0
व्यवस्थापिका–संसदको ३ सय ३८ मत प्राप्त गरी असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली देशको ३८औं प्रधानमन्त्री बने । उनको प्रधानमन्त्री पदारोहण निकै चुनौतिपूर्ण समयमा भएको थियो । संविधानसभाबाट जारी संविधानप्रति असहमति जनाउँदै मधेसकेन्द्रित दल आन्दोलन गरिरहेका थिए । भारतले नाकाबन्दी गरेको थियो । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा गएको थियो ।
मधेसको आन्दोलन अझै रोकिएको छैन, न त भारतको नाकाबन्दी नै । यही अस्तव्यस्त वातावरणमा ओली सरकारको मधुमास अवधि सकिएको छ । ओली सरकारको १०० दिने यात्राका २५ गतिविधि यस्ता देखिएः
१. ओलीको नेतृत्वमा सरकार गठन भएको दोस्रो दिन नै तुइन उन्मुलन गर्ने निर्णय गरियो । प्रधानमन्त्री ओलीले भने, ‘अब तुइनको जमाना सकियो । देशभरका तुइन झोलुंगे पुलले विस्थापित गर्छु ।’ उनको यो अभिव्यक्ति चर्चामा आयो । सय दिनसम्म आइपुग्दा उनले यस्ता धेरै चर्चित अभिव्यक्ति दिए ।
२. सरकार गठन भएको एक सातादिन पछि ३० असोजमा नाकाबन्दी खुलाउने पहलका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत गए । तर पनि भारतले नाकाबन्दी जारी राखिरहेपछि उनी १४ मंसिरमा फेरि भारतको अनौपचारिक भ्रमणमा गए । त्यसले पनि केही परिणाम भने प्राप्त भएन ।
३. नाकाबन्दी सुशील कोइराला सरकारकै पालामा भएको थियो । तर सरकारले नाकाबन्दी भन्न सकेको थिएन । त्यस्तो बेला प्रधानमन्त्री भएर ओलीले युद्धको बेलासमेत रोक नलगाइने औषधी भारतले रोकेको अभिव्यक्ति दिए ।
४. नाकाबन्दीले इन्धन अभाव भइरहेको बेला आपूर्तिमा भारतको एकाधिकार तोड्दै कात्तिक ११ गते कूल आवश्यकताको एक तिहाई पेट्रोलियम पदार्थ चीनबाट आपूर्ति गर्ने गरी पेट्रो चाइनासँग समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरियो । तर तीन महिना बित्दा पनि आपूर्ति सम्झौता भने हुन सकेको छैन ।
५. कात्तिक १९ गते आयात–निर्यातका लागि सातवटा नाका खोल्ने लगायतका बिषयमा नेपाल र चीन भन्सार विभागस्तरीय सम्झौता भयो । यसैबीचमा नेपाल र चीनबीच तेल, ग्याँस र उर्जा व्यापारलगायत आठबुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । पुसको पहिलो साता उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको टोली चीन भ्रमणमा गयो ।
६. सरकारले जनताको समस्यामाथि आँखा चिम्लेको व्यापक प्रतिक्रिया आइरहेको बेला २९ कात्तिकमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरे । मंसिरको सुरुवातमै अर्थ मन्त्रालयद्वारा देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्य्दिशासम्बन्धी श्वेतपत्र जारी गर्यो । २४ मंसिरमा मन्त्रीपरिषद् बैठकले सरकारको तत्काल सुधार कार्ययोजना पारित गर्यो ।
७. संविधान संशोधन र पुनःनिर्माण विधेयक २९ मंसिरमा संसद्मा पेश भयो । भूकम्पबाट प्रभावित संरचना पुनःनिर्माण सम्बन्धी विधेयक व्यवस्थापिका संसद्बाट १ पुसमा पारित भयो ।
८. पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी ऐन निर्माण भएपछि १० पुसमा पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त गरियो र सदस्यहरूको टुंगो लगाइयो ।
९. ५ पुसमा तीन महिनाको राजनीतिक संयन्त्र गठन गरी सीमांकन विवाद समाधान गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय भयो ।
१०. १ कात्तिक, २३ कात्तिक र ९ पुसमा विस्तार गरेर मन्त्री परिषद् ४० जनाको बनाइयो । ६ उपप्रधानमन्त्री, २१ मन्त्री, १० राज्यमन्त्री र दुई सहायकमन्त्री बने । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकार बढाउनु बाध्यता भएको बताए । तर त्यसमा आपत्ति गर्नुपर्ने कुनै कारण नभएको भन्दै उनले भने, ‘सांसदलाई मन्त्री बनाउँदा दुई हजार तलब बढ्ने त हो ।’
११. विभिन्न साना पार्टीलाई पनि सरकारमा लैजाँदा मन्त्री परिषद् जम्बो त भयो नै, भागवण्डा मिलाउन मन्त्रालयहरू टुक्र्याइयो । सहरी विकास मन्त्रालय फुटाएर सहरी विकास र खानेपानी तथा सरसफाइ मन्त्रालय बनाइयो । कृषि विकास मन्त्रालय फुटाएर पशुविकास मन्त्रालय छुट्टै बनाइयो । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरणलाई अलग्गाइयो । वाणिज्य र आपूर्ति एउटै मन्त्रालय थियो, वाणिज्य र आपूर्ति छुट्टै बनाइयो ।
१२. खानेपानी तथा सरसफाइ र शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा विभागीय मन्त्री एउटा पार्टीको र राज्य तथा सहायकमन्त्री बेग्लै पार्टीको राखेर नयाँ प्रयोग गरियो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीसमेत राखियो ।
१३. १६ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भयो । संवादपछि इतिहासमै पहिलोपटक नेपाली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई थर्काएको भन्ने चर्चा पनि चल्यो ।
१४. १७ पुसमा १९३ वटा ऐनलाई संविधान अनुकूल बनाउन व्यवस्थापिका संसद्मा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गरियो ।
१५. पुस २४ गते काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘अब ग्यासको बुलेट कहिले आउला भनेर हेर्ने दिन गए । अलिकति समय दिनुस्, सिलिन्डर युग अन्त्य गर्छु, हरेक घरको चूलोमा ग्यासको पाइप जोडिदिन्छु ।’ जनता ग्याँस नपाएर छट्पटिइरहेको बेला आएको उनको अभिव्यक्ति आधारहीन र हावादारी भएको भन्दै सामाजिक सञ्जाल र सञ्चार माध्यममा आलोचना गरियो ।
१६. ओली सरकारको पालामा कालोबजारी झनै मौलायो । यस्तो बेला उपप्रधानमन्त्री कमल थापाले ‘कालोबजारियाले सरकारलाई सहयोग गरेको’ सार्वजनिक अभिव्यक्ति नै दिए ।
१७. प्रधानमन्त्री ओलीले एक बर्ष्भित्र लोडसेडिङ हटाउने घोषणा दुई पटक गरे । तर बिद्युत प्राधिकरणले नै त्यसको सम्भावना नभएको बताइरहेको छ । लोडसेडिङ बढेर १५ घन्टा पुगेको छ । निर्माणाधीन जलविद्युत आयोजनाको काम रोकिएको छ ।
१८. भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन प्रतिपरिवार दश हजार वितरण गर्ने सरकारकोे निर्णय कार्यान्वायन भयो । ३० पुसमा नेपालस्थिल कूटनीतिक नियोगका प्रमुखहरूलाई नाकाबन्दीको असर र भूकम्प पीडितको अवस्थाबारे ब्रिफिङ गरियो ।
१९. २२ कात्तिकमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘अर्को बर्षको तिहारसम्म देशलाई लोडसेडिङ मुक्त बनाइदिन्छु ।’
२०. २७ मंसिरमा एमाले, काभ्रेको नवौं जिल्ला अधिवेशमा प्रधानमन्त्री ओलीले भने, ‘हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङमुक्त बनाउँछु ।’
२१. २४ पुसमा एमाले उपत्याकास्तरीय कार्यकर्ता भेलामा पुगेका प्रधानमन्त्री ओलीले अर्को चर्चामा आउने भाषण गरे, ‘सिलिण्डरको फेज समाप्त पारिदिन्छु । घर–घरमा चुला–चुलामा ग्यास पाइप पुर्याइदिन्छु ।’
२२. १७ पुसमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले आफ्नो लोडसेडिङ अन्त्यको प्रतिबद्धता दोहोर्याए, ‘हावादारी गफ होइन, साँच्चै एक वर्ष्भित्रै लोडसेडिङ अन्त्य गर्छु ।’
२३. ललितपुरमा आयोजित निजामती सेवामा महिला विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै २७ पुसमा प्रधानमन्त्रीले अर्को चर्चित भाषण गरे । उनले भने, ‘यथार्थ कुरा बोल्नै नहुने, पत्रिकाले हावादारी भनिदिइहाल्छन् ।’
२४. प्रधानमन्त्री ओलीले काठमाडौमा रेल चलाउने अभिव्यक्ति पनि दिन भ्याए । माघ १ मा राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘काठमाडौमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि म त्यसको सुरुवात गर्नेछु ।’
२५. माघ १ गतेकै दिन अर्को कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्को चर्चामा आउने अभिव्यक्ति दिए । उनले भने, ‘अब फोहोरबाट ग्यास निकाल्छु ।’
साभार ः रातोपाटी डटकम









Post a Comment

 
Top