0
स्वतन्त्र पत्रकार संघ नेपाल, रूपन्देही शाखाको बुटवलमा बिहीबार भेला सम्पन्न भयो। भेलालाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले अहिले देश संवेदनशील अवस्थामा रहेकाले पत्रकारहरूले होसियारीपूर्वक सन्तुलन मिलाएर समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिए। उनले देशका विभिन्न जातजाति, वर्ग र सम्प्रदायबीचको सद्भाव खलबलिन नदिन पत्रकारले सचेत भएर कलम चलाउनु पर्ने बताए। देशको जुनसुकै आन्दोलनमा पनि पत्रकारहरू अचानो बन्ने गरेको र पत्रकार माथिको आक्रमण नरोकिएको उल्लेख गर्दै उनले जस्तोसुकै विपद्मा पत्रकारहरूले धैर्य छोड्न नहुने बताए। विभिन्न जिल्लामा स्वतन्त्र पत्रकार संघका शाखा खोल्ने क्रम अगाडि बढिरहेको जानकारी दिँदै अध्यक्ष बाँस्तोलाले केन्द्रीय अधिवेशनको पनि तयारी भइरहेको जानकारी दिए। संघका केन्द्रीय सदस्य राजेन्द्रजंग रायमाझीले देशमा भूकम्प र नाकाबन्दीका कारण धेरै कार्यक्रम प्रभावित भएको चर्चा गर्दै संघले थोरै भए पनि स्तरीय कार्यक्रम गर्नु पर्नेमा जोड दिए। कार्यक्रममा अध्यक्षको आसनबाट स्वागत मन्तव्य राख्दै रूपन्देही शाखाका अध्यक्ष बाबुराम गैरेले रूपन्देही शाखाबाट पत्रकारहरूलाई सम्मान, पुरस्कार तथा उपचार सहयोगका लागि अक्षयकोष स्थापनाको तयारी भइरहेको बताए। कार्यक्रममा शाखाका सचिव अशोक गौतम र कोषाध्यक्ष दिनेश श्रेष्ठले अक्षय कोषका लागि जनही २५ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरे।

Post a Comment

 
Top