0
गोल्डेन न्यूज संवाददाता
मिलन युवा क्लवको आयोजनामा लमजुङको गिलुङमा जारी क्वोइ च्हों देवी रनिङ शिल्ड फुटबल प्रतियोगितामा महिलाका पाँच टीम सहभागी भएका छन् । आइतबारदेखि सुरु भएको पुरुष तथा महिला खुल्ला नकआउट फुटवल प्रतियोगिता बुधबारदेखि महिला फुटबल हुने जनाइएको छ । पुरुष फुटबलतर्फ भने मंगलबारदेखि प्रि–क्वार्टरफाइनलका खेल सुरु भएका छन् । प्रथम चरण अन्तर्गत नै मंगलबारको पहिलो खेल आयोजक सेतो र क्रियटिभ युथ क्लव ‘ए’, डढुवाबीच भएको थियो । चारजना अफ्रिकन खेलाडि लिएर मैदानमा उत्रिएको क्रियटिभले १ का विरुद्द ५ गोल गर्दै आयोजक सेतोलाई पाखा लगायो । प्रि–क्वार्टरफाईनलको पहिलो खेलमा आयोजक रातोले सुर्योदय निमावि, घाम्राङलाई शून्यका विरुद्द १ गोलले हराएको छ । त्यस्तै, मितेरी युवा क्लव, घाम्राङले अण्डर सिक्सटिन गिलुङलाई २–१ गोलअन्तरले हरायो । मंगलबार नै अण्डर सिक्सटिन, दुधपोखरी, पसगाउँले बाई पाएर दोश्रो चरणमा प्रवेश गरेको अण्डर नाइन्टिन, डढुवालाई शून्यका विरुद्द १ गोल गर्दै जित हात पा¥यो । बाई पाएको अर्को टिम कास्की भाचोकको लम्तरी युथ क्लव पनि क्रियटिभ डढुवा ‘ए’ सँग ०–२ गोलले स्तब्ध बन्यो ।

मंगलबारका खेलमा क्रियटिभ डढुवाका अफ्रिकन खेलाडी फेब्राइस, आयोजक रातोका त्रिदेव गुरुङ, अण्डर सिक्सटिन, गिलुङका सुदेश गुरुङ, अण्डर सिक्सटिन, दूधपोखरीका रोशन गुरुङ र लम्तरी युथ क्लव भाचोकका अनिश गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए । बुधबार शिशुवा एफ.सी ‘ए’ र लौवारी रातो गिलुङबीच प्रि–क्वार्टरफाइनल खेल हुने आयोजक मिलन युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । अर्को खेल सप्तकन्या युथ क्लव छापा र मनकामना युथ क्लव, कमेरेबीच हुने छ । महिला फुटबलको पहिलो खेल गिलुङ‘ए’ र क्रियटिभ युथ क्लव, डढुवाबीच हुने क्लवका अध्यक्ष गुरुङले बताए । क्लवले गिलुङको चिसापानीमास्थित बुद्धोदय उच्च माविको ४१ औं बार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको हो । विद्यालयले मंगलबार एक समारोहको आयोजना गरी वार्षिकोत्सव मनाउँदै छ ।

पुरुष फुटवलतर्फ प्रतियोगिता मा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला फुटवल प्रतियोगितातर्फ प्रथम हुने टिमलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुने टिमलाई नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।        २०४२ सालमा स्थापित मिलन युवा क्लवले २०५४ सालदेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवले यहि वर्षदेखि महिला फुटवल प्रतियोगिता पनि समावेश गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक गिलुङ समाज, यूके रहेको छ । प्रतियोगिताका अन्य प्रायोजकहरुमा गिलुङ समाज, हङकङ, गिलुङ गाउँ सुधार सहयोग समिति, पोखरा र गिलुङ गाविस कार्यालय रहेका छन् ।









Post a Comment

 
Top