक व्यक्त गरिन् । उनका साथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोबाल, कांग्रेस आईका नेता आनन्द शर्मा, जनता दल(यू)का अध्यक्ष शरद यादव र भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी पनि आएका छन् । कोइरालाप्रति अन्तिम श्रद्धान्जली प्रकट गरेपछि स्वारजले प्रधानमन्त्री केपीशर्मा ओली गरिन् र मंगलबार राति नै स्वदेश भारत फर्किइन । 
राष्ट्रलाई अपुरणीय क्षति–भण्डारी
राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले संविधान निर्माणमा सुशिलले खेलेको भूमिकाको स्मरण गर्दै उनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अथक योद्धाको संज्ञा दिएकी छन् । राष्ट्रपतिले आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र सम्बद्र्धन कार्यमा समर्पित गर्नु भएका दिवंगत कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवार र शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विभिन्न संघसंस्थाद्वारा दुःख व्यक्त
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको गएराति भएको दुस्खद निधनप्रति राष्ट्रपति, विभिन्न राजनीतिक दल, व्यक्ति, संघरसंस्थाले समवेदना प्रकट गरेका छन् । यसरी समवेदना प्रकट गर्नेमा राप्रपा नेपाल, मजदुर किसान पार्टी, व्यवस्थापिका संसदको सभामुखको कार्यालय, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् लगायतका पार्टी तथा संस्था रहेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो शोक विज्ञप्ति जारी गर्दै भनेको छ,’ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको २०७२ साल माघ २६ गते भएको असामयिक निधनको समाचारले सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको छ ।’ नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा कोइरालाले जीवनपर्यन्त खेलेको भूमिका सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ’सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक समन्वय र सहकार्यमा जोड दिई संविधानसभाबाट संविधान जारी गर्न प्रधानमन्त्रीका हैसियतले स्वर्गीय कोइरालाले खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण गर्नुभएको छ । यस्ता राजनीतिज्ञलाई गुमाउनु पर्दा मुलुकलाई अपुरणीय क्षति पुग्न गएको व्यहोरा उल्लेख गर्दै सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र सम्बर्द्धन कार्यमा समर्पित गर्नु भएका दिवंगत कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।’ यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा हस्तक्षरित शोक विज्ञप्तिमा भनिएको छ,’–म र राप्रपा नेपाल परिवार स्तब्ध भएका छौं । दिवंगत स्व.कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल कोइराला परिवार एवं नेपाली कांग्रेस प्रति समवेदना प्रकट गर्दछु ।’
थापाले संविधान निर्माणको क्रममा स्व. कोइरालाले गरेको योगदानको सदा अविष्मरणीय रहनेछ बताउँदै संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको समयमा राष्ट्रलाई स्व. कोइरालाको अभाव खट्किने जनाएका छन् । विज्ञप्तिमा भनिएको छ,’–स्व. कोइरालाको निधनले राष्ट्रले असल, सरल, सादगी जीवनशैली भएको, लोकतन्त्रप्रति प्रतिबद्ध, लोकतन्त्रको सुदृढीकरणमा तल्लीन नेता गुमाएको मैले ठानेको छु ।’

Post a Comment

 
Top