0
गोल्डेन न्यूज संवाददाता
गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’ सिजन दुई अन्तरगत गायन तर्फ सुनिल आरडी र नृत्यतर्फ ममता अधिकारी विजेता बनेका छन् । शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा दुवै विधामा विजेता भएकाहरुले जनही ५० हजार नगद सहित हार्टफोर्ड स्कुटर प्राप्त गरे । साथमा उनीहरुले साँगीतिक एल्बम र म्यूजिक भिडियोमा अभिनयको मौका पनि पाएको आयोजकले बताएका छन् । 
सुरताल कला केन्द्रको आयोजनामा भएको दोस्रो सिजनको यो प्रतियोगिता अन्तर्गत गायनतर्फ प्रिया गुरुङ फस्ट रनरअप बनिन् भने सिर्जना गुरुङले सेकेन्ड रनरअपको उपाधी आफ्नो पोल्टामा पारिन् । त्यस्तै नृत्यतर्फ दिपक गर्बुजा फस्ट रनरअप भए भने जुना पुन सेकेन्ड रनरअप भईन् । फस्ट रनरअप हुने दुवै जनाले २०÷२० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।  प्रतियोगिताको ग्राण्ड फिनालेमा गायन र नृत्य दुवै विधामा ६÷६ जनाले प्रतिस्पर्धा गरेका थिए । गायन तथा नृत्य प्रतियोगिता ‘सुर ताल’मा १० जिल्लाबाट करिब एक हजार जना सहभागी भएका थिए । शनिबार भएको ग्राण्ड फिनालेमा महानायक राजेश हमालले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित भएका हमालले विजेताहरुलाई बधाई दिनुका साथै आगामी दिनमा पनि अझै राम्रो प्रगति गर्दै जान शुभकामना दिएका थिए । त्यस्तै उनले आफ्नो पछिल्लो फिल्म ‘बागमती’को डाईलग समेत प्रस्तुत गरेका थिए । धर्मपत्नी मधु भट्टराईसँग आएका हमाल कार्यक्रम चल्दै गर्दा गायक तिलकबम मल्लको प्रस्तुतिमा स्टेज उक्लेर आफ्ना प्रशंसकहरुसँग नाचेका पनि थिए । सुर तालको यो सिजनमा गायनतर्फ रामभक्त जोजिजु र योगेश काजी बिसी निर्णायक रहेका थिए भने नृत्यतर्फ गोरे गुरुङ र देवराज राई निर्णायक रहेका थिए । ‘सबैजनाको सहयोग र सुभेच्छाले गर्दा हामीले सफलताका साथ दोस्रो सिजनको सुर ताललाई समापन गर्न सक्यौँ ।’ प्रतियोगिताका सँयोजक प्रशान्त सुनार ग्राण्ड फिनालेमा सबैप्रति धन्यबादी सुनिए । उनले आगामी दिनमा पनि गायन तथा नृत्य प्रतिभाहरुका लागि आफुले ‘सुर ताल’को मञ्च प्रदान गरिरहने प्रतिबद्धता जनाए ।









Post a Comment

 
Top