0
u
गंगाधर पराजुली ÷ गोल्डेन न्यूज
नेपाली कांग्रेसको १३औं महाधिवेशनले पार्टीका नेता कार्यकर्तालाई व्यस्त बनाएको छ । महाधिवेशनका क्रममा हुने गाउँ, वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका लागि नेता कार्यकर्ताको दौडधूप तीव्र बनेको छ । आम चुनावमा जस्तै कांग्रेसका नेता कार्यकर्ताहरु आ–आफ्नो क्षेत्रका घर दैलो र भेटघाट अभियानमा सक्रिय छन् । कोठे बैठकदेखि टोल र वडा स्तरका बैठकमात्र नभएर आफ्नो विचार समूह र गुट–उपगुटका गोप्य बैठकहरु पनि चलिरहेका छन् । कुन गाउँ, कुन नगर र कुन वडाबाट कसलाई चुनाव जिताउने भन्ने खेलमा नेता कार्यकर्ताहरु व्यस्त छन् । 

कांग्रेसको १३औं महाधिवेशन फागुनको अन्तिम साता काठमाडौंमा हुने भएपनि दशभरका गाउँ समिति, नगर तथा नगरका वडा समितिको अधिवेशन यहि माघ १५ गते हुँदैछ । यसैगरी निर्वाचन क्षेत्र स्तरीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते गर्न केन्द्रीय समितिले निर्देशन दिए अनुरुप आ–आफ्नो क्षेत्रको चुनावी रणनीति बनाउन सबै नेता कार्यकर्ता सक्रिय बनेका छन् । 

कांग्रेसको सांगठनिक संरचना अनुसार कांग्रेसले साधारण सदस्य भन्दा उपल्लो स्तरमा क्रियाशील सदस्यता वितरण गर्ने गर्दछ । तिनै क्रियाशील सदस्यहरुले विभिन्न गाउँ र नगरका वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्दछन् । यसैगरी गाउँ र नगरको सभापति सहितको कार्यसमिति चयन गर्ने अधिकार पनि तिनै क्रियाशील सदस्यहरुलाई रहेको छ । क्षेत्रीय प्रतिनिधिको रुपमा निर्वाचितहरुले क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र जिल्ला सभापति सहितको कार्यसमिति चयन गर्ने व्यवस्था भएकाले माघ १५ गते हुने गाउँ र नगरको वडा समितिको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बन्न सबै दौडधूपमा लागेका छन् । 

कांग्रेसको विधान अनुसार हरेक गाविसबाट २ महिलासहित १ दलित, १ आदिवासी र १ अल्पसंख्यक सहित ९ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । जसमा सभापति पदेन रहनेछ । २५ जना भन्दा बढी महिला सदस्य भएको र १०० जना भन्दा क्रियाशील सदस्य बढी भएमा १–१ जना प्रतिनिधि बढ्दा गाउँबाट क्षेत्रीय प्रतिनिधिको अधिकार पाउने १२ जना हुनेछन् । नगर क्षेत्रबाट भने प्रत्येक वडाबाट १ जना महिलासहित ५ जना प्रतिनिधि तोकिएकोमा महिलाको २५ र कूल सदस्य संख्या १०० कटेमा थप १–१ जना प्रतिनिधि बढ्दा वडा सभापति सहित ८ जना क्षेत्रीय प्रतिनिधि रहनेछन् । नगरको पूरै क्षेत्रबाट ४ जना दलित, ४ जना आदिवासी र ४ जना अल्पसंख्यक गरि १२ जना प्रतिनिधि चयन हुने व्यवस्था छ । 

कास्कीमा पनि महाधिवेशनको चटारोले छोएपछि सबै नेताहरु जिल्ला फर्किएका छन् । पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्व राज्यमन्त्री महादेव गुरुङ प्रकाश बहादुर गुरुङ्ग लगायत कामको सिलसिलामा जिल्ला बाहिर रहेका नेता कार्यकर्ताको उपस्थितिले कास्की कांग्रेसको कार्यालयमा चहल–पहल देखिन्छ । यसका साथै पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा, जिल्ला सभापति यज्ञबहादुर थापा सहित जिल्ला, क्षेत्रीय र नगरसमिति तथा महाधिवेशन प्रतिनिधि बन्न चाहना राख्नेहरुको बाक्लो उपस्थिति पार्टी कार्यालयमा हुने गरेको छ । यस्तो चहल–पहलमा कांग्रेसका शुभचिन्तक र सामान्य कार्यकर्ता समेत रमाउन थालेका छन् । 
जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रबाट खटिएका जिल्ला निर्वाचन अधिकृत खिमलाल पौडेल पनि पोखरा आइसकेका छन् । केन्द्रले दिएका कागजपत्र बोकेर पोखरा आएका उनले मंगलबार पार्टीका नेताहरु तारानाथ रानाभाट, शुक्रराज शर्मा, यज्ञबआदुर थापा, महादेव गुरुङ, प्रकाश बहादुर गुरुङ्ग,खेमराज पौडेल लगायत केही नेता र कार्यकर्तासंग छलफल समेत गरेका थिए । उनले केन्द्रीय निर्वाचन समितिले उपलव्ध गराएको मतदाता नामावली बोकेर आएको भएपनि केन्द्रले संशोधन गरि पठाउने थप नामावलीको प्रतिक्षा गरिरहेका छन् । 
प्राप्त जानकारी अनुसार कार्कीका ४ वटै निर्वाचन क्षेत्रका गरि कांग्रेसका क्रियाशिल सदस्यहरुको संख्या करिब १३ हजार रहेको छ भने पोखरा उप–महानगरपालिकामा ६ हजार ५०० र लेखनाथ नगरपालिका क्षेत्रमा २ हजार ५०० बढी क्रियाशील सदस्य रहेका छन् । सबै तहका अधिवेशनमा सम्बन्धित समितिको सभापति, १ सचिव र कोषाध्यक्ष सहित सदस्यहरुको निर्वाचन हुने र उपसभापति र १ सचिवको मनोनयन निर्वाचित सभापतिले गर्ने व्यवस्था रहेकाले कतिपयले मनोनित हुने दाउमा आवश्यक रणनीति तयार गरिरहेका छन् । 
माघ १५ गते हुने गाउँ, नगर र नगरका वडा अधिवेशनका लागि अहिले दौडधूप तीव्र छ । नगरको अधिवेशन १५ गते सम्पन्न हुन नसके १६ गते समेत गर्न सक्ने प्रावधान पार्टीले तयार गरेको छ । यसैक्रममा कास्कीका सबै गाउँ समिति र २ वटा नगर समितिको नेतृत्व लिनका लागि पार्टीभित्र आन्तरिक दौडधूप र प्रतिस्पर्धा बढेको छ । गाउँ र नगरको नेतृत्वमा पुग्ने र क्षेत्रीय प्रतिनिधि बन्नेहरुले नै क्षेत्र र जिल्लामा तथा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन चाहनेहरुको भाग्य निर्धारण गर्ने भएकाले आफू निकटका लागि ल्याउन क्षेत्रीय तथा जिल्लातहका नेताहरु आन्तरिक दौडधूप र रणनीति तयार गर्न व्यस्त छन् ।
माघ १५ गते हुने पोखरा नगरको अधिवेशनमा बजिरमान श्रेष्ठ र विमलबहादुर कार्कीबीच सभापतिमा प्रतिस्पर्धा हुने देखिएको छ । नगर सभापति बन्न धर्मदत्त ढुङ्गाना, सुवास कोइराला र सुवर्णजंग केसीले समेत चाहना गरेको बताइन्छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठलाई कांग्रेस नेता शुक्रराज र सांसद सारदा पौडेल सहितको समर्थन रहेको बताइन्छ भने कार्की अघिल्लो पटकको चुनावमा नगरसभापति पदमा विष्णुहरि बरालसंग पराजित भएकाले सहानुभूतिको मत समेत उनको पक्षमा आउने दावी गरिएको छ । श्रेष्ठलाई कांग्रेसभित्रको प्रजातान्त्रिक खेमाको पनि समर्थन रहने बताइएपनि कार्कीले समेत त्यस खेमाको समर्थन आफूलाई रहने दावी गरेका छन् । 
यसैगरी लेखनाथ नगरसमितिमा राजेन्द्रमणि लामिछाने र सुरजजंग राणा सभापति पदका लागि चाहना गरेका छन् । लामिछाने वर्तमान सभापति भएपनि कांग्रेसका स्थानीय नेता रामजी बादलको हत्यामा संलग्न रहेको आरोप लागेपछि उनी केही दिन प्रहरी हिरासतमा बस्नु परेको थियो । स्थानीय कांग्रेस युवा नारायणहरि तिवारीले नगर सभापति बन्ने चाहना गरेको भएपनि पार्टीभित्रको टकरावका कारण उनी कांग्रेस छोडेर नयाँ शक्तिमा लागेकोले लामिछानेका लागि चुनाव सहज हुने कतिपयको दावी छ । 
यसैगरी माघ २२ गते हुने क्षेत्रीय अधिवेशन अन्तर्गत कास्कीका विभिन्न ४ वटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति बन्ने चाहनेहरु समेत धेरै देखिएका छन् । कास्की क्षेत्र नं. १ बाट वर्तमान सभापति विर्जमान गुरुङ, सुदीपमोहन भट्टराई, कोपिला रानाभाट र प्रकाश खनालले क्षेत्रीय सभापति बन्ने चाहना राखेको बताइन्छ । वीर्जमानलाई त्यस क्षेत्रका नेता कृष्ण केसीको समर्थन रहेको कतिपयको भनाइ छ । नेविसंघका पूर्व केन्द्रीय सदस्य रहेका सुदिप मोहन नेता तारानाथ रानाभाट र जिल्ला सभापति यज्ञबहादुर थापा निकट मानिएकाले तारा र यज्ञको समर्थन सुदीपले पाउने कतिपयको अनुमान छ । यज्ञको नजिक मानिएकी कोपिला र प्रकाश समेत क्षेत्रीय सभापतिको आकांक्षी भएकाले उनीहरुलाई मिलाउन जिल्ला सभापति यज्ञलाई हम्मेहम्मे परेको छ । 
यसैगरी कास्की क्षेत्र नं. २ को सभापतिमा माधव बाँस्तोला मधु, पुष्पेन्द्र पाण्डे र पुलेन्द्रमान श्रेष्ठको नाम चर्चामा छन् । बाँस्तोला वर्तमान सभापति समेत हुन् । उनलाई कांग्रेस नेता शुक्रराज शर्मा र पाण्डेलाई सांसद शारदा पौडेलको  समर्थन रहेको बताइन्छ । श्रेष्ठ पुराना कांग्रेस कार्यकर्ता हुन् । उनी चुनावमा गए कांग्रेसको पूर्व प्रजातान्त्रिक खेमाका कार्यकर्ताको समर्थन रहने बताइन्छ । 
यसैगरी कास्की क्षेत्र नं. ३ को सभापतिमा वर्तमान सभापति शोभाचन्द्र बराल, वडा नं. १७ का वडा इकाइ सभापति पुण्डरिक बरल, पार्टीका जिल्ला सदस्य विजय आचार्य र भरतपोखरीका नेता केशर निर्दोषीको नाम चर्चामा छ । दुई बरालका बीच एकता कायम भए मा बलियो उम्मेदवार समेत उही देखिने कतिपयको भनाइ रहेपनि क्षेत्र नं. ३ का गाउँको मत एकै ठाउँमा पार्न सक्ने व्यक्ति र बरालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 
यसैगरी कास्की क्षेत्र नं. ४ मा वर्तमान सभापति आइबहादुर गुरुङ, नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली, पाटीृका जिल्ला सचिव युवराज कुँवर र जिल्ला सदस्य मनोज गुरुङको नाम चर्चामा छ । तर वर्तमान सभापति आइबहादुर दुई कार्यकालसम्म सभापति बनिसकेकोले उनी तेस्रो पटक प्रतिस्पर्धा गर्ने सोचमा छैनन् । उनले जिल्ला समितिको उपसभापति वा महत्वपूर्ण जिम्मेवारीको खोजी गरिरहेका छन् । जिल्ला सचिव युवराज कुँवर समेत क्षेत्रीय सभापति पदमा प्रतिस्पर्धा नगर्ने र आफ्नो चाहाना जिल्ला सचिवमा भएको बताउछन् । आइबहादुर र युवराजलाई कांग्रेस नेता शुक्रराजले क्षेत्रीय सभापति बन्न आग्रह गरेको भएपनि उनीहरुले त्यसलाई अस्वीकार गर्ने भएपछि त्यस क्षेत्रमा भेषराज सभापतिको बलियो उम्मेदवार मानिएका छन् । 
यसैगरी विभिन्न क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरुका लागि पनि आकांक्षीहरुको दौडधूप तीव्र बनेको छ । कास्की क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बन्नका लागि कांग्रेस नेता तारानाथ रानाभाट, जिल्ला सभापति यज्ञबहादुर थापा, जिल्ला सचिव कृष्ण केसी, समानुपातिकतर्फका सांसदका उम्मेदवार तिलक रानाभाट, पार्टीका पूर्व जिल्ला सचिव नन्द प्रसाद तिवारीका साथै नेताहरु ठाकुर कंडेल, बुद्धिमान गुरुङ,देवेन्द्र रानाभाट, चिनु रानाभाट, ऋषि बुढाथोकी, प्रकाश खनाल र गिरिराज गौतम र पूर्णबहादुर गुरुङको नाम चर्चामा छ । क्षेत्र नं. १ बाट महिलाहरुमा कोपिला रानाभाट, सुकन्तला गुरुङ, रसकुमारी गुरुङ, तारा अधिकारी र विन्दु सुवेदी पनि महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी देखिएका छन् । 
यसैगरी क्षेत्र नं. २ बाट सांसद शारदा पौडेलका साथै गुरु बराल, कृष्ण कार्की, निर्मल कर्माचार्य, पदमसिंह गुरुङ, ऋषि काप्mले, बाबुराम आचार्य, पुलेन्द्रमान श्रेष्ठ, सुशिलराज पराजुली, सीता गुरुङ, खेमकुमारी बराल, किशोरदत्त बराल, लक्ष्मी पाण्डे, पुष्पराज पराजुली, शिरोमणि बराल, अनिता तिमिल्सिना लगायतले महाधिवेशन प्रतिनिधि बन्ने चाहना गरेको बताइन्छ । 
महाधिवेशन प्रतिनिधिमा कास्की क्षेत्र नं. ३ बाट चाहना राख्नेहरुमा शोभाचन्द्र बराल, शोभियतबहादुर अधिकारी, रामजी कुँवर, देवराज चालिसे, डा.रामचन्द्र पोखरेल,राजेन्द्र निधि कोइराला गंगाधर पराजुली,राजेन्द्र बहादुर कोइराला, नरेशशंकर पालिखे, मुक्ति केसी, पुरुर्षोत्तम पराजुली, विष्णु बाँस्तोला, वीरेन्द्रनारायण विजुक्छ र विष्णु हरि बराल लगायतको नाम चर्चामा छ । यस क्षेत्रबाट महिलाहरु मध्ये सांसद वृन्दा राना, सकुन्तला  कोइराला, सुनयना पालिखे, गंगा केसी, शारदा सुवेदी, विष्णु कोइराला, उमा थापा लगायतको नाम महाधिवेशन प्रतिनिधि बन्ने चाहना गरेका छन् । 
यसैगरी कास्की क्षेत्र नं. ४ बाट शुक्रराज शर्मा, खेमराज पौडेल,आनन्दराज मुल्मी, रामचन्द्र त्रिपाठी, अग्निधर पराजुली, पोषनाथ शर्मा, महादेव गुरुङ, दुर्गा तिमिल्सिना, खुशीमान गुरुङ, सिकन्दर कुमार गुरुङ, राजबहादुर गुरुङ, मुत्तिःराम अधिकारी, दीपक गुरुङ, देवेन्द्र शेरचन, रामप्रसाद अधिकारी, मनोज गुरुङ, खम्वासिंह गुरुङ लगायतको नाम महाधिवेशन प्रतिनिधिमा चर्चामा छ । उक्त क्षेत्रबाट महिलातर्फ सेती कुँवर, खेमकुमारी गुरुङ, गौमती थापा, हरिमाया गुरुङ र कमला बराल लगायतले पनि महाधिवेशन प्रतिनिधि बन्ने चाहना राखेका छन् ।
कास्की कांग्रेसको सभापति बन्न चाहना राख्नेहरुको संख्या झण्डै १ दर्जन रहेपनि गाउँ, नगरको अधिवेशनपछि मात्रै वास्तविक प्रतिस्पर्धी थाहा हुने अवस्था छ । अहिले जिल्ला सभापतिका लागि शुक्रराज शर्मा, खेमराज पौडेल, कृष्ण केसी, रामचन्द्र त्रिपाठी, देवराज चालिसे, पोषनाथ शर्मा, गुरु बराल, कृष्ण कार्की र विष्णुप्रसाद बाँस्तोलाले चाहना गरेको अनुमान गरिएपनि माघ १५ पछि उल्लेखित नाम मध्ये २ देखि ४ जनाको बीचमा प्रतिपस्र्धा हुने सम्भावना छ । 
पार्टीको जिल्ला नेतृत्वमा तथा महाधिवेशनमा आउन चाहनेहरुले समेत अझैसम्म खुलेर प्रचार गरेका छैनन् । माघ १५ मा हुने गाउँ, नगरको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने र त्यसपछिमात्र आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने सबैको चाहना भएकाले माथिल्लो तहको उम्मेदवारी सार्वजनिक हुन नसकेको हो । यसका साथै अहिले नै उम्मेदवारी सार्वजनिक गर्दा तल्लो तह अर्थात क्षेत्रीय प्रतिनिधिमा चुनाव हराइदिने आशंकाले पनि कतिपयले खुलेर आफ्नो चाहना प्रकट गरेका छैनन् । त्यसैले पार्टीको जिल्ला सभापतिको दोडमा रहेकाहरु तथा महाधिवेशन प्रतिनिधि बन्न चाहना राख्नेहरुलाई माघ १६ पछि चुनावी प्रतिस्पर्धा र गतिविधिले ठूलो झड्का दिने निश्चित छ । 
यसपटक केन्द्रीय समितिले लगातार दुई कार्याकाल पूरा गरेको व्यक्तिलाई तेस्रो कार्यकालका लागि जिल्ला सभापति बन्न नपाउने निर्णय गरेपछि कास्की कांग्रेसका सभापति यज्ञबहादुर थापाले विश्राम लिनुपर्ने भएको छ ।


Post a Comment

 
Top