0
गोल्डेन न्यूज संवाददाता
हिमाली क्षेत्रमा चिसो बढेसँगै जाडो छल्न मानिसमात्र हैन चराहरुसमेत बेसी झर्ने गर्छन् । हिमाली क्षेत्र र विदेशी चराहरुलाई स्वागत गर्न फेवातालमा शनिबार एक कार्यक्रम को आयोजना गरिएको छ । अघिल्ला वर्षहरुमा काठमाडौ र चितवनमा यस्तो कार्यक्रम गरिएकोमा यो पालि पोखरामा गरिएको हो । बर्ड कन्जरभेसन नेपाल र पोखरा बर्ड सोसाइटी नेपालको आयोजनमा भएको कार्यक्रममा चराका जानकार, जिज्ञासु एवं नेपाली र विदेशीको सहभागिता थियो । नेपाल चराहरुका लागि बस्न उपयुक्त बासस्थान भएकाले संरक्षणमा लाग्नुपर्ने बर्ड कन्जरभेसन नेपालका महासचिव राजेन्द्र गुरुङले बताए । ‘चराहरुको बसोबासका लागि नेपालमा उपयुक्त वातावरण छ । विश्वमा भएका चरामध्ये १० प्रतिशत चराहरु नेपालमा पाइन्छ’ गुरुङले भने ‘नेपालमा पर्यटन विकासका लागि चराहरु पनि माध्यम बन्न सक्छन् ।’ पोखरामा जाडो छल्नका लागि हिमाली भेग, तिब्बत, मंगोलिया, साइबेरिया लगायत ठाउँबाट चराहरु आउने गरेको पोखरा बर्ड सोटाइटी नेपालका संस्थापक मनशान्त घिमिरेले जानकारी दिए । उनले पोखरको फेवाताल, बेगनास ताल, रुपाताल, मैदी, सेती नदी लगायका ताल, नदी, सिमसार क्षेत्रमा चराहरु आउने गरेका बताए । ‘पोखरा आसपासको क्षेत्र चराहरुका लागि ट्रान्जिट प्वाइन्ट हो’ घिमिरेले भने, ‘पोखरामा जाडोमा चिसो ठाउँका र गर्मीमा तराई क्षेत्रबाट आउने गर्दछन् ।’ पोखरामा मंसिरदेखि जाडो छल्न आएका चराहरु फागुनसम्म बस्ने गर्दछन् । हाल पोखरामा ४० प्रजातिका चरा जाडो छल्न आइसकेको घिमिरेले जानकारी दिए । शनिबार गरिएको गणनामा ६४ प्रजातिका चरा फेवातालमा भेटिएका छन् । चराहरुको बसाइ लम्ब्याउन उपयुक्त वातावरण बनाउनुपर्ने उनको सुझाव छ । उनले भावी पिँढीलाई चराहरु बचाइराख्न आवश्यक शिक्षा एवं सचेतना दिनु पर्ने उल्लेख गरे । घिमिरेले अहिले पोखरामा जाडो छल्न खेवा चखेवी, हरियो टाउके हाँस, सिन्दुरे हाँस, बादुन हाँस, लोभीपापी गरुड, बालो गरुड, फुस्से बकुल्ला, सानो जलेवा, जलेवा, इन्डियन स्पोर्ट बोल्ड, सोड नयन हाँस, साही बाज, अमुर बाज लगायत चरा आएको जनाए । त्यस्तै, इन्डियन स्पोर्ट बोल्ड पोखरामा २ वर्ष पछि र सोड नयन हाँस ७ वर्ष पछि फेवा क्षेत्रमा आएको उनले बताए । यस्तै, गर्मी सिजनमा साइबेरियाबाट हरि हाँसलगायतका चराहरु फेवा क्षेत्रमा बच्चा कोरल्न आउने गरेका छन् । स्थानीय गुरु बरालले फेवातालमा चराहरु प्रत्येक वर्ष आउने गरे पनि संरक्षणको अभियान चलाउन नसक्दा लोप हुने सम्भावना भएको बताएका छन् । उनले फेवातालमा चरा मार्न बन्दुक नै बोकेर आउने गरेको बताउँदै संरक्षण समिति र स्थानीय निकायले चासो दिनु पर्ने उल्लेख गरे ।



Post a Comment

 
Top