0
विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थी सहितको मानवसाङ्लोले घेरी शुक्रबार प्रदर्शन गरियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार चक्रपथलाई मानवसाङ्लो बनाई विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले घेरेका थिए । बिहान ११ देखि १ बजेसम्म दुई घन्टा मानव साङ्लोमा बसेको देख्दा लाग्दथ्यो उनीहरू आफ्नो अधिकार लिएरै छाड्नेमा कटिबद्ध छन् ।
नागार्जुन एकेडेमीमा कक्षा १० मा अध्ययनरत दिव्या मगर यसरी मानवसाङ्लो बनाएर बस्दा निकै उत्साहित थिइन् । प्रवेशिका परीक्षाको तयारीमा लागिरहेकी उनी मधेसको आन्दोलन र भारतको नाकाबन्दीका कारण धेरै कक्षा खाली भइरहेकामा चिन्तित छिन् । “हामीले त कम्तीमा विद्यालय आउन सकिरहेका छौँ”,उनले भनिन्–“तराईमा पूर्णरूपमा विद्यालय बन्द छ, त्यहाँका साथीहरूले पढ्न पाइरहेका छैनन् । हामी सबै विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित हुनैपर्छ ।”     रूपक स्कुलमा कक्षा ९ मा अध्ययनरत समीर खत्री र १० मा अध्ययनरत रसिला शाहीले नाकाबन्दी र आन्दोलनका कारण ग्यास, पेट्रोलजस्ता इन्धनको अभाव तथा खाद्यपदार्थको महँगी बढिरहेको र यसले शिक्षाक्षेत्रमा निकै असर पारिरहेकाले यसको अन्त्यका लागि आफूहरू मानवसाङ्लोमा बसेको बताए । रूपक स्कुलका प्रिन्सिपल एलएन उपाध्यायले आन्दोलनरत पक्ष, सरकार र भारतलाई समेत आफूहरूको मागबारे जानकारी गराउन यसरी विद्यार्थी र सरोकारवालालाई सडकमा उतारेको बताए । अहिलेका विद्यार्थी नै मुलुकका भविष्य हुन् त्यसैले देशमा के भइरहेको छ त्यो जान्ने अधिकार पनि उनीहरूलाई छ र गलत भएमा सचेत गराउने अधिकार पनि छ, त्यसैले विद्यार्थीलाई पनि यसमा संलग्न गराइएको उनको तर्क थियो । चक्रपथ नजिक रहेका विद्यालय आफूलाई पायक पर्ने चक्रपथका स्थानमा मानवसाङ्लोमा संलग्न भएका थिए । 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका अपिनमा आबद्ध सङ्घसंस्था र संयुक्त विद्यार्थी सङ्गठनको आह्वानमा तराई मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दी अन्त्य हुनुपर्ने माग राख्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो । कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगन्ज चक्रपथ, बालाजु, स्वयम्भू हुँदै पुनः कलङ्कीसम्म मानवसाङ्लो तयार गरिएको थियो । एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले कार्यक्रममा कुनै प्रकारका कोणसभा या नाराबाजी नगरी विद्यार्थी तथा संलग्न अन्यले राष्टिूय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हकअधिकार लेखिएको प्लेकार्ड, ब्यानरको प्रयोग गरेको जानकारी दिए । विद्यार्थी नेता युपि लामिछानेले करिब पाँच लाख विद्यार्थी स्वतःस्फूर्त मानवसाङ्लोमा सहभागी भएको दाबी गरे । “नेपालको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ”, उनले भने– “भारतको नाकाबन्दीबाट उकुस–मुकुस भएका सम्पूर्णले यसलाई शान्तिपूर्ण र सरल तरिकाले मानवसाङ्लो मार्फत विरोध गरेका हुन् ।” बालबालिकालाई प्रयोग गरिने यस्ता कार्यक्रममा आफूहरू को सहमति नहुने भन्दै अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भने सो कार्यक्रममा सहभागी भएनन् । मानवसाङ्लोको आयोजना अन्य वयस्क व्यक्तिले पनि गर्नसक्ने भन्दै उनले भने–बालबालिकाको अधिकार प्राप्तिका लागि गरिएको कार्यक्रममा उनीहरूको प्रयोग गर्न हुँदैन भनेर हामीले भनेका हौँ । तर त्यो नहुने भएपछि हामीले यस कार्यक्रममा सहभागिता जनाएनौँ ।”    तराई मधेस आन्दोलनका कारण विगत तीन÷चार महिनादेखि त्यस क्षेत्रका विद्यालय पूर्णरूपमा बन्द छन् भने भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोल, ग्यासलगायतका इन्धनको अभावले काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा विद्यालय नियमित सञ्चालन हुन सकेका छैनन् । यसले विद्यार्थीको पठन–पाठनका साथै प्रवेशिका परीक्षालाई समेत दीर्घकालीन असर पार्ने देखिन्छ । रासस

Post a Comment

 
Top