0
मौसम परिवर्तनसँगै सामान्य रुघाखोकी देखिनु स्वाभाविकै हो । छिनमै चर्को गर्मी त छिनमै झरर पानी पर्ने अहिलेको मौसममा रुखाखोकीको सम्भावना बढिरहेको हुन्छ । तर, यो रुघाखोकीलाई बेवास्ता गरियो भने यसले निमोनियासम्मको डरलाग्दो अवस्था पनि निम्त्याइदिन सक्छ । अहिले यस्तै भएको छ, देशभरि निमोनियाका बिरामी बढेका छन् । विशेष गरी यसले पाँच वर्षमुनिका बालबालिकालाई बढी च्यापिरहेको हुन्छ । त्यसैले सामान्य रुघाखोकी देख्नासाथ बच्चालाई उचित स्याहार गर्न थालिहाल्नुपर्छ । वर्षातको चिसो शरीरमा गड्न दिनु हुँदैन ।
चिकित्सकका अनुसार निमोनिया श्वास प्रश्वाससम्बन्धी रोग हो । यो रोग लाग्दा शिशुलाई खोकी लाग्छ, ज्वरो आउँछ र सास फेर्न गाह्रो हुन्छ । छिटो–छिटो सास फेर्छ । एक मिनेटमा एकवर्षे शिशुले ५० देखि ६० पटकसम्म सास फेर्छ भने त्यो छिटो मानिन्छ । कान्ति बालअस्पतालका निर्देशक डा. आरपी बिच्छा प्रतिमिनेट ४० पटकभन्दा कम सास फेर्ने शिशु निरोगी हुने बताउँछन् । ‘आँखाले देख्न नसकिने किटाणुबाट श्वास प्रश्वाससम्बन्धी फोक्सो र त्यसका सहायक अंगमा संक्रमण भई सास फेर्न असजिलो भएपछि निमोनिया हुने गर्छ,’ उनले भने, ‘निमोनियाले फोक्सो र त्यससँग सम्बन्धित अन्य
अंगमा असर पार्छ ।’ रुघाखोकी हुनेबित्तिकै घरेलु उपचारमा ध्यान दिने हो भने निमोनिया हुनबाट जोगाउन सकिने उनले बताए । विज्ञका अनुसार नेपालमा बालमृत्युको प्रमुख कारण निमोनिया नै हो । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्यांक अनुसार श्वास प्रश्वाससम्बन्धी रोगबाट बर्से्नि २ लाख ८५ हजार बालबालिका पीडित हुने गरेका छन् । तीमध्ये १५ हजारको मृत्युको निमोनिया नै हुन्छ । पछिल्ला तीन वर्षयता निमोनियाबाट संक्रमित हुने बालबालिकाको संख्या बढिरहेकोप्रति महाशाखा चिन्तित छ ।
शिशुको कोखा हान्नुलाई पनि निमोनियाको लक्षण मानिन्छ । शिशुले सास लिँदा छातीको तल्लो भाग र पेटको माथिल्लो भागको छाला भित्र पसेमा कोखा हानेको हुन्छ । स्वस्थ शिशुले सास लिँदा छातीको तल्लो भागको छालाका साथै छातीको सम्पूर्ण भाग बाहिर आउने डा. बिच्छाले बताए । उनका अनुसार नङ तथा ओठ नीलो भएको अवस्थालाई गम्भीर रूपमा हेर्नुपर्छ, अक्सिजन दिनुपर्ने पनि हुन सक्छ । यी लक्षण देख्नासाथ एक मिनेट पनि ढिलो नगरी अस्पताल पुर्रुयाउन उनी सुझाउँछन् । गम्भीर अवस्थामा पुगिसकेका बच्चामा ब्युँझाउन गाह्रो हुने, झोल कुरा तथा आमाको दूध राम्ररी पिउन नसक्ने, कडा कुपोषण देखिने, ज्वरो आउने, नाइटो पाक्ने, छालामा पिपले भरिएका फोका देखिने लक्षण पनि हुन सक्छ ।
कान्ति बाल अस्पताल रेकर्ड शाखाकी प्रमुख बिन्दु श्रेष्ठका अनुसार कान्तिमा श्वास प्रश्वाससम्बन्धी रोगबाट संक्रमित नौ सय बालबालिका हरेक महिना उपचारका लागि आउने गरेका छन् । तीमध्ये पाँच सयभन्दा बढीलाई निमोनिया हुन्छ । काठमाडौंमा वायु प्रदूषण र धुलो धुवाँका कारण छातीमा संक्रमण देखिनाले पनि पाँच वर्षमुनिका बालबालिकामा निमोनिया बढेको बालरोग विशेषज्ञ डा. रमेशचन्द्र अधिकारी बताउँछन् । उनका अनुसार बढी जनघनत्व, सरसफाइको कमी र हेरचाह अभावले पनि यो जोखिम बढाउन थप भूमिका खेलेको छ ।
निमोनियामा ज्वरो आयो भन्दैमा आफूखुसी सिटामोल अथवा अन्य औषधि खवाउन नहुने चिकित्सक बताउँछन् । साधारण रुघाखोकीमै औषधि प्रयोग गर्दा पनि शिशुमा नराम्रो असर पर्न सक्छ । निमोनिया औषधिबाट निको पार्न सकिन्छ तर त्यो औषधि चिकित्सकको परामर्शमा प्रयोग गरिएको हुनुपर्छ ।
घरेलु उपचार
निमोनिया औषधिले मात्र निको हुने होइन, यसको महत्वपूर्ण उपचार भनेको हेरचाहमा ध्यान दिनु नै हो । लक्षण देखिनासाथ बच्चालाई न्यानो पारेर राख्नुपर्छ, आमाको दूध पटक–पटक खुवाइराख्नुपर्छ । किनकि यस्तो बेला बच्चाले एकैपटक धेरै दूध चुस्न सक्दैन । बच्चालाई सास फेर्न असजिलो हुने भएकाले सफा कपडा नुनपानीमा चोबेर नाक सफा गरिरहनुपर्छ । खोकी बढी लागेमा घरेलु मह, अदुवाको रस, तुलसीको पात राखेर उमालेको पानीमा बेसार मिलाएर खुवाउनु राम्रो मानिन्छ । पीडित शिशुको उमेर ६ महिनाभन्दा बढी छ भने झोल पदार्थ र खानेकुरा पहिलेभन्दा बढी खुवाइरहनुपर्छ ।
लक्षण
बालबालिकालाई खोकी लाग्ने, सिँगान बग्ने र हल्का ज्वरो आउने गर्छ । छिटोछिटो सास फेर्ने, सास फेर्न असजिलो हुने, अत्यधिक ज्वरो आउने र कोखा हान्ने हुन्छ । कडा खालको निमोनिया भएमा बच्चा खान, पिउन नसक्ने, बेहोस हुने र आमाको दूधसमेत चुस्न नसक्ने हुन्छ । कुनै–कुनै बच्चाले सास फेर्दा पनि अस्वाभाविक आवाज निकाल्न सक्छन् ।
पूर्वसावधानी
– बच्चालाई न्यानो तर हावा आउन जान सक्ने कोठामा राख्नुपर्छ ।
– न्यानो लुगा लगाइदिनुपर्छ, सकभर भान्सा कोठामा राख्नुहुँदैन । धुवाँ, धुलो र मट्टीतेलको खारबाट जोगाउनुपर्छ ।
– जन्मेको एक वर्ष्भित्रै सम्पूर्ण खोपको मात्रा दिइसक्नुपर्छ ।
– जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपछि पोसिलो र ताजा खानेकुरा पनि थप्नुपर्छ ।
– धुलो र फोहोर वातावरणमा खेल्न दिनु हँुदैन ।
– चिसोपानीले नुहाइदिनु हुँदैन ।
– बालबालिका भएको ठाउँमा धूमपान गर्नु हँुदैन ।
– बालबालिकालाई पानीमा भिज्न दिनु हुँदैन ।
कसरी जोगाउने त ?
चिसो मौसममा केटाकेटीलाई न्यानो पारेर राख्नुका साथै ६ महिनासम्म नियमीत स्तनपान, आवश्यक पोषण, धुँवा धुलोबाट जोगाउने र आवश्यक पर्ने जति खोप दिए निमोनियाबाट जोगाउन सकिने बालस्वास्थ्य महाशाखाका निर्देशक उप्रेतीको भनाइ छ ।
यस्तै बच्चालाई जन्मेको ६ महिनासम्म नियमीत आमाको दूध मात्रै खुवाउने, त्यसपछि आमाको दूधसंगै पोषिलो खानेकुरा खुवाउने, बच्चा निसास्सिने वातावरणमा नराख्ने  तथा चिसो हुन्छ भनेर गुम्स्याएर नराख्ने गर्नुपर्छ ।
बालबालिकालाई निमोनियाबाट जोगाउन परिवारले निमोनिया के हो ? लक्षण कस्तो हुन्छ ? उपचार गर्न कहाँ जानुपर्छ जस्ता कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।   निमोनियाका कारण विश्वभर ४५ करोड मानिस प्रभावित हुन्छन् भने ४० लाख जनाको ज्यान जाने गरेको छ । सबै उमेरमा निमोनिया हुने भएपनि पाँच वर्ष भन्दा कमका र निकै वृद्धावस्थामा यसको जोखिम बढी हुन्छ ।
निमोनियाबाट हुने मृत्युदर घटाउन सरकारले सन् २०१४ देखि बालबालिकालाई न्यूमोककल भ्याक्सिन दिने तयारी गरेको छ । यो खोप सबै जिल्लामा निःशुल्क प्रदान गरिने छ ।
विश्व स्वास्थ्य संगठनका विशेषज्ञ सहितको टोलीले खोपको प्रभावकारीता, प्रकृति, खोप दिने उमेर लगायतका विषयमा अध्ययन गरिरहेको बालस्वास्थ्य महाशाखा अन्तर्गत खोप शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भू ज्ञवालीले जानकारी दिए । यो खोपका तीन मात्रा दिईने छ भने पहिलो खोप ६ महिनाको उमेरमा दिने तयारी भएको ज्ञवालीले बताए ।  
(साधना र सौर्य दैनिकबाट)

कस्ता बालबालिकालाई निमोनियाले सताउँछ ?










सास फेर्न गाह्रो भई घ्वार–घ्वार आवाज आउने तथा श्वासप्रश्वास प्रणालीअन्तर्गत फोक्सोमा हुने संक्रमणलाई निमोनिया भनिन्छ । निमोनिया साना बालबालिकालाई  बढी मात्रामा हुने गरेको पाइन्छ । वयष्क र वृद्धवृद्धाहरूलाई पनि यो समस्या हुने गर्छ । यो रोगले वर्षैभरि सताउने गरे पनि जाडोयाममा विशेष गरेर यसले बालबालिकालाई बढी सताउने गरेको पाइन्छ । यो रोग लागेपछि फोक्सोको श्वासप्रश्वास गर्ने स–साना एल्भियोलाइहरूमा पीप तथा पानीजन्य तरल पदार्थ भरिन्छ । यसले गर्दा दुखाइ हुने तथा श्वास फेर्न गाह्रो हुने गर्छ । निमोनिया यस्तो रोग हो, जसको कारणले मात्र विश्वमा सबभन्दा बढी बालबालिकाको ज्यान लिन्छ । विश्वमा १२ लाख पाँच वर्षमुनिका बालबालिकाको मृत्यु निमोनियाको कारणले हुन्छ भने जम्मा मृत्युको १८ प्रतिशत हिस्सा निमोनियाले ओगटेको छ । यो रोगले प्रतिवर्ष टीबी, मलेरिया र एचआईभी र एड्सबाट हुने कुल मृत्युभन्दा पनि बढी पाँच वर्षमुनिका बालबालिकाको ज्यान लिन्छ । 
यसको प्रकोप झन् विकासोन्मुख मुलकमा बढी छ । नेपालमा पनि निमोनियालगायतका छातीको संक्रमणले बाल मृत्युदरको सबभन्दा बढी हिस्सा ओगटेको छ । तर पनि साधारण तरिकाले उपचार एवम् रोकथाम गरेमा यसबाट बच्न सकिन्छ । बालबालिकामा निमोकोक्काई र हिमोफिलस इन्फ्लुएन्जा नामक जीवाणुबाट बढी निमोनिया भएको पाइन्छ । एचआईभी र एड्स जस्तो शरीरभित्र रोगको विरुद्ध लड्ने क्षमता कम भएका बालबालिका तथा कुपोषण, अत्यधिक औषधि सेवन गर्ने बालबालिका एवम् अन्य कारणले रोगविरुद्ध लड्ने क्षमता कम हुने अवस्थाका बालबालिकालाई यो रोग बढी लाग्छ । 
निमोनियाको लक्षण ः बालबालिकामा यो रोग लागेको बेलामा छिटो–छिटो र गाह्रो गरी श्वास फेर्ने, खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने तथा श्वास फेर्दा घ्यार–घ्यार आवाज आउने हुन्छ । निमोनिया बिगँ्रदै गएमा कोखा हान्ने, बच्चा आलस्य हुँदै जाने तथा अन्त्यमा बेहोस हुने हुन्छ । समयमै उपचार नभएमा निमोनियाको कारणले टाउकोमा असर परी मेनिन्जाइटिस हुने, फोक्सोमा पानी जम्ने, बच्चा काँप्ने, मुटु सुन्निने तथा पानी भरिने, पेट फुल्ने, घुँडाको जोर्नीको संक्रमण हुने, रगतमा संक्रमण फैलिने आदि भएर बालबालिकाको ज्यानै जान सक्छ । त्यसैले आफ्ना बालबालिकामा त्यस्ता खाले समस्या देखा परेमा छिटोभन्दा छिटो चिकित्सकको सम्पर्कमा पुर्याइहाल्नुपर्छ । 
कुपोषितलाई बढी सताउँछ ः सबै बालबालिकालाई निमोनिया गराउने कीटाणु र जीवाणु र विषाणुले आक्रमण गर्न सक्छ । बलाबालिका स्वस्थ छन् भने रोगविरुद्ध लड्ने क्षमता बढी हुन्छ र निमोनिया हुन पाउँदैन । तर रोगको विरुद्ध लड्ने क्षमता कम भएमा निमोनियाले सताउँछ । त्यसै गरी छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्नेमा त्यो भन्दा कम उमेरदेखि नै आमाको दूधबाहेक अन्य खानेकुरा खान दिएमा, बच्चालाई दादुरा आएमा, एचआईभी र एड्स तथा नेफ्रोटिक सिन्ड्रोम भएमा निमोनिया हुने डर बढी हुन्छ ।  त्यसैगरी चिसो मौसममा गाउँघरमा दाउरा बाल्दा बढी धूवाँ आउने तथा परिवारका धेरै सदस्य एकैठाउँमा बस्दा बढी हुल हुने हुँदा यो रोगले बढी सताउने र निमोनिया हुने सम्भावना बढी हुन्छ । साथै कुपोषणको सिकार भएका, लामो समयसम्म धेरै किसिमका औषधि सेवन गरिरहेका र जन्मजातै शरीरमा रोगविरुद्ध लड्ने क्षमता कम भएर जन्मेका बालबालिकालाई निमोनियाको संक्रमण दर बढी हुन्छ । 
रोकथाम र उपचार ः धेरैजसो निमोनिया कीटाणुको संक्रमणले गर्दा हुन्छ । त्यसलाई एन्टिबायोटिक औषधिले निको पार्छ । धेरैजसो बिरामी बालबालिकालाई स्वास्थ्य संस्थामा चिकित्सकले दिएको सुझावअनुसार औषधि सेवन गराउँदा सजिलै निको हुन्छ । यदि बच्चा दुई महिनाभन्दा कम उमेरको छ वा अन्य जोखिमको कारणले कडा खालको निमोनिया भएको छ भने अस्पतालमा भर्ना गराई उपचार गराउनुपर्ने हुन्छ । अन्यथा स्वास्थ्य संस्थामा भर्ना गराई नसाबाट औषधि दिनुपर्नेसम्मको अवस्था अत्यन्तै न्यून बिरामीमा हुन्छ । 
कडा प्रकृतिको निमोनिया भई बच्चाको ज्यान नै जाने खतराबाट मुक्ति पाउन पहिले नै निमोनिया हुनबाट रोकथाम गर्नु नै बुद्धिमानी हुन्छ । त्यसैले निमोनिया गराउने केही महत्त्वपूर्ण कीटाणुको विरुद्ध खोप लगाउनुपर्छ । नेपालमा हाल हेमोफिलस इन्फ्लुएन्जा न्यूमोकोक्कस र दिफ्थेरिया विरुद्धको खोप सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध छ र त्यो अनिवार्यरूपमा लगाउनुपर्छ । 
न्यूमोकोक्कस विरुद्धको खोप पनि नेपालमा निजी क्षेत्रमा उपलब्ध छ । यो खोप पनि लगाउँदा राम्रो हुन्छ ।
निमोनियाबाट बच्ने अर्को उपाय बच्चाको पोषणमा ध्यान दिनु हो । पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउने र त्यसपछि उपयुक्त पोषिलो आहार दिएमा बच्चाको रोगविरुद्ध लड्ने क्षमता बढ्छ । यसले गर्दा निमोनियालगायत अन्य रोग लाग्नबाट बालबालिकालाई बचाउन सकिन्छ ।
वातावरणीय पक्षहरूमा सुधार ल्याई धूवाँ कम गर्ने, सरसफाइमा जोड दिने, बढी हुलमूल नहुने गरी बस्ने गरेमा पनि निमोनियाले कम सताउँछ । यदि आफ्नो बच्चा एचआईभी संक्रमित, मृगौलाको समस्या भएको अवस्थामा छ भने उसलाई अन्य बालबालिकालाई भन्दा विशेष प्राथमिकता दिई पोषण, खोप र सरसफाइमा ध्यान पुर्याएर निमोनियाबाट बचाउन सकिन्छ ।

Post a Comment

 
Top