0
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) कास्कीले गोर्खाको बारपाकमा होमस्टे संचालकलाई छाना वितरण गर्ने कार्यक्रममा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। सो कार्यक्रम ग्लोबल भिजन इन्टरनेसनलका प्रतिनिधि तारा गौतम, सोसियो इन्भारोमेन्ट अवारनेस (सि–नेपाल) का राजेन्द्र कोईराला, स्वीजरल्याण्डका नागरिक लुईसका प्रतिनिधि रोसन पहारी, अमेरिकाको जर्जियाका व्यवसायीहरु राजु थापा र श्रीराम गिरी, एड्मायर ट्राभल्स तथा होटल एड्माएरका संचालक बाबुराम पाण्डे, स्काई मार्क टुर्स एण्ड ट्रावल्स नवराज अधिकारी, फेवा फिष्टेल टुर्स एण्ड ट्रावल्सका लगायत व्यक्ति तथा संघ संस्थाहरुलाई मायाको चिनो, प्रमाण पत्रले सम्मान गरिएको थियो। सम्मानित सहयोगी अमेरिकाको जर्जियाका युवा व्यवसायी राजु थापाले भूकम्प पीडितले सात सात महिनासम्म पनि राहत नपाएको थाहा पाउदाँ अमेरिकाबाट नेपाल सरकारलाई ४० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर आफूहरुलाई पछुतो लागेको वताउँदै यहाँ आएर आफैले सानो सहयोग गर्दा राम्रो परिणाम देखिएको बताए। अर्का अमेरीका कै जर्जिया निवासी पर्यटन व्यवसायी श्रीराम गिरीले नेपालमा आएर नेपाल र नेपालीलाई सहयोग गर्न पाउँदा निकै आनन्द महसुस हुने वताउँदै गाउँ पर्यटन विकासका लागि आफूले आगामी दिनहरुमा पनि भिटोफसंग सहकार्य गर्दै जाने वताए। भिटोफ नेपाल केन्द्रीय कार्य समिति र कास्की जिल्ला कार्य समितिको सम्युक्त आयोजनामा बारपाकका होमस्टे संचालक २० घरधुरीमध्ये अति विपन्न तथा भूकम्पले पूर्ण क्षति भएका ६ घर धुरीलाई प्रत्येक घरलाई २४ पाताको दरले विहीबार वितरण गरिएको थियो ।  बारपाक वडा नं. ४ का प्याली घले, वडा नं. ५ का पुरबहादुर घले, फूलदानी घले, रसबहादुर घले, वडा नं.७ का पञ्चलाल घले र वडा नं. ९ का सुनबहादुर घलेलाई रंगीन जस्तापाता सहयोग प्रदान गरेका थिए। भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पिस क्लबका अध्यक्ष तेजनारायण पराजुलीले शुभकामना, उपाध्यक्ष चूडामणि दाहाल (राजु) ले स्वागत मन्तव्य र कार्यक्रम संचालन महासचिव नवराज अधिकारीले गरेका थिए।



Post a Comment

 
Top