0
गोल्डेन न्यूज संवाददाता
नाकाबन्दीका बावजूद पनि  छैठांै पोखरा महोत्सव सम्पन्न भयो । महोत्सव पुस ३० देखि शुरु भएको थियो । महोत्सवको अन्तिम दिन आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले समापन गरे । कार्यक्रममा वोल्दै युनाइटेड क्लवले देशको विषमपरिस्थितिमा पनि महोत्सवको आयोजना गरेर पोखराको पर्यटनलाई पुनःर्जागरण गर्न सघाउ पु¥याएको बताए ।
पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद र नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा अगाडि बढेको र महोत्सवबाट यस्ता कामहरु गर्दा पर्यटन क्षेत्रलाई समेत समावेश गरेकोमा आफू गौरवान्वित भएको मन्त्री पोखरेलले बताए । पोखरामा चिडियाखाना निर्माणको क्रम अगाडि वढिसकेको र त्यसबारेमा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने समेत उनले प्रतिवद्धता जनाए । कार्यक्रममा वोल्दै क्षेत्रीय वन कार्यालय पोखराकाका निर्देशक शान्तमणि ताम्राकारले पोखरामा निर्माण हुने चिडियाखानालाई क्षेत्रीय वन कार्यालयले सक्दो सहयोग गर्ने र सहकार्य गरी अगाडि वढ्ने प्रतिवद्धता जनाए । 
महोत्सवका मुख्य प्रायोजक शालिमार सिमेन्टका प्रतिनिधि तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश चौधरीले युनाइटेड क्लवसंगको सहकार्यलाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिवद्धता जनाए। क्लवका अध्यक्ष हिमालय बख्रेलले पोखरामा क्षेत्रीय स्तरको चिडियाखानाको निर्माण कार्य अगाडि बढिरहेको र सम्पूर्ण क्षेत्रका ब्याक्तिहरुको सहकार्यमा आफूहरु अगाडि वढिरहेको बताए ।  पर्यटन मन्त्रालयले आफूहरुको उद्देश्यमा रहेको चिडियाखाना निर्माणको कामलाई सहयोग गर्न समेत बख्रेलले पर्यटन मन्त्रीसंग आग्रह गरे । कार्यक्रममा क्लवका उपाध्यक्ष शुकबहादुर गुरुङ, सचिव लालकाजी गुरुङ, कोषाध्यक्ष राजु श्रेष्ठले पनि बोलेका थिए ।
महोत्सवमा दुई लाख १९ हजार दर्शकले महोत्सवको अवलोकन गरे भने महोत्सवमा १३ करोड ६० लाख रुपैयाँ बराबरको कारोवार भएको महोत्सवका अर्थ तथा स्टल उपसमितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको अन्तिम दिन आइतबार मात्र १५ हजार दर्शकले अवलोकन गरे भने १ करोड ५० लाखको कारोवार भएको उनले बताए । 
यसैगरी महोत्सवमा आयोजना गरिएको पोखरा तारा दुई नृत्य प्रतियोगिताको उपाधि निखिल बिसीले  हात पारेका छन् । विसीले उपाधिसंगै नगद ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै उपबिजेता पवित्रा गुरुङले २५ हजार रुपैयाँ नगद सहित गिफ्ट ह्याम्पर हात पार्न सफल भइन । प्रतियोगिताका बिजेता र उपबिजेताले म्युजिक भिडियोमा समेत अवसर पाउने प्रतियोगिताका संयोजक सुरज थापा मगरले जानकारी दिए । त्यस्तै प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल मिना सेवानले १० हजार रुपैयाँ नगद सहित गिफ्ट ह्याम्पर र सान्त्वना पुरस्कार प्रकृति थापा मगरले ५ हजार रुपैयाँ नगद सहित गिफ्ट ह्याम्पर प्राप्त गरिन ।

Post a Comment

 
Top