0
बाबुराम भट्टराईले तीन महिनाअघि एमाओवादी छाडेलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र  भट्टराईले दुवैले आफ्ना निकटकालाई आरोपप्रत्यारोप नगर्न सुझाएका थिए। कतिपय कार्यकर्ताले नेताको सुझावमा चित्त नबुझ्दा नबुझ्दै पनि मन बुझाउन बाध्य भए। तर दुई शीर्ष नेता आफैले कोरेको लक्ष्मणरेखा एक महिना पनि नपुग्दै नाघेर जुहारीमा उत्रिए।  
माओवादी सत्तारोहण र अवतरणका साथै त्यसको उकालीओरालीबारे ‘देखीजान्ने’ र ‘भोगिजान्ने’ यी दुई नेतामै सीमित भएकाले पनि यसरी सुझाएका थिए। तर, दुवै शीर्ष नेता टिकेनन्। लेनिनवादी संगठनात्मक पद्धति भने पनि माओवादीका निर्णयजति दुई नेताले गर्थे। त्यसैले दुवै नेताको स्वार्थ मिल्दा एमाओवादी एक हुन्थ्यो भने स्वार्थ बाझिदा दुई लाइन संघर्ष भन्दै कार्यकर्तामा समेत बोलचाल बन्द हुन्थ्यो। तलका नेता र कार्यकर्तालाई थाहै नपाई दुई नेता मिल्थे। माओवादी थाहै नपाई एक हुन्थ्यो। सात दल र माओवादीबीच दिल्लीमा भएको १२ बुँदे सहमतिसँगै माओवादी काठमाडौं पसेपछि दाहाल र बाबुरामले एकै रङको लुगा लगाए र केही समय एउटै घरमा बसे। यतिसम्म कि दाहाल भट्टराई मिलेर युद्ध सकिएको सम्झौता गर्नअघि या पछि पार्टी केन्द्रीय समिति वा कुनै समितिबाट औपचारिकरुपमा अनुमोदन गराउनसमेत उचित ठानेनन्। दाहाल र भट्टराई नैै माओवादी पार्टी थिए। तिनका सामु पार्टीपद्धति त तपसिलका थिए। 
पार्टी छाडेको एक सातापछि रुपन्देहीमा आफूले परित्याग गरेको एमाओवादीलाई बाबुरामले भूकम्पबाट क्षतविक्षत भई ‘रातो स्टिकर टाँसिएको घर’को संज्ञा दिए। उनले आफूले ‘रातो स्टिकर’ टाँसेर हिँडेको बताए। दाहाल भट्टराई नमिल्दा एकअर्कालाई आरोप लगाउने ट्याग हो, भारतपरस्त र दरबारपरस्त। बाबुरामलाई दाहालले भारतपरस्त भन्थे भने भट्टराईले दाहाललाई दरवारपरस्त। बाबुराम निकट नेता कुमार पौडेलले त दाहालले माओवादी आन्दोलनलाई दरवारमा बुझाइसकेको भने। राजा वीेरेन्द्र हत्याकाण्ड नभएको भए ‘प्रचण्ड प्रधामन्त्री र सात दल नेतालाई जेल’मा जाने भन्दै पौडेले आफूहरुले माओवादी आन्दोलनलाई यहाँसम्म ल्याएको दाबी गरे।  बाबुरामले एमाओवादी त्यागे पनि भारत परस्तको पगरीबाट मुक्ति पाएका छैनन्। सोमबार एक दैनिकमा अध्यक्ष दाहालले अन्तर्वार्तामा बाह्य शक्तिको आडमा नयाँ शक्ति आशयसहितको आरोप लगाएपछि मंगलबार भट्टराईले नौ बुँदेसहित सामाजिक संजालमार्फत प्रतिकारमा उत्रिए। नौ बुँदेमा ‘दूरसंचार घोटाला, लडाकुशिविर घोटाला आदि कैयन् भ्रष्टाचार प्रकरणबारे किन नबोलेको’ भनी दाहाललाई बाबुरामले सोधेका छन्। भ्रष्टाचार छानबिन गर्न अमिक शेरचन र पोष्टबहादुर बोगटी नेतृत्वमा बनाइएका छुट्टाछुट्टै आयोगका प्रतिवेदन सार्वजनिक गर्न पनि दाहाललाई चुनौती दिएका छन्। ‘तपाईंकै नेतृत्वमा चरम सत्तालिप्सा र भ्रष्टाचारको दलदलमा निस्कनै नसक्ने गरी फसेको यथार्थ हो कि होइन? ‘तपाईं प्रधानमन्त्री बन्न सांसद खरिद गर्न विदेशीसँग पचासौं करोड मागेको टेप सार्वजनिक भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन भएको छैन?,’ बाबुरामले दाहाललाई प्रश्न गरेका छन्। 
 केही अघि सम्पन्न एमाओवादी केन्द्रीय समितिले पारित गरेको राजनीतिक दस्तावेजमा पनि भारतको नाम नलिई बाबुरामको पार्टी बहिर्गमनलाई सुनियोजित भनिएको छ। आफूलाई लागेको भारतपरस्त आरोपलाई दाहालतिरै फर्काउँदै बाबुरामले नौ बुँदेमा दाहालतिरै तेस्र्याएका छन्। यति मात्र होइन सत्ता पाउन विदेशीसित लम्पसार परेको र अहिले प्रधानमन्त्रीको लागि विदेशीलाई गुहारिरहेको समेत दाबी गरेका छन्। उनले विभिन्न शक्तिकेन्द्रलाई भेट्न सिंगापुर, लन्डन र बैंकक गएको र त्यसबेला के भएको थियो भनी सार्वजनिक गर्न पनि दाहाललाई चुनौती दिएका छन्। संविधान बन्नुअघि अध्यक्ष दाहाल दिल्ली उडेका थिए। बाबुरामले दाहाललाई बिन्तीपत्र हालेर दिल्ली भ्रमण गरेको आरोप लगाएका छन्। यसैगरी उनले दाहाललाई नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डो¥याउन अग्रणी भूमिका खेलेको समेत दाबी गरेका छन्।  ‘अहिले पनि तपाईं पुनः प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हुनुहुन्छ र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा हुनुहुन्छ भन्ने कसैलाई थाहा छैन भन्ने ठान्नुहुन्छ?,’ उनले दाहाललाई आरोप लगाएका छन्।  ‘कम्युनिष्टका परम्परागत रोग छ। त्यो हो, ठूल्ठूला कुरा गर्ने तर व्यवहारमा उल्टो गर्ने। अर्को रोग हो, सुझबुझले जित्दा आरोप नलाउने पनि भन्ने तर पुरानै रोग बल्झेपछि आरोपप्रत्यारोपमा उत्रने’, दाहाल र बाबुराम आरोपप्रत्यारोपबारे माओवादी नेता खगराज भट्टले सेतोपाटीसित भने, ‘माओवादीलाई विघटनमा लाने दुवै नेताको ‘रहस्यमय काम गराइ’ले हो। बाबुराम पनि पानीमाथिको ओभानो हुन पाउँदैनन्। बाबुरामले जे जे आरोप लगाएका छन्, त्यसबेला बाबुरामको घाँटी पनि प्रचण्डसितै जोडिएको थियो। पार्टी बिगार्ने प्रचण्ड र बाबुराम दुवैजना हुन्। मात्र फरक होला।’ 
दाहाल र बाबुराम एकले अर्कालाई कुरी कुरी भन्नुभन्दा पहिले आफ्नो शरीरको वस्त्र ठीक छ कि छैन भनेर हेर्न जमर्को गरे जाती हुन्थ्यो कि? किनभने दुवै नेताले भुले पनि युद्धमा मारिएका सहिद, बेपत्ता, घाइते र घर न घाट पारिएका कार्यकर्ताका रगत, पसिना र सपनाले तिनलाई पछ्याइरहने छन्।


Post a Comment

 
Top