0
गोल्डेन न्यूज संवाददाता
सुनसान मध्यरात, मस्त निद्रामा  पोखरेली । मध्यरातमा एक्कासी धेरै पटक बम पड्किएको जस्तो ठूला–ठूला आवाज । ठूला–ठूला आवाज लगातार आउन थालेपछि चिप्लेढुङ्गा आसपासका नागरिक तर्सिए अनि व्युँझिए । उठेर बाहिर निस्कि यता उता हेर्न थाले । सुनसान छ, निकै टाढा, ठूला–ठूला आवाज आउनेक्रम जारी नै छ । मध्यरातमा उठेका मध्ये केहीले ‘लेकसाइडको महोत्सवमा पटका पड्काइएको रहेछ’ भनेपछि फेरि सुत्न गए । 
पटका नपड्काउन जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश दिएको भएपनि आदेश विपरित नयाँ लेकसाईडमा व्यवसायीले आतसवाजी गरेका थिए । रेवान पोखराले अंग्रेजी नयाँ बर्षको अवसरमा लेकसाईडमा पाँच दिने सडक महोत्सव सुरु गरेकै दिन प्रशासनले विज्ञप्ति जारी गर्दै बिष्फोटक पदार्थ पड्काउन रोक लगाएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमवार जारी गरेको सुचनामा गत कार्तिक ७ गते कास्कीलाई पटका निषेधित क्षेत्र घोषणा गरिसकिएकाले त्यस्ता कुनैपनि गतिबिधि नगर्न सचेत गराईएको थियो । ‘कुनैपनि समारोह, उत्सव, महोत्सब वा कुनैपनि बहानामा कोही कसैले पनि कास्की जिल्ला भरमा पटका, भुईचम्पा, आतसवाजी लगायत कुनैपनि प्रज्वलनशिल पदार्थ प्रयोग गर्ने गैरकानूनी क्रियाकलाप नगर्नु नगराउनुहुन अनुरोध गरिएको छ ।’ प्रशासनद्वारा जारी सूचनामा भनिएको थियो ।
तर बिहीबार राति १२ बजे नयाँ बर्षको स्वागतार्थ लेकसाईडमा अघिल्ला बर्षमा जस्तै आतसवाजी गरियो । प्रशासनले बिज्ञप्ति जारी गरेपछि आतरवाजी हुने नहुने वारे अन्योलता रहेका बेला एक्कासी राति आतसवाजी गरिएको हो । आतसवाजीका बेला सुरक्षाकर्मीहरु पनि दर्शकको रुपमै रहे । नगरिक समाज पोखराले यसअघिका महोत्सवमा पनि आतसवाजीको बिरुद्ध आवाज उठाउदै आएको थियो । मध्यरातमा गरिने आतसवाजीले फेवातालका जलचरको साथै पारी रानीवनमा रहेका वन्यजन्तुमा पनि नकारात्मक प्रभाव पर्ने र स्थानिय नागरिकलाई पनि असर गर्ने भएकाले रोक लगाउन माग हुँदै आएको थियो । सोमवार नागरिक समाजले यस बिरुद्ध ज्ञापनपत्र बुझाएपछि प्रशासनले सूचना प्रकाशित गरी त्यस्ता गतिबिधिमा रोक लगाउन भनेको थियो ।

Post a Comment

 
Top